निबन्ध
दशैंः कति व्यस्त, कति अस्तव्यस्त
ज्ञानेन्द्र विवश
दशैंको व्यस्तता र अस्तव्यस्तताले अब बिदा लिइसकेको छ । वास्तवमा दशैं भन्नु कामको भ्याइनभ्याइ पनि हो । उत्सवको पर्व हुँदै हो । तर, त्यसका लागि तयारीको तामझाममा घरका अभिभावकको बेफुर्सद कम हुँदैन । खासगरी आमा, दिदीबहिनी, भाउजूहरूलाई आँखा झिमिक्क गर्ने फुर्सद हुँदैन ।
दशैं आउनासाथ गाउँसहर सबैको चालढाल फेरिन्छ । मानौँ हावासँगै कुनै अदृश्य आतुरता बगिरहेको हुन्छ । त्यसले मानिसलाई पर्वको रमझममा खुसीले सहभागी हुन उक्साउँछ । कस्तै पीडा भए तापनि अरूकै खुसीमा सही सामेल हुन प्रेरित गर्छ ।
घरभित्र बुढाबुढीहरूको आह्लाद, आमाबाबुहरूको चिन्ता, बालबालिकाको उल्लास ! यी सबै मिसिएर दशैंको रङ्गीन चित्र बन्छ । तर त्यो चित्र केवल सजिलो र सुन्दर मात्रै हुँदैन, त्यसभित्र थुप्रै व्यस्तता र अस्तव्यस्तता पनि लुकेको हुन्छ । यिनकै सन्तुलित, सामूहिक र सौहाद्र्धपनमा दशैंको पर्वले साँच्चैको खुसियाली प्रदान गर्न सक्छ ।
दशैं लाग्नेबित्तिकै गाउँका बाटा, देवीथान, कुवा, धारा सफा गर्ने, घर लिपपोत गर्ने काम सुरु हुन्छ । रातोमाटो, कमेरो र गोबरको गन्ध घरभरि फैलिन्छ । कतै कोठा–कोठामा पुराना लुगाफाटाले पालो पाउँछन् । नयाँ कपडाले स्थान लिन्छन् । बजारतिर झन् चापै चाप । मानौँ सबै मानिस एउटै दिनमा एउटै ठाउँ पुगेका हुन् । पसलहरूमा सामानको भारी, किनमेल गर्ने भीडको हतार, अनि मोलतोलको गुनगुन सबैले दशैंलाई व्यस्त बनाउँछन् ।
तर यसै व्यस्ततामध्ये कतै अस्तव्यस्तता पनि छ । बस–टिकट नपाएर घर जान नपाएकाहरू, पहिरोले बीच बाटोमा अलपत्र पर्नेहरू, भाडा बढेको दुखेसो गर्नेहरू, ऋण लिएरै भए पनि चाड मनाउने विवशता भोग्नेहरू ! यी दृश्यहरूले दशैंको अर्को अनुहार देखाउँछन् । बाहिरबाट चाड चम्किलो देखिए पनि यसभित्र कतिपय हृदय अस्तव्यस्त नै हुन्छन् ।
तथापि, दशैंको व्यस्तताभित्रैको अस्तव्यस्ततालाई ढाक्ने शक्ति पनि बनिदिन्छ । टिका थाप्ने बेला परिवार एकै ठाउँमा जुट्दा, आशीर्वादका शब्दले कान भरिँदा, बालबालिकाको हाँसोले आँगन गुञ्जिँदा– त्यो अस्तव्यस्तता बिर्सिन्छ । अनि व्यस्तता मात्र रहन्छ, जसको स्वाद मिठो हुन्छ ।
लाग्छ– दशैंः साँच्चै, कति व्यस्त, कति अस्तव्यस्त !
परन्तु यही व्यस्तताले जीवनलाई अर्थ दिन्छ, यही अस्तव्यस्तताले जीवनलाई वास्तविकता सम्झाउँछ । अन्ततः दशैं भनेको केवल चाड मात्र होइन, त्यो हाम्रो संघर्ष र उत्सव दुवैको संयुक्त प्रतिमा पनि हो ।
दशैंको व्यस्तता, अस्तव्यस्ततासँगै उत्सवको धुन, मिलनको क्षण र खानपानको स्वादले आनन्दको अनुभूति गराउँछ । किनभने दशैं आउनासाथ गाउँको रङ फेरिन्छ ।
धानका बोटहरू सुनौलो भएर झुलिरहेका हुन्छन्, हावाले खेतभरि तिनलाई खेलाउँदा धानको समुद्रमा तरङ्ग उठ्छ । आकाश नीलो, बादल सेतो र सूर्य अझ उज्यालो । चौतारीमा बुढापाका भेला भएर दशैंको तयारीबारे कुरा गर्छन्, बालबालिका भने पिङको डोरीमा झुण्डिएर सररर गर्दै हाँसिरहेका हुन्छन् । ढोल–मादलको ताल कतै टोलतिर बज्छ, मानौँ गाउँको मुटु नै बजिरहेको हो । तर यस रमाइलो दृश्यभित्र पनि व्यस्तता छ, अस्तव्यस्तता हुन्छ ।
घर–घरमा लिपपोत गर्ने हात थाक्छन्, बजारमा किनमेल गर्ने भीड पसिनाले भिज्छ । हुनेहरूका आँगनमा नयाँ कपडा, परिकार र मासुको सुगन्ध फैलिन्छ । तर नहुनेहरू पनि दशैं मनाउनैपर्छ– कहिले ऋण लिएर, कहिले थोरै भए पनि बाँडेर । किनकि दशैं केवल व्यक्तिगत चाड होइन, यो सामूहिक संस्कृतिको बन्धन हो । चाडले धनीलाई झन् धनी देखाउँछ, तर गरिबलाई पनि संस्कृतिको नाता तोड्न दिँदैन ।
