काठमाडौं । श्रीलंकाविरुद्ध ४–१ को जितसँगै भुटानले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई जित दिलाउन देकी ल्हाजोमले दुई गोल गरिन् । नाम्गेल देमा र दोर्जी एदोनले एक गोल गरिन् । श्रीलंकाकी थुशानी मदुसीकाले एक गोल फर्काइन् ।
खेलको सातौँ मिनेटमा ल्हाजोमले गोल गर्दै भुटानलाई अग्रतामा राखेकी थिइन् । २३औँ मिनेटमा गोल गर्दै मदुसीकाको गोलमा श्रीलंका खेलमा फर्किएको थियो ।
तर, ३२औँ मिनेटमा नाम्गेलले गोल गर्दै भुटानलाई पुनः २–१ को अग्रतामा राखिन् ।
७६औँ मिनेटमा ल्हाजोमले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रतामा राख्दै तीन मिनेटपछि नै भुटानकी दोर्जी एदोनले टिमका लागि चौथो गोल थप्यो ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । भुटानले यसअघि पहिलो खेलमा घरेलु टिम नेपाललाई गोलरहीत बराबरीमा रोकेको थियो । अब भुटानले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध खेल्नेछ ।