काठमाडौं।दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आयोजित कार्यक्रममा नेपाली वाङमयका चार स्रष्टाहरू पुरस्कृत भएका छन् ।
शङ्कर कोइराला आख्यान पुरस्कार नगद राशि रू २५,०००/- सहित कथाकार मधुवन पौडेल, कुमार-सरस्वती साहित्य पुरस्कार नगद राशि रू २५,०००/- सहित समालोचक प्रा.डा.लक्ष्मण प्रसाद गौतम, चूडामणि भाषाव्याकरण-कोश पुरस्कार नगद राशि रू ५१,१११/- सहित लेखक तथा साहित्यिक पत्रकार रोचक घिमिरे तथा रामप्रसाद पन्त वाङ्मय पुरस्कार नगद राशि रू ५५,५५५/-सहित कथाकार किशोर पहाडी पुरस्कृत भएका हुन् ।
कार्यक्रममा पुरस्कृत तथा सम्मानित चारैजना स्रष्टाहरूले मन्तव्य राखेका थिए।
प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तथा साहित्यिक पत्रकार डा. महेश्वर शर्मा रहेका थिए।
कार्यक्रममा दायित्व द्वैमासिक पत्रिकाको पछिल्लो अङ्क १५६ को विमोचन गरिएको थियो भने दायित्व पत्रिकाको आजीवन र विशिष्ट सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।
सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए। प्रतिष्ठानका पूर्व महासचिव लेखप्रसाद निरौलाले स्वागत मन्तव्य राखेका थिए।