चौतारीमा देखिन्छ एउटै चित्र– धनी र गरिब दुबैको टिका र जमरा एउटै हुन्छ । आमा–बुबाको हातबाट टिका थाप्दा धनीको निधार र गरीबको निधारबीच कुनै भिन्नता रहँदैन । न त जातभात, टाढा र नजिकको कुनै सीमारेखा नै हुन्छ । सबैमा समानता, सद्भाव र सहृदयपन स्थापित भएको हुन्छ । बालबालिकाको हाँसो, पिङको चाल, चंगाको वेग, बाजाको ताल ! यी सबैले सबैलाई एउटै उत्सवको लयमा बाँधिदिन्छ । बडादशैंको उल्लासमा सामेल गराइदिन्छ ।
दशैं व्यस्त हुन्छ– धान भित्र्याउने, घर सजाउने, पाहुना स्वागत गर्ने । हुन त दशैं बिदाको समय, फुर्सदका दिन हुन् । तर एकछिन पनि फुर्सद हुँदैन । खाने समयकै ठेगान हुँदैन । कामकै चटारोले घरकी बुहारीको हैरानी एकछिन टुसुक्क बसेर आरामले सास फेर्नेसमेत फुर्सद मिल्दैन । कोही आफन्तलाई दशैंको ‘शुभकामना’ पठाउनुमात्रै होइन आफूलाई आएको ‘म्यासेज’ हेर्ने र जवाफ फर्काउने पनि फुर्सद हुँदैन ।
यसरी दशैं अस्तव्यस्त हुन्छ । कति खानेकुरा पकाउने ? के मात्रै पकाउने ? पकाइतुल्याइ गर्ने भान्साको काम कहिल्यै सकिँदैन । कति र के मात्रै खाने ? खानेकुरा खानु त खानु फाल्नेहरू पनि उत्तिकै हुन्छन् ।
अर्कोतिर बसको भीड, पैसाको अभाव, ऋणको चिन्ता छँदै छ । तर यी दुवैलाई माथ गर्ने शक्ति दशैंकै उमङ्ग हो । यसले दशैंलाई चाडसँगै संस्कृतिको उत्सव बनाउँछ । जहाँ हुने, नहुने सबै मिल्छन्, जहाँ गाउँ नै एउटै परिवारजस्तै देखिन्छ, जहाँ जीवनको दुःखसुख एउटै तालमा बज्छ– मादलको तालमा, पिङको सरररमा अनि जमराको हरियालीमा ।
दशैं आउनु भनेको नेपाली जीवनमा एउटा मात्र उत्सवको आगमन होइन, बरू समय, संस्कार, परिवार र प्रकृतिको मिलनबिन्दु पनि हो । तर, त्यो मिलनबिन्दु कतै सुव्यवस्थित छ भने कतै अस्तव्यस्त पनि ।
शहरतिरका बजारहरू दशैं लागेपछि कति व्यस्त देखिन्छन् ! भीड, हतारो, सामानको थुप्रो, मूल्यवृद्धि, ट्राफिकको चाप ! यी सबैले दशैंलाई व्यस्तताको अर्को नाम बनाइदिन्छन् । हुनेहरू आफ्ना पसल–बजार घुम्दै नयाँ कपडा, मिठाई, मासु र फलफूल बोकेर घर फर्किन्छन् । तर, नहुनेहरूका आँखामा त्यो दृश्य अर्कै पीडाको कथा बन्छ । जसको भान्छामा दैनिक गुजारा चलाउनै गाह्रो छ, उसलाई दशैंका भव्य सजावट र चमकदमक केवल चस्मा लगाएर हेर्नुपर्ने चलचित्रझैँ लाग्छ ।
अपितु, गाउँमा अझै पनि धेरै नेपालीको जीवनमा दशैं केवल किनमेल र खर्चको पर्व होइन, संस्कार, प्रकृति र सामूहिक हर्षको मिलन हो । धान झुलेका बारीहरू सुनौलो लहरझैँ हल्लिरहेका हुन्छन्, गाउँको चौतारीमा बाँसको ठूलो पिङ हालिएको हुन्छ । बालबालिकाहरूको चिच्याहट– ‘चच हु ईई… सररर’ भन्दै पिङमा मच्चिएको हाँसो त्यो वातावरणलाई स्वर्गीय बनाइदिन्छ । ढोलमादलको तालसँगै गाउँका युवाहरूको नाचगान हुन्छ, पुराना गीतमा नयाँ उमङ्ग थपिन्छ ।
यसरी हेर्दा दशैं कति व्यस्त, कति अस्तव्यस्त पनि ! व्यस्त किनभने तयारी, भेटघाट, संस्कार र परिवारको चहलपहलले सबैलाई तान्छ । अस्तव्यस्त किनभने नहुनेको घरमा मासु पकाउने सपना अधुरै रहन्छ, नयाँ लुगा लगाउने इच्छा पनि अपूर्ण हुन्छ । तर दशैंको सांस्कृतिक शक्ति यति गहिरो छ कि नहुनेले पनि धुलो माटोको आँगन बडार्छन् ।
दशैंले हरेक मान्छेलाई फरक अनुभव दिन्छ । कसैलाई सुखको, कसैलाई अभावको । तर, साझा कुरा– यो पर्वले हामीलाई गाउँको प्राकृतिक सौन्दर्यसँग, संस्कृतिको गहिराइसँग र आपसी सामिप्यसँग जोड्छ । धानको लहरमा खेलिएको हावासँगै, पिङमा उडेको चिच्याहटसँगै, आकाश छुन उडेको चंