
समीक्षा सन्त्रासका साठी दिन
ज्ञानेन्द्र विवश
नेपाली आख्यान साहित्यमा सक्रिय र सशक्त हस्ताक्षरका रूपमा परिचित रोशन थापा ‘नीरव’ समकालीन समयका ती सर्जक हुन्, जसले कथासाहित्य र उपन्यास दुवै विधामा आफ्नो पृथक पहिचान निर्माण गरेका छन् । उहाँका कथाहरूको नाम उल्लेख गर्नुपर्दा २०५७ सालमा ‘अन्तहीन युद्ध’, २०६२ सालमा ‘तेस्रो विश्वयुद्ध’, २०७० सालमा ‘असह्य’ र २०७७ सालमा ‘कोष्टकभित्र हाँसो’ शीर्षकका कथासंग्रह प्रकाशित छन् ।
त्यसैगरी उहाँका उपन्यासहरू २०६४ सालमा ‘प्रत्येक श्रवणकुमार अर्थात् युद्ध’, २०६५ सालमा ‘प्रस्थानान्तर’, २०६६ सालमा ‘स्वप्नसहर’, २०६९ सालमा ‘आवाजहरूको जङ्गलभित्र’ र २०७१ सालमा अनि ‘अभिमन्यु’ शीर्षकको उपन्यास प्रकाशित छन् । यही श्रृङ्खलामा प्रकाशित उपन्यास ‘सन्त्रासका साठी दिन’ उनको सर्जनात्मक परिपक्वताको पछिल्लो साक्ष्य हो । उनको अर्को उपन्यास प्रकाशोन्मुख रहेको छ ।
समकालीन लेखनमा कथा, कविता र समीक्षा, समालोचनादेखि सम्पादनमा पनि उत्तिकै सक्रिय सर्जक रोशनको लेखकीय पहिचान मूलतः आख्यानशिल्पीको रूपमा स्थापित भइसकेको छ । उल्लिखित कृतिगत हिसाबले पनि उनको लेखनमा उपन्यास लेखनको प्रभाव र प्रस्तुति निकै सबल र सफल रहेको देखिन्छ । त्यसो त, समीक्षा–समालोचनामा उनको अर्को तिख्खर लेखन स्पष्ट छँदै छ ।
शीर्षकले नै संकेत गरेझैँ ‘सन्त्रासका साठी दिन’ साठी दिनको कालखण्डमा घटित घटनाहरूको क्रमिक विन्यास हो । तर यो केवल दैनिक घटनाहरूको विवरण मात्र होइन; यो असत्य, अन्याय र त्रासको मनोवैज्ञानिक नक्साङ्कन हो । उपन्यासले देखाउँछ– ‘असत्यको खेलमा सत्य लुकाइन्छ भने न्यायको आशा गर्नु व्यर्थ हुन्छ । जहाँ न्याय र सत्य कुरा सधैँ अन्याय र असत्यकै प्रताडनामा प्रताडित भइरहन्छ ।’
यस वाक्यमा उपन्यासको केन्द्रीय दर्शन निहित छ । जहाँ न्याय छोपिन्छ, त्यहाँ निर्दोषको अस्तित्व नै संकटग्रस्त हुन्छ । निर्दोष हुनुको प्रमाण खोज्ने सामाजिक–प्रशासनिक संरचनाले जब प्रमाणलाई नै अस्वीकार गर्छ, तब व्यक्ति केवल कानुनी रूपमा होइन, अस्तित्वगत रूपमा पनि टुक्रिन थाल्छ । यही टुक्रिने प्रक्रियाको सूक्ष्म मनोवैज्ञानिक चित्रण उपन्यासको मूल शक्ति हो ।
रोशन थापा ‘नीरव’ को लेखनशैली सघन र संयत छ । छोटा–छोटा शब्दमा गहकिला वाक्य गुथ्ने कला उनको विशेषता हो । कवितात्मक र संवादत्मक प्रश्नात्मक उनको लेखनका विशेषता मान्न सकिन्छ । वाक्य संरचना अत्यधिक अलंकारिक नभई सीधा, तर प्रभावकारी छ । यसले पाठकलाई घटनाको केन्द्रमा पु¥याउँछ– कुनै अनावश्यक शब्दाडम्बरबिना ।
उपन्यासमा संवाद र आत्मसंवादको संयोजन सन्तुलित छ । पात्रहरूको मनोवैज्ञानिक द्वन्द्व बाह्य घटनाभन्दा बढी तीव्र देखिन्छ । निर्दोष हुनाको प्रमाण खोजिने प्रसङ्गले कानुनी विडम्बना मात्र होइन, समकालीन सामाजिक संरचनाको क्रूर यथार्थ उद्घाटित गर्छ । सामान्य मान्छे पूर्णतः टुक्रिनुभन्दा पहिला आतंकित हुन्छ– यो वाक्यांशले मानव अस्तित्वको अन्तिम असहाय क्षणलाई समेटेको छ ।
