
संस्मरण
विजयभक्त श्रेष्ठ
सर्ट एण्ड स्वीट
जेष्ठ नागरिक मिलन केन्द्रको नाममा थालेका छौ । सुवर्ण श्रेष्ठको पहलमा थालिएको जीउँदा देवगणहरुको ससम्मान जीवन गुजारा गर्न सहजीकरण गर्ने अभियान यो । शनिवारका दिन भेला भएर बातचित गर्ने रमाइलो गर्ने व्यक्तिगत सरसफाइ गर्ने लगायत आगामी नीति तथा कार्यक्रमहरु बनाउने सम्वन्धमा छलफल गरि साप्ताहिक भेटघाटले निरन्तरता पाइरहेकै छ । विगत ५ वर्षअघि देखि वरपरका जेष्ठ नागरिकहरुको जमघट गरि साप्ताहिक भेटघाट गरिदै अनेकन कार्यक्रमहरु गरि आएका छौ । हरेक साप्ताहिक भेटमा दश चरण पुरा गर्ने गरेका छौ । राष्ट्रियगानबाट कार्यक्रमको शुरुवात गरेर हाजीर गर्ने केहीबेर ताली बजाउदै भजन किर्तन अनि केहि मिनेट मौन स्मृति ध्यान प्रार्थना गर्छौ । पाँचौमा अघिल्लो हप्तामा भएका गतिविधिहरुको समिक्षा र सम्झना । छैठौमा आजको विशेष । सातौमा आगामी हप्ता के गर्ने भनि छलफल गर्छौ । अनि चियानास्ता र नाचगान गर्दै दशौँमा शुभभाव सहित गृहप्रस्थान हुन्छौ । कहिँकतै जाँदा भने यी दशचरणलार्इ सम्झन्छौ मात्रै ।
पmुलचोकीको फेदबाटविहाबर हुँदै आएकी लिलावती र फुलचोकीबाट झरेकी रोशीको सँगमस्थलमा अवस्थित श्री भालेश्वर महादेवको दर्शन गरेर सुत्केरी प्रमिला केसीको माइतीघर रोशी डाँडागाउँमा जाने अनि पञ्चकन्या झरनाको अवलोकन गरि फर्कने कार्ययोजना तय गरेका थियौ । सोहि मुताविक ११ बजे हामीले हाम्रो मिलन केन्द्र छोडेउँ । नमोबुद्ध बोर्डिङ्ग स्कुलको स्कुलबस १० बजेनै रोशी यात्राका यात्रीहरुलार्इ पर्खीरहेथ्यो । एक दुइ तीन चार गर्दै ३२ जना जेष्ठ नागरिकहरु बस चढ्नुभयो । सुवर्ण सर र सुवास सर बसमा वहाँहरुलाइ साथ दिदै हुनुहुन्थ्यो । म र उद्धव सर बाइकमा सवार भयौ पनौती बजारमा केहि किनमेल गर्नका लागि । नवजात शिशु र सुत्केरी दुवैका लागि बाक्लो न्यानो केहिथान कपडा र केहि गुलिया खानेकुरा लिदैगर्दा बस पनौतीमा आइपुग्यो । केहिबेरमै नयाँ सहयात्री बन्ने इच्छा राखेर सुनिता खड्का पनि आइपुग्नुभयो । अनि हामी सबैगरि ३७ जना सवार बसलाइ अघि बढाउनुभयो गुरुजीले । सहचालक भाइले सँगित सँयोजन गरिहाल्नुभयो ।
कुशादेवीबाट आएकी लिलावती र फुलचोकीबाट झरेकी रोशी खोलाको सँगमस्थलमा अवस्थित श्री भालेश्वर महादेवको तलतिरको खुलाचौरमा बस बिसाइ सिँढी उक्लदै भालेश्वर महादेव मन्दिर परिसर पुग्यौ ।
यही हो असली पुरानो भालेश्वर मन्दिर । काठमाण्डौ चन्द्रागिरी पर्वतमा केवलकार सँगै भालेश्वर मन्दिर पनि बन्यो । त्यही नै पुरानो र एकमात्र भालेश्वर मन्दिर हो भनि विज्ञापन बजे । विज्ञापनमा वरिष्ठ कलाकार काभ्रेली शान हरिवँश आचार्यज्युले नै अभिनय गर्नुभएको थियो । त्यही भएर विवाद पनि भएथ्यो । धर्म तथा धार्मिक धरोहरका सम्वन्धमा विवाद हुनु राम्रो होईन । ऐतिहासिकतालार्इ आधुनिकताले कुल्चन मिल्ने पनि होइन । तर विवशतावस अनेकन सहनुपर्छ यहाँ मान्छेले र देउताका प्रतिमुर्तिले पनि । कुनै चाडपर्व, मेला उत्सव नभएकाले मन्दिर परिसर खालीखाली नै थियो । त्यही भएर त मजाले खुलेर दर्शन गर्न पाए सबैले । यताउती घुमेर भएभरका देवस्थलहरु घुमीवरी एक दुइवटा भजनमा नाचगान गरम भन्ने सल्लाह भयो । जानेका नाचे सबैले । फोटो भिडियो बने । कयौं जेष्ठ नागरिकहरु त्यहाँ पुग्नु नै भएको रहेनछ । कोहिकोहिले उहिल्यै एकपटक आएका थियौ रे । यस्तो कहाँ थियो र केहि नि थिएन पुरानो मन्दिर सिवाय रे । भन्नुभयो ।
