
पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ,परिधि को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ।
वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षकहरू साहित्यकार डा ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यास परिधिमाथि आआफ्नो धारणा प्रस्तुत गर्दै उपन्यासको सबल र दुर्बल पक्षको चर्चा गरे ।
डा अधिकारीले कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्र र त्यसैको वरपर रहस्यपूर्ण तवरले स्वैकाल्पनिक रंगहरूमा पोतिएका कथा(उपकथाहरू क्यानभासमा जेलिंदै(फुस्किंदै र फेरि जेलिंदै एक अलग परिधि निर्माण गरेको बताउंदै बनोट, बुनोट, कथ्यहरूको प्रयोग र शैलीका हिसाबले उनको नवीन उपन्यास परिधि उनका पूर्ववर्ती उपन्यासहरूभन्दा धेरै अर्थले उत्कृष्ट भएको बताए ।अर्की समीक्षक गौरी तमुले कृतिको नारीहरूका जीवनका विभिन्न पाटाहरूको कथालाई परिधिले सम्बोधन गरेको बताइन् ।
कार्यक्रममा आख्यानकार उमा सुवेदीले परिधिको रचना गर्भ बारे जानकारी गराउँदै पोखरामा यस्तो ऐतिहासिक संस्थाको व्यानरमा आफ्नो कृतिको परिचर्चा जस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरिन् र आउँदा दिनहरूमा अझ जिम्मेवार भएर साहित्यसेवामा लागिपर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि सुरु भएको नेपाली आख्यान लेखनका विविध मोड र चरणहरूसहित मायिक यथार्थवाद तथा स्वैरकाल्पनिक लेखनका सौन्दर्य र चुनौतीमाथि चर्चा गर्दै समकालीन लेखनका आयाममाथि प्रकाश पार्नु भयो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष साहित्यकार लक्ष्मण थापाले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव एम डि काफ्लेले गर्नु भएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष साहित्यकार रिता अधिकारी ऋतुु को अध्यक्षतामा सम्पन्न भएको थियो।



