नियात्राकार राजेन्द्रमान डंङ्गोल अहिलेको नेपाली नियात्रा साहित्यको चर्चित नाम हो । पेसाले पर्यटन व्यवसायी राजेन्द्रका हालसम्म ‘यात्राका पाइला’(२०७६),‘पैतालामा हिउँ,आँखामा हिमाल’ (२०७८) र ‘बादलडाँडा’(२०८०) गरी ३ वटा नियात्रा कृति प्रकाशित भैसकेका छन् ।
प्रकृतिको भव्यतामा रमाउने राजेन्द्रमान यात्राका अवलोकनका क्रममा आफ्ना अनुभव र अनुभूतिलाई निजात्मक शैलीमा लेख्ने सामथ्र्य राख्छन् । उनले आफ्ना नियात्रा मार्फत सम्बन्धित ठाउँका महत्वपूर्ण कुराहरुको जानकारी पाठकलाई पस्केका छन् । देखेभोगेका दृष्यहरुबारे जानकारी दिएका छन् । छन् । छोटाछोटा वाक्यहरु प्रयोग गरेर काव्यिकता समेत घुलन गर्न खप्पिस नियात्राकार पर्यटन प्रवर्धन गर्ने हिसावका नियात्रा पनि लेख्छन् । उनका नियात्राहरु वर्णनात्मक र संवादात्मक पनि लाग्छन् । ‘बादलडाँडा’ साहित्यको चर्चित पुरस्कार पद्यश्री पुरस्कार २०८० का लागि छानिएका १५ कृतिमा सफल भएको छ । नियात्राका विविध सेरोफेरोमा रहेर नियात्राकार राजेन्द्रमान डङ्गोलसँग इ खवरनेटका लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
१. तपाईं पर्यटन व्यावसायी कि नियात्राकार ?
प्रश्नका लागि धन्यवाद ! म पेशाका हिसाबले पर्यटन व्यवसायी र लेखनका हिसाबले नियात्राकार । लेखन मेरो सौख शौख मात्र हो भने व्यवसाय मेरो हातमुख जोर्ने आधार । म एउटा नियात्राकार भन्दा पनि पर्यटन व्यवसायी नै हुँ ।
२. नियात्रा भनेको के हो ? तपाईंको एउटा नियात्रा कक्षा ९ को पाठ्यपुस्तकमा पनि समावेश छ । त्यो नियात्रा केका लागि रचना गर्नु भएको थियो ?
नियात्रा भनेको यात्राको दौरानमा देखेका, भोगेका र सिकेका यवात् कुराहरूलाई लिपिबद्ध गर्नु हो । यो आफैँमा पनि एउटा इतिहास हो । जहाँसम्म कक्षा ९ को पाठ्यपुस्तकमा समावेश भएको नियात्रा छ। वास्तवमा नियात्रा लेखन मेरो सौख नै हो यद्यपी त्यो नियात्रा लेख्नुको उद्देश्य सशरीर त्यहाँ पुग्न नसक्नेहरूका लागि मेरो नियात्रामार्फत् मैले टेकेका पाइलाहरूमा विचरण गराउने र जो शारिरीकरूपमा सबल छन्, उनीहरूका लागि त्यहाँसम्म पुग्ने उत्पेरणा जगाउनकै लागि थियो ।
३. यहाँलाई केले प्रेरित गरेको थियो कञ्चनजङ्घा बेस क्याम्पसम्म पुग्न ?
म यात्राप्रेमी मान्छे हुँ । मलाई प्राकृतिक सौन्दर्य औधी मन पर्छ । फेरि कञ्चनजङ्घा सांस्कृतिक महत्वको हिमाल हो । कञ्चनजङ्घाका पाँचवटा चुचुरा छन् । स्थानीयहरूले तिनलालाई सुन,चाँदी,मणी अन्न र पवित्र ग्रन्थका रूपमा मान्छन् । यसलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । म आफैँपनि पर्यटन व्यवसायी भएकोले यो याात्राको बारेमा गहिरिएर अवलोकन गर्नु थियो । हिमाली सौन्दर्य र संस्कृतिमा मलाई डुब्नु थियो । शारिरीक र मानसिक रूपमा पनि आफैँलाई चुनौती दिनु थियो । एउटा अर्थात् एउटा रहर थियो ।
४. यात्राका पाइला, पैतालामा हिउँ आँखामा हिमाल र बादलडाँडा गरी तपाईंले चार वर्षको अन्तरालमा तीनवटा नियात्रा कृति प्रकाशित गर्नुभएको छ । तपाईंलाई पहिलो पटक नियात्रा लेख्ने हुटहुटी चाहिँ कसरी जाग्यो ?