त्यसपछि हामी दोश्रो तर प्रमुख गन्तव्यतर्फ लाग्यौ । हामीलाई त्यो गन्तव्यस्थल पुग्न सघाउनको लागि बाटोमा कुरीरहेका समिर प्रजा हामी सवार बसमा उक्लनुभयो । सबैलार्इ नमस्कार भन्नुभयो । वहाँपनि एकपटक हाम्रो केन्द्रमा आउनुभएको थियो । वहाँ हामीहरु सबैका ज्वाँइ हुनुहुन्छ । हामी जो प्रमिलालार्इ भेट्न गइरहेका थियौ, उही प्रमिलाको पती नवजात शिशुका पिता हुनुहुन्छ । मकवानपुरका चेपाङ् कामको शिलशिलामा काठामाण्डौमा बसिआउनु भएको र सामाजिक सञ्जाल मार्फत साथी बन्दै प्रमिलासँग जोडिनुभएका प्रजा प्रमिलाको जीवनसाथी नै बन्नुभयो ।
कानुनी लडाइ लड्न कसेर आउनुभएकी प्रमिलाको मसँगको भेटले कानुनी लडाईं पनि सहज भयो र जेष्ठ नागरिक केन्द्रमा पनि सहजै पहुँच भयो । वहाँले केन्द्रका आमाहरुका लागि टिका र चुरा बाँड्ने चाहना राख्नुभयो । मलाइ दिएर पठाउनुभयो । मैले बाँडिदिएँ । वहाँ अर्को पटक म नै आउछु भन्नुभएको थियो । अर्को पटक वहाँ मात्र आउनुभएन । पतिका साथमा छोरी र साथी राधा के.सी समेतलाई लिएर आउनुभयो । त्यो बेला उहाँको गर्भ बसिसकेको थियो । सबै बा आमाले राम्रोसँग सुत्केरी हुनु भनि आशिष दिनुभयो । उहाँ निकै भावुक देखिनुभयो । त्यहीबेला सुत्केरी भेटघाट गर्न आउने छौ भनि हामीले बोलेका थियौ । त्यसपछिका हरेक जस्तो साप्ताहिक कार्यक्रमहरुमा प्रमिलाको स्वास्थ्य अवस्थाका बारेमा सोधीखोजी हुन्थ्यो । एकाध पटक मैले भिडियोकल गराइदिएको पनि थिएँ । त्यो बेला ती छोरी र आमाहरुको मुहार र बोलीमा अगाध प्रेम सद्भाव देखिन्थ्यो । मँसिरको ९ गते तिनी सुत्केरी भइन् ।फोनबाट थाहा पाएँ। शनिवारको भेटमा मैले सबैलाई जानकारी दिएँ । कहिले जाने त भनि सल्लाह हुँदैथियो । ५ गते साइत जुर्यो ।
भालेश्वर दर्शन पश्चात् केहिबेर बसमा सवार भइ प्रमिलाको माइतीको बाटो उक्लियौ । बाटो कठिन थियो । बस रोकेर हिडेर जाम भनि अत्तालिए बा आमाहरु । बस रोक्ने र घुमाउने ठाउँ पनि हुनुपर्यो । अलिक माथिको घुम्तीबाट त अघि जान मिल्ने नै थिएन । सबै ओर्लियौ । हिडेर अघि बढ्न अनुरोध गरियो । बस कसरी फर्काउँछ हेर्नु नि थियो । निकै कष्टकर देखिन्थ्यो त्यो पल । स्वास नै टक्क अड्कीएको थियो । तर हिम्मतका साथ गुरुजीले बसलाई मोड्नुभयो । धड्कन पनि बल्ल सम्हालियो । अनि बल्ल पाइला अघि बढे । वरपरका डाँडाहरु नियाल्दै उकाली उक्लदै गर्दा कतिले माइती ससुराली सम्झनुभयो । उहिले उहिले पाखा पखेरुमा गएको सम्झनुभयो । लहलह खेतीबारी हेर्दै आँगनीमा पुग्यौ । उल्लासमय वातावरण बन्यो। पालैपालो नवजात शिशुको दर्शन भयो केहि भेटी चढाउँदै । असिम आशिर्वादको बर्षाद् नै भयो । केन्द्रको तर्फबाट नवजात शिशु र सुत्केरी दुवैका लागि बाक्लो न्यानो केहिथान कपडा र केहि गुलीया खानेकुरा हस्तान्तरण गरियो । केन्द्रका सँयोजकले शुभेच्छाका पुष्पगुच्छा चढाउनुभयो । मैले पनि केहि शव्दको बहार पस्केँ । अनि प्रमिलाले पनि हर्षभाव व्यक्त गर्नुभयो । चिया र विस्कुट मीठो मानी मानी लियौ । अनि खुशीयालीमा काभ्रेली चमेली बा को चमेली बोलको गीतमा छमछमी नाच्यौ हामी । अनि खुशीसाथ विदावारी भइ झरनातर्फ लाग्यौ । बस उही घुम्तीमा आफ्नो लयमा हामीलाइ कुरी रहेको थियो ।
