
काठमाडौं । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आफ्नो २७औँ वार्षिकोत्सवको अवसर पारेर दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
एपेक नेपालद्वारा वुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘विश्व–ज्योति काव्य सम्मान—२०८२’ अग्रज कवि तथा साहित्यकार मेघराज नेपाल ‘मञ्जुल’लाई प्रदान गरेको छ । यस सम्मानका साथ नगद राशि ५१ हजारसमेत प्रदान गरिएको छ ।
उक्तअवसरमा ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार—२०८२’ सुर्खेतकी लघुकथाकार हिमा रोका ‘प्रतिज्ञा’लाई प्रदान गरिएको छ । रोकाको लघुकथाकृति ‘प्रतिज्ञा’को पाण्डुलिपिलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले दुवै सर्जकहरूलाई सम्मानित एवम् पुरस्कृत गरे । उक्त कार्यक्रममा डा. सुवेदीले रोकाको पुरस्कृत पाण्डुलिपिको प्रकाशित कृति ‘प्रतिज्ञा’ र नेपाल र भारतका कविहरूकोे अनुदित कविताकृति ‘अनुभूति’को समेत लोकार्पण गरे ।
प्रमुख अतिथि प्रा.डा. सुवेदीले दुवै सर्जकलाई बधाई दिँदै साहित्यकार मञ्जुल कवि, गीतकार, गद्य लेखकमात्र नभएर चेतनाको प्रवाह गर्ने मानिस भएको बताए । उनले भने, “मञ्जुल मेरा मित्र हुन् । उनको साधनाले युगको कलेवरको चित्र स्पष्ट पार्दछ । उनको साहित्यमा समय प्रतिविम्बित हुन्छ ।”
प्रा.डा. सुवेदीले धरानमा हुँदाको एउटा प्रसंगको सम्झना गर्दै भने, “मञ्जुल मेरो मनभित्रको आवाज हुन् ।”
कार्यक्रममा सम्मानित व्यक्तित्व मञ्जुलले आफूलाई खुसी लागेको बताउँदै आफूलाई कविता लेख्न अझै उर्जा मिलेको उल्लेख गरे । उनले भने, “तपाईंहरूको माया र स्नेह मेरा कविताका हरफहरू हुन् ।”
कवि मञ्जुलले आफ्नो एउटा कविता ‘गाउँको एकान्त’ वाचन गरे ।

कवि मञ्जुल र लघुकथाकार रोकाको परिचय दिँदै साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यकार मञ्जुल आफ्नो लागि पनि प्रेरणाको स्रोत भएको बताए । उनले भने, “मञ्जुल दाइले नै मलाई नियात्रा लेख्न अभिप्रेरित गर्नुभएको हो । मजस्ता धेरै अनुजहरूलाई उहाँले लेख्न प्रेरित गर्नुभएको छ ।”

उनले सुर्खेतकी लघुकथाकार हिमा रोकाको बारेमा बोल्दै शारीरिक रूपमा कमजोर भए पनि उनको लघुकथा शक्तिशाली भएको बताए ।
कार्यक्रममा भारतीय साहित्यकार तथा हिन्दुस्तान भाषा अकादेमीका सुधाकर पाठकले ‘अनुभूति’को प्रकाशन, विमोचन र एपेकको यो कार्यक्रम आफ्ना लागि एक अवसर भएको उल्लेख गरे । उनले ‘अनुभूति’को विमोचन अर्को विमोचन दिल्लीमा हुने जानकारी गराए ।

साहित्यकार पाठकले पुरस्कृत सर्जक रोकाको पुरस्कृत कृति ‘प्रतिज्ञा’को हिन्दी भाषामा अनुवाद गरिने पनि जानकारी गराए । उनले भने, “तपाईंहरूले अनुमति दिनुहुन्छ भने लघुकथाकृति ‘प्रतिज्ञा’लाई अकादेमीले हिन्दी भाषामा अनुवाद गरेर प्रकाशित गर्नेछ ।”
‘अनुभूति’ काव्यकृतिमा नेपाल र भारतका ३१/३१ कविका दुईदुई कविता अनुवाद गरिएको छ । कृतिलाई रश्मी शर्माले अनुवाद गरेकी हुन् ।
साहित्यकार पाठकले अनुवादले दुई संस्कृतिलाई आपसमा जोड्ने बताउँदै साहित्यको उत्थानमा लाग्नुपर्नेमा जोड दिए ।
एपेक नेपालका निर्देशक कवि राजेन्द्र शलभले एपेकले गर्दै आएका कामहरूबारे जानकारी दिँदै नेपाली कला साहित्यको उत्थानमा आफूहरू समर्पित भएको उल्लेख गरे ।

एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले मञ्जुल दाइको विषयमा बोल्ने हो भने एउटा सिंगो कार्यक्रम पनि कम हुने उल्लेख गर्दै आफ्नो काव्य यात्रामा उनको महत्वपूर्ण साथ रहेको बताए ।

श्रेष्ठले ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार’ ४० वर्ष मुनिका कृति प्रकाशित नभएका लेखकको पाण्डुलिपिलाई दिँदै आएको बताए । उनले अघिल्लो वर्ष कविताकृतिको पाण्डुलिपिलाई पुरस्कृत गरेको स्मरण गर्दै आउने साल गजल कृतिको पाण्डुलिपिलाई पुरस्कृत गरिने जानकारी पनि गराए ।
कार्यक्रममा स्वागत मन्तव्य कवि तथा एपेक नेपालका कार्यकारी निर्देशक राजेन्द्र शलभ गरेका थिए।
एपेकले यसअघि कवि साहित्यकार उषा शेरचनलाई सम्मानित गरेको थियो भने हेमन्त शिशिरको कविताकृति ‘बन्द कोठाको झ्याल’को पाण्डुलिपिलाई पुरस्कृत गरेको थियो ।