राम्रो प्रश्न । यो सम्बन्धमा एउटा इन्ट्रेस्टिङ कहानी छ । वास्तवमा म आफैँलाई हुटहुटी जागेर नियात्रा लेख्न सुरु गरेको थिइनँ । म स्कुल पढ्दा कहिलेकाहिँ कविता कोर्ने गर्थें । मेरा दाजु कवि आरएम् डङ्गोलको पहिलो कविता सङ्ग्रह राशीफल हेरिरहेका मान्छे (२०५४) प्रकाशित भएपछिको पारिवारिक भेटघाटमा उनले मलाई पनि कविता लेखनलाई निरन्तरता दिन सुझाए । उनको सुझाब मनासिब लाग्यो र मैले त्यसलाई निरन्तरता दिने प्रयत्न गरेँ । प्रायः म पदयात्रातिर गइरहने भएकोले मैले लेख्ने कविता प्रकृति सम्बन्धी हुन्थ्यो । मेरा कवितामा पदयात्राका भाव, प्रकृति र हिमाली विम्ब झल्किने भएकोले उनले मलाई नियात्रा लेख्न सल्लाह दिए । त्यो बेला मलाई नियात्रा लेख्न आउदैन थियो । उनले नै मलाई सिकाइदिए । उनले नै सिकाइदिए अनुसार लेख्दै जाँदा मैले हालसम्म तीनवटा कृति प्रकाशित गर्न सकेको हुँ ।
५. नेपाली नियात्रा साहित्यमा तपाईलाई मन परेका कृतिहरु?
मैले पढेका नियात्राहरूमध्ये जनकलाल शर्माको ‘कौतुकमय डोल्पो, (२०३१)’, हर्क गुरुङको ‘मैले देखेको नेपाल, (२०६४)’ र भेषराज रिजालको विसौनी वल्तिर, (२०७७)’ मन पर्छ ।
६. तपाईको पछिलो कृति बादलडाँडा पनि पद्यश्री पुरस्कारमा १५ उत्कृष्ट मध्येमा परेको थियो । यो कृतिको बारेमा केही भनिदिनु हुन्छ कि?
मेरा अघिल्ला दुई कृति ‘यात्राका पाइला २०७६’ र ‘पैतालामा हिउँ, आँखामा हिमाल २०७८’ प्रकाशन भएपछि नियात्रा लेखनलाई निरन्तरता नदिइरहन सकिनँ । यो कृति त्यसैको निरन्तरता हो ।यसमा यात्रा गर्दाका अवलोकन, अनुभव र प्रतिविम्बलाई चित्रण छन् । व्यक्तिगत उपाख्यान, ऐतिहासिक जानकारी, सांस्कृतिक अन्तरदृष्टि र परिदृश्यका विवरणहरू अभिव्यक्त गरिएका छन् । यो फगत् एउटा सङ्ग्रह मात्र नभएर मानव आत्मा र भौतिक संसारसँग हुने सामूहिक सम्बन्ध–सेतु र एउटा अनुस्मारक पनि हो भन्ने लाग्छ । छोटकरीमा भन्नुपर्दा प्रकृति, मानव संस्कृति र इतिहासको धागोको एउटा टेपेस्ट्री हो– बादलडाँडा ।
७. तपाईंले कञ्चनजङ्घा, सगरमाथा, अन्नपूर्ण लगायतका हिमाललाई पहिलो पटक देख्दा कस्तो अनुभूति भयो ?