रोशीको बगरै बगर अवलोकन गर्दै जाँदा २०८१ को असोजमा भएको भीषण बाढीले क्षतिग्रस्त गाउँबस्ती र बगरको कहर देखेर हेरेर मन अमिलो भएथ्यो । ठुलाठुला लोड टिफरहरु धेरै भेटिए । यहि टिफर भर्न डाँडाहरु कटान गर्ने जेसीवी डोजरहरु पनि जोडतोड लागिरहेको पनि देखियो । अझै कहिलेसम्म दोहन हुने हो यसरी रोकिने छाँटकाट नै छैन ।
झरनासम्म बस पुग्ने बाटो २०० मिटर वर नै बस रोकियो । हामी हिँड्यौ । काठको साँघुमा हात समाउँदै तारियो । खोलाको छेउछाउबाट उक्लदैगर्दा छङ्गछङ्ग पानीको आवाजले मधुर सँगित दिइरहेको थियो । शीतल, शान्त र सौम्य उत्साह चञ्चले झरनामा पुगेर अत्यन्तै उत्साहित भयो । पोज मिलाउदै क्लिक क्लिक र नाचेको हाउभाउमा भिडियोहरु बने । गँगाजलले मुख पखाल्दै शिरमा जल अभिषेक गरेर पञ्चकन्या झरनाबाट आनन्दित हुँदै बसमा चढेर फिर्ति सवारमा लाग्यौँ । सबैको चेहरामा चमक थियो जवकी शरीरमा केहि थकान र पेटमा भोक थियो । पनौती बसपार्कमा बस बिसाएर एक होटलमा साकाहारी नास्ता र चिया लियौँ । सँयोगबस गिता बहिनी र अष्ट्रेलिएन ज्वाँइ पनि नास्तामा जोडिन आइपुग्नु भएको थियो । हाम्रो अभियान र आजको यात्राको बारेमा उनीहरुलाई सुनाइयो । खुशी र दँग भए उनीहरु । हामीलाई पनि सम्झनु नि ल यस्ता यात्रामा भनेर भने उनीहरुले । हामी पनि खुशी भयौ । सबैजना बस चढ्यौ । एकजना छुट्नुभयो । फोन गरियो । फोन उठेन । केहिबेर कुर्यौ । पछि वहाँले फोन गरेर भन्नुभयो वहाँ त अर्कै बसमा चढेर घरतर्फ लागिसक्नु भएछ । अनि हामी पनि छुट्यौ पनौतीबाट । बसमा मैले सोधेँ कस्तो भयो त आजको यात्रा भनेर सबैले खुशीसाथ भन्नुभयो एकदम राम्रो रमाइलो आनन्दित र यादगर । मिलन केन्द्रका एकजना सरले बडा हर्षित मुद्रामा भन्नुभयो आज पुस ५ गते शनिवार पनौती १२ रोशी खोलाको सेरोफेरोमा ५ घण्टा व्यतित भएको पत्तै पाइएन । साँच्चै यात्रा एकदम सर्ट एण्ड स्वीट भयो ।
यात्राको रस पनि सर्ट एण्ड स्वीट छ । सदैव यादगर रहनेछ । आध्यात्मिक हिसावले पवित्र । सामाजिक तथा पारिवारीक हिसावले प्रेमिल । प्राकृतिक छटाहरुको दृश्यावलोकन र प्रत्यक्ष अनुभुतिले स्वर्गिक रह्यो । जेष्ठ नागरिकहरुको सम्मान गर्ने चेली प्रति जेष्ठ नागरिकहरुको अगाढ मायाको मनोरम मनोभाव विल्कुल मीठो स्वाद सदा स्मरणीय यात्रा रह्यो । तथापि केहिदिन पछि निच चेलीले फोन गरेर २ वटा कुरा सुनाइन् । १ हामीहरु उस्कोमा गएका थिएनौ रे बाटो परेकाले आँगनमा केहिबेर बसेर गएका रे । २ प्रमिलाको साथसँगत त राम्रा मान्छेहरुसँग रहेछ रे । दुनियाँ हो दुनियाँले जे भनुन् हामीलाई लागेको त सर्ट एण्ड स्वीट नै हो ।







