
काठमाडौं । लेखक तथा साहित्यकार भीम राना ‘जिज्ञासु’को लघुकथाकृति ‘अर्थात् ऊ’ एक कार्यक्रमबिच लोकार्पित भएको छ । यो उनको दोस्रो लघुकथासंग्रह हो । यसअघि उनका विभिन्न विधाका गरेर आठ पुस्तक प्रकाशित भइसकेका छन् ।
लघुकथा समाज, नेपालद्वारा आयोजित कार्यक्रममा कृति लोकार्पण गर्दै समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भीम रानाले ४० को दशकदेखि नै कलम चलाउँदै आएको उल्लेख गरे । उनले विभिन्न पत्रपत्रिकामा निरन्तर लेखिरहेको चर्चा गर्दै रानाले कृति प्रकाशन गर्न कहिले पनि हतार नगरेको उल्लेख गरे । श्रीओमले राम्रो लेख्नुपर्छ, बिचमा देखिएको अन्तरहरू आफैं बाहिरिने बताए ।
कृतिका सम्पादक साहित्यकार विमल भौकाजीले कृतिकार रानाको लेखन यात्राको चर्चा गर्दै एउटा राम्रो कृति पाठकलाई दिएको बताए ।
कृतिकार रानाले यो लघुकथाकृति आउनुको सन्दर्भ चर्चा गर्दै अब साहित्यमा निरन्तर लाग्ने बताए । प्रकाशन संस्थाकातर्फबाट केशव पराजुलीले राना फेरि साहित्य लेखनमा फर्किएकोमा खुसी व्यक्त गरे ।
समाजका अध्यक्ष तुलसीहरि कोइरालाले रानाका अन्य कृतिहरू पनि पाठक माझ आउने विश्वास व्यक्त गरे । कार्यक्रममा शुषमा चित्रकारले पनि आफ्नो धारणा राखिन् ।
उक्तअवसरमा सर्जकहरू श्रीबाबु कार्की, छविरमण सिलवाल, सुमन थापा संगमले कृतिभित्रका लघुकथाहरू वाचन गरेका थिए । यस लघुकथाकृतिलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको हो ।