तस्वीरमा मात्र देखिएका ती हिमाललाई पहिलो पटक आफ्नै आँखाअघि देख्दा त आश्चर्य चकित भएँ । हिमालहरूको भव्य र विष्मयकारी उपस्थितिले मेरो हृदयमा अमिट छाप छोड्यो । हिमालहरू सांस्कृतिक महत्वको भएकोले शब्दभन्दा बढी श्रद्धा र सम्मानभाव भावना जाग्यो ।
८.पदयात्राका दौरानमा तपाईंले भोगेका रमाइला क्षण र कठिनाइहरू सुनाउनुस न !
मेरा यात्रा आफैँ एउटा अविस्मरणीय घटना हुन् । यस्ता सम्झन लायक थुप्रै पलहरू छन् र रमाइला क्षण भन्नाले सहयात्रीसँगको हाँसो र ठट्टा, बाटोमा भेटिएका विदेशी पर्यटकहरूसितको संवाद, स्थानीय होटल व्यवसायी र उनीहरूको स्वागत सत्कार, सन राइज र सन सेटका दृश्य, खराब मौसम, उच्च पहाडी परिवेशको शान्त वातावरण हुन भने कठिनाइ भन्नाले ठाडो उकालो चढ्दाको अनुभव, विशेषगरी ढुङ्गा खस्ने ठाउँ पारगर्दाको क्षण, चिसो वायु र शारिरीक परिश्रम नै हुन् ।
९. तपाईंले गर्नुभएका पदयात्राहरूलाई कसरी सम्झनुहुन्छ ?
यात्राहरू त रहरमै गरिन्छन् । मैले थुपै्र पदयात्रा गरेँ । कतिपय यात्राका यादहरू धुमिल हुँदै गइरहेका छन् । यद्यपि उच्च राजशी हिमालहरू, मानव बस्ती च्यापेका पहाडहरू, थरिथरिका लालीगुराँस लगायतका वनस्पती । चराचुरूङ्गी, त्यहाँको सभ्यता, हिमनदीलाई म सम्झिरहन्छु ।
१०. पहाडका उकाली चढ्दा ओराली झर्दा कस्तो लाग्छ ?
त्यसो त उकाली ओराली मेरा लागि नौलो विषय होइन । म उकाली ओराली गरेरै हुर्केको मान्छे हुँ । यद्यपि उकाली ओराली जीवनका क्षणहरू हुन् । यसै पनि मान्छेको जीवन सरल रेखामा चलिरहेको हुँदैन । यात्रामा त झन् हुने कुरै भएन । पहाडको यात्रा रोचक र रहस्यमय अनुभूतिको यात्रा हो । पहाडका उकाली ओराली गर्नु भनेको पहाडलाई बुझ्नु हो । पहाडसित साइनो गाँस्नु हो । यो प्रकृतिको हृत्कम्प छाम्ने एक मात्र कायदा हो । पहाड चढ्नु भनेको बादलको शिखर चुम्नु हो । प्रकृतिसँगको भावानुभूतिको मिठो पल हो । उकाली ओराली नगरे स्वयम्ले बाँचेको जीवनको सार्थकता थाहा हुन्न । उकाली ओराली गर्दा ममा यस्तैखाले भावहरू उत्पन्न हुन्छन् ।
११. हिमालको सौन्दर्यलाई अहिले कसरी सम्झनुहुन्छ ?
हिमाल हाम्रो गौरवको चट्नी हो । दृढताको प्रतीक हो । हिमालको कालातीत सौन्दर्यले मेरो आत्मालाई पोषण दिन्छ । हिमालको टुप्पोले आध्यात्मिकरूपमा उच्चतम् चेतनाको अवस्थालाई जनाउँछ । हामी प्रकृतिपूजक हौँ । हिमाललाई कहाँ बिर्सिरहन सकिन्छ र ! कतिपय हिमालको नाम देउताको नाममै छ जस्तो – गणेश हिमाल, अन्नपूर्ण र गौरीशङ्कर लगायतका हिमालहरू । सगरमाथालाई देउढुङ्गा र गडेस अफ युनिभर्स ‘ब्रह्माण्डकी देवी’को रूपमा विश्वास गर्छन् । मनासलुको स्थानीय नाम काङ पुङ्गेन अर्थात् गहनाले सजिएकी देवी । पार्वतीको रूपमा पुजिन्छ । तिब्बतको कैलास पर्वको उत्तिकै महिमा छ । हिमाल भनेको भौगोलिक विशेषता मात्र होइन, राष्ट्र र संस्कृतिलाई आकार दिने राष्ट्रिय गौरवका भण्डार नै हुन् ।
१२. आजकल एकथरी नियात्राकार पर्वतीय नियात्राको चर्चा गर्न रुचाउँछन । यतिसम्म कि ‘हिमाल लेख्ने मै हुँँ’ भन्छन् । तपाईं त धेरै हिमाली क्षेत्रमा पुगेको मान्छे हुनुहुन्छ । के तपाईं पनि ‘हिमाल लेखेँ’ भनेर गर्व गर्नुहुन्छ ? यस बारे यहाँको धारणा के छ ?
