
दक्षिणकाली। साहित्यकार चन्द्रलाल तामाङद्वारा लिखित ‘औँसीको जून’उपन्यासको कात्तिक १५ गते शनिवारका दिन दक्षिणकाली नगरपालिकाको शेषनारायणमा लोकार्पण गरिएको छ।
सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रामराजा केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेत रहेका थिए भने अन्य आमन्त्रित व्यक्तित्वहरूमा नगरपालिका उपप्रमुख बसन्ती डङ्गोल तामाङ, साहित्यकारकारहरू किशोर पहाडी, श्यामल, मुकुन्द पौडेल, लता केसी, डा.शेखरकुमार श्रेष्ठ, डा. छायादत्त न्यौपाने, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सुभाषचन्द्र पौडेल’भीमफेदीया’ डा.सविना श्रेष्ठ, नारी चिन्तक तथा अभियन्ता लक्ष्मी गुरुङ, मुरारि सिग्देल, शेखर अर्याल तथा भरतबहादुर चन्द लगायतको उपस्थिति रहेको थियो। मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा कृति लोकार्पण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख व्यक्तित्व दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले उपन्यास लेखक चन्द्रलाल तामाङ र प्रकाशक सुसेली साहित्यिक प्रतिष्ठानलाई बधाई दिंदै दक्षिणकाली नगरपालिका साहित्यमा अगाडि रहेको बताए। ठूलो एकादशी जस्तो पावन दिनमा लोकार्पण भएको उपन्यास औँसीको जून जस्तै रहेको बताए। आगामी दिनहरूमा पनि साहित्यका क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग पुर्याउने वचनवध्दता जनाउँदै उनले नगरपालिकाको तर्फबाट २५ थान पुस्तक तत्कालै खरिद गरी लेखकलाई प्रोत्साहित गरेका थिए।
कार्यक्रममा लघुकथा केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठले लोकार्पित कृतिका बारेमा समालोचकीय मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनले उपन्यासकार चन्द्र तामाङको उपन्यासमा समसामयिक विषय र घटना समेटिएको बताए। उपन्यासमा मिथकलाई पनि आदर्शका रूपमा देखाइएको बताए।इन्द्रिय सन्तुष्टि र प्रेमलाई फरक रूपमा देखाइएको उपन्यासमा सामाजिक विसंगति र विकृतिको रूपमा औँसी रहेको र ती विसंगति र विकृति हटाउन सकियो भने जूनको रूप लिन सकिने कुरा बताए। उपन्यासमा जीवनलाई हेर्ने दृष्टिकोण रहेको बताउँदै डा.श्रेष्ठले उपन्यासकार चन्द्रलाल तामाङ एक कुशल समीक्षक समेत रहेको बताए।
उपन्यासका लेखक चन्द्रलाल तामाङले आफ्नो लेखकीय मन्तव्यमा गीतकार बी.बी.थापाले आफूलाई उपन्यास लेख्न प्रेरित गरेको र त्यसलाई मूर्त रूप दिने कार्यमा श्यामल, डा.शेखरकुमार श्रेष्ठ, नरेन्द्रजङ्ग पिटर, ईश्वरचन्द्र ज्ञवाली तथा रामकुमार केसी र सुसेली साहित्यिक प्रतिष्ठानको ठूलो योगदान रहेको बताए।
कार्यक्रममा नगरपालिका उपप्रमुख वसन्ती डङ्गोल तामाङ, किशोर पहाडी, श्यामल, लता केसी, डा.सविना श्रेष्ठ, मनीषकुमार शर्मा, प्रधान अध्यापक रामकुमार बस्नेत, डा.छायादत्त न्यौपाने तथा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले शुभकामना मन्तव्य राखेका थिए।
शुभकामना मन्तव्यका क्रममा केदारनाथ आचार्यले लेखक चन्द्रलाल तामाङका विषयमा लेखिएको आफ्नो कविता वाचन गरेर सुनाएका थिए।
प्रतिष्ठानकी सदस्य सविता केसीले स्वागत मन्तव्य सहितको कविता वाचन गरेकी थिइन्।
कार्यक्रमका सभापतित्व प्रतिष्ठानका अध्यक्ष रामराजा केसीले गरेका थिए ।
सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली- ३ को आयोजनामा भएको कार्यक्रमका सहजकर्ता तथा सञ्चालक दीपक लामिछाने रहेका थिए।
उपन्यासकार चन्द्रलाल तामाङको यो दोस्रो कृति हो। तामाङ सुसेली साहित्यिक प्रतिष्ठानका कोषाध्यक्ष पनि हुन्। उनको यसअघि ‘मनका रङ्गहरू’ कवितासङ्ग्रह प्रकाशित भइसकेको छ।