‘सन्त्रासका साठी दिन’ व्यक्तिगत कथाभन्दा बढी सामूहिक यथार्थको प्रतिनिधि आख्यान हो । यसले देखाउछ कि सन्त्रास केवल बाह्य शक्ति होइन; त्यो प्रणालीगत अन्यायको परिणाम हो । न्यायको अनुपस्थितिमा निर्दोषको भाग्नु स्वाभाविक हुन्छ– यो निष्कर्ष केवल कथाभित्र सीमित छैन, समाजका विभिन्न तहमा प्रतिध्वनित हुने यथार्थ हो ।
उपन्यासले पाठकलाई प्रश्न सोध्छ– के सत्य आफैँमा पर्याप्त छ ? प्रमाणको मूल्य कसले निर्धारण गर्छ ? न्यायको मापदण्ड कसको हातमा सुरक्षित छ ? आदि यी प्रश्नहरू उपन्यास पढिसकेपछि पनि पाठकको चेतनामा लामो समयसम्म गुञ्जिरहन्छन् । यही गुञ्जन यसको स्थायी प्रभाव हो भन्ने मेरो पाठकीय अभिमत रहेको छ ।
साहित्यिक दृष्टिले ‘सन्त्रासका साठी दिन’ संरचनात्मक रूपमा सघन, भाषिक रूपमा संयत र दार्शनिक रूपमा प्रखर कृति हो । यसले त्रासको क्षणिक अनुभूति मात्र होइन, त्रासको निरन्तरता र त्यसले व्यक्तिको अस्तित्वमा पार्ने गहिरो प्रभावलाई समेत उजागर गर्छ ।
रोशन थापा ‘नीरव’ को यो उपन्यास समकालीन नेपाली समाजमा अन्याय, असत्य र सन्त्रासका छायाँहरूलाई उजागर गर्ने सशक्त दस्तावेजका रूपमा स्थापित हुन्छ । साठी दिनको सीमित कालखण्डभित्र उनले जीवनको शाश्वत सत्यलाई समेट्ने प्रयास गरेका छन्– जहाँ न्यायको खोजी मानव अस्तित्वको मूल प्रश्नमा परिणत हुन्छ ।
यस अर्थमा ‘सन्त्रासका साठी दिन’ एउटा उपन्यास हो; यो समयको ऐनामा देखिएको विवश अनुहार हो, जसले पाठकलाई चुपचाप रहन नदिई आत्मपरीक्षणतर्फ उन्मुख गराउँछ ।
समग्रमा रोशन थापा ‘नीरव’ को लेखकीय पहिचान भन्नु नै समकालीन समाज र व्यक्तिको जीवनशैलीको सचेत र संवेदनशील चित्रण हो । उनी पात्रहरूको नियति मात्र बयान गर्दैनन्; उनी समयको मानसिक संरचना लेख्छन् । जहाँ निराशाले सर्वत्र घेराबन्दी गरेको छ, जहाँ आशाको सुन्दर बिहानी अदृश्य जस्तै बनेको छ, त्यहीँबाट उनका आख्यानहरू जन्मिन्छन् ।
‘सन्त्रासका साठी दिन’ यसै प्रवृत्तिको परिपक्व अभिव्यक्ति हो । उपन्यासकार स्वयंले संकेत गरेझैँ– मान्छेले सोचेको कुरा, चाहेको कुरा कहिल्यै पूरा हुँदैन; सत्य कुरा भए पनि समाजले त्यसलाई असत्य ठह¥याइदिन्छ । सोचेको कुरा यहाँ हुँदैन, जे सोच्यो त्यो पूरा हुँदैन ।
यो कथन पात्रहरूको निराशा होइन, समकालीन सामाजिक यथार्थको कटू निष्कर्ष हो । स्वार्थ, शङ्का र षड्यन्त्रले भरिएको परिवेशमा निष्कलङ्क मान्छेको सुन्दर सपनाहरूको विपना हुने दिन आउँदैन भन्ने अनुभूति उपन्यासभरि प्रतिध्वनित छ । निर्दोष हुनु आफैँमा अपराध ठहरिने अवस्थाले एउटा ठूलो प्रश्नचिन्ह खडा गर्छ– न्याय कहाँ छ ? सत्य कसको हातमा सुरक्षित छ ?
यसरी, ‘सन्त्रासका साठी दिन’ केवल साठी दिनको घटनाक्रम होइन; यो एउटा समयचेतनाको दस्तावेज हो, जहाँ व्यक्तिको अस्तित्व निरन्तर परीक्षा र सन्त्रासको घेराभित्र बाँधिएको छ । उपन्यासले उत्तरभन्दा बढी प्रश्नहरू उभ्याउँछ, र ती प्रश्नहरू नै यसको सबल पक्ष हुन् ।
अन्ततः, रोशन थापा ‘नीरव’ को यो कृति समकालीन नेपाली समाजको विवेकलाई झकझक्याउने आख्यानका रूपमा स्थापित हुन्छ । यहाँ निराशाको बाक्लो कुहिरोभित्र पनि प्रश्न गर्ने साहस बाँकी छ । र, सायद, त्यही प्रश्न गर्ने चेतनामा भविष्यको सम्भावित बिहानीको संकेत लुकेको छ ।