अरूले के भन्छन् भन्ने कुरातिर म जान चाहन्न । किनकि म सस्तो लोकप्रियतामा रमाउन सक्दिनँ । जहाँसम्म मेरो सवाल छ– अहिलेसम्म म पुगेको भनेको कुनै हिमालको बेस क्याम्पसम्म मात्र हो । तर मैले कुनै पनि हिमाल आरोहण गरेको छैन । जब कि मैले कुनै हिमाल स्पर्श गरेकै छैन भने ‘हिमाल लेखेँ’ भनेर म कसरी पाठकलाई दिग्भ्रमित बनाउन सक्छु ?
तपाईं कालापत्थर जानु भयो भने त्यहाँबाट सगरमाथा देखिन्छ । अब तपाईंले ‘सगरमाथा देखेँ’ भनेर लेख्दैमा त्यो सगरमाथाको नियात्रा हुँदैन । ‘सगरमाथाको नियात्रा लेखेँ वा ‘हिमाल लेखेँ’ भन्नका लागि सगरमाथा चढेको हुनुपर्छ अर्थात् हिमाल आरोहण गरेको हुनुपर्छ । हिमाल त्यत्तिकै चढिन्न । हिमाल चढ्न विभिन्न खालका क्लाइम्बिङ इक्विपमेन्सहरूको प्रयोग गर्नपर्छ । जस्तो कि– आइस एक्स, हार्नेस, जुमर, फिगर एट, रक पिटन, स्नो बार, मेन रोप, फिक्स रोप, क्लाइम्बिङ बुट र क्य्राम्पन । आरोहणमा प्रयोग गर्नुपर्ने यस्ता ओजारहरू अरू पनि हुन्छन् । कम्तीमा यी औजारहरू प्रयोग गरेका कुरा र अनुभव र हिमालको टुप्पामा पुगेपछिको अनुभूति त नियात्रामा आउनु पर्ला नि ! अझ सगरमाथा आरोहणको कुरा गर्ने हो भने त बेस क्याम्प, एडभान्स बेस क्याम्प, खर्भास, हिलारी स्टेप र टप लिँदाका कुराहरू हुन्छन् । नियात्रामा आरोहणका ती कुराहरू छैनन् भने त्यो कसरी सगरमाथा वा हिमालको नियात्रा हुन्छ ? त्यसकारण ‘हिमाल लेखेँ’ भन्नका लागि हिमाल स्पर्श गरेका हुनुपर्छ अर्थात् हिमाल चढेको हुनुपर्छ । हालै प्रकाशित भारतीय लेखिका तुलिका रानीको ‘बियोन्ड द वाल, रिडम्पसन अन एभरेस्ट’ सगरमाथा चढेर लेखिएको नियात्राको एउटा साक्ष्य हो ।
१३. अन्त्यमा,मैले सोध्न छुटाएको र तपाईले भन्न छुटेका कुरा भए भनिदिनुस् न ?
तपाईंसँग वार्तालाप गर्न पाएँ, आफ्ना कुराहरूलाई तपाईंमार्फत पाठक समक्ष पुर्याउन पाएँ । यसमानेमा खुसी लागेको छ । यस अवसरमा आदरणीय पाठक महानुभावहरूमा मेरो नियात्रा कृति पनि पढिदिन र निशङ्कोच पाठकीय प्रतिक्रिया समेत दिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।






