
कविता
गीता कार्की
आत्माको पुकार
आत्माको पुकार
मन्दिरको घण्टीभन्दा छिटो गुञ्जिन्छ
र म जाग्छु
चराहरू ब्युँझनुअघि
हो ! जागेँ–
जागेँ एकाबिहानै
घाम पृथ्वीको गर्भबाट
चिहाउँदै थियो
आकाश र धरती पर्खिरहेथे
उज्यालो खुसी साट्न
आतुर थिए रहर
मृदुल मुस्कानसँग खेल्न
एउटा कञ्चन मनको चरा
भुर्रर उडेर आयो र
सुन्दर फूलको डालीमा बस्यो
चराले मतिर हेर्दै भन्यो–
“म तिम्रो प्रदेश छाडेर
कतै जादिनँ”
त्यस दिनदेखि मैले फेरि
त्यो चरा कहिल्यै भेटिनँ….
हो !
त्यस दिनदेखि मैले
त्यो चरा कहिल्यै देखिनँ….







