कृति : गाउँको कथा भन्छु है त
विधा : कथासङ्ग्रह
कथाकार : ऋषिराज बराल
२०३२देखि २०३५ भित्र रचिएका विभिन्न १४ थान कथाहरु समावेश गरिएको छ । तत्कालित नेपाली ग्रामिण परिवेश र त्यहाँको जनजीवनसँग सम्बन्धित कथाहरु यस कृतिमा परेका छन् ।
शोषण,गरिवी,अभाव,पीडा,अशिक्षा,दमन,निरंकुशता,अन्याय अत्याचार र निमुखोपनाको नेपाली समाजका विरुद्धका विषयहरु कथाहरुले चित्रण गरेका छन् । स्थान विशेष अन्तर्विरोधका कुराहरु छन् । गाउँको परिवर्तित चित्र छ ।
कथामा सिर्जना गरिएका पात्रहरु सबै यसै समाजबाट टिपिएका छन् । बरालले उठाएको कथाका विषयवस्तुहरु निमुखाको पक्षमा,परिवर्तनको पक्षमा सन्निहित देखिन्छ ।अभावको खिलापमा कथाहरुमा बोलिएको छ । प्रगतिवादी साहित्यका हस्ती कथाकार बरालले विषयवस्तु,चिन्तन सबै त्यतैतिर लक्षित गरेर कथा लेखेका छन् ।
प्रस्तुत कथासङ्ग्रह पहिलो पटक वि.सं.२०४२ सालमा प्रभात जनसाहित्य परिवार, बिराटनगरबाट प्रकाशित भएको हो ।
कृति : अनुराधा
विधा: उपन्यास
उपन्यासकार : विजय मल्ल
उपन्यासभित्र स्वपरिवेश खडा गरेर प्रस्तुत गर्नसक्ने धनी उपन्यासकार मल्लको अनुराधामा पनि त्यस्तै क्षमता देखिन्छ । प्रयोगवादी शिल्पमा उनी धनी देखिन्छन् । एउटी काठमाडौ शहरकी एक सम्पन्न परिवारकी महत्वाकाँक्षी सुन्दरी अनुराधाको वरिपरि बगेको छ यो उपन्यास । यसमा नेवारी समाजको सेरोफेरोमा कथानकता बुनिएको छ ।
नारीको समर्पण,त्याग र ममत्व अनि पुरुषको स्वार्थ र अहंकारको कथा चित्रण छ । प्रायडको विचारसँग प्रभावित भएको झैं लाग्न सक्छ पाठकलाई उपन्यासकार मल्ल । तर यसमा मनौवैज्ञानिक परिवेश नै बढी देखिन्छ ।
यसको केन्द्रविन्दु काठमाडौ उपत्यका हो । नेवार समाज हो । उपन्यासले सहअस्तित्व र स्वप्रवाहमा जोड दिएको छ । प्रवाहमय लाग्छ उपन्यास पढ्दा । नारीवादी चिन्तन,नारी स्वाभिमानको कुरामा जोड दिइएको उपन्यास अनुराधाभित्र फ्रायडबादी प्रवृत्ति,मनोवैज्ञानिक प्रवृत्ति,अस्तित्ववाद र विसंगतिवादी भाव पनि देख्न सकिन्छ । उपन्यास पठनीय छ ।
कृति : एउटा पपलरको पात
विधा : कवितासङ्ग्रह
कवि : मोहन कोइराला
जनआन्दोलनमा योगदान गर्ने कलमजीविहरुप्रति कृति समर्पित गरिएको छ । आधूनिकता र नविनतालाई कवितामा प्रवेश गराउन खप्पिस मोहन कोइराला लामा कविता कोर्ने कविको रुपमा चर्चित छन् ।
प्रस्तुत कृतिमा एउटा पपलरको पात,हिमाल आरोहण माग्छ र युद्ध बर्जित शहर गरी तीन वटा लामा कविताहरु समावेश गरिएका छन् ।
पपलरको पात २०४६ सालतिरको नेपाली जनजीवन र त्यसताकाको नेपालीको चिन्ता र चिन्तन,किंकर्तव्य र जमर्काे,हतोत्साह र संकल्पका साथै अनगिन्ती वेदना र संवेदना बोल्ने कविता हो ।कविले पातलाई शक्तिशाली बिम्ब बनाएर प्रयोग गरेका छन् ।पात झैं इच्छा नहुँदा नहुँदै झर्दै जानुपर्ने मान्छेको नियतीको सुन्दर चित्रण कविताले गरेको छ ।
दोस्रो कविता हिमाल आरोहण माग्छ मा हिमाल आरोहणको विषय, हाम्रो पर्यावरण र सामाजिक परिस्थितिको जटिलता जस्ता कुराहरु भरिएको मीठो कविता हो ।
युद्ध वर्जित शहर कवितामा स्वयंम्भु बनेर कवि भविश्यवाचक बनेका छन् । युद्धको सेरोफेरोमा कविता सृजना गरिएको छ । यसमा विभिन्न प्रसंग,मिथक,घट्ना,युद्धका धम्कीपूर्ण अभिव्यक्ति जस्ता युद्धमा प्रयुक्त हुने कुराहरु परेका छन् ।
तर मोहन कोइरालाका कविता जटिल र अलि दुरुह लाग्छन् । जो कोइले बुझ्न सक्दैनन् । फरक प्रस्तुती शैली,कविको कथ्य र कथनीको वेजोड समन्वय कवितामा पाइन्छ । कविता शिल्पको सौन्दर्यले भरिपूर्ण छ ।