कविता
सत्य र प्राप्तिको भ्रम
ठाकुर बेलवासे
पुग्नु कही छैन्
पुगें भन्नु केही क्षणको भ्रम मात्रै !
केही दिने छैन्
पद ,पुरस्कार या धनदौलतले
केही समयलाई अहंकार मात्रै !
जीवनमा घटित कुराहरूलाई
प्राप्ति मान्नु सत्य ठान्नु
आँखा र मनभरिको भ्रान्ति मात्रै !
सगरमाथा चढ्नु
या अनेकन ग्रहको यात्रा गर्नु
यी सबै सत्य होइनन्
र प्राप्ति पनि होइनन्
आकस्मिकताका हिसाब मात्रै !
मृत्युका अगाडि
मानिसको अर्को कुनै
सत्य र प्राप्ति छैन
यही सत्य प्राप्तिका लागि मानिस
बाजुञ्जेल संघर्ष गरिरहन्छ !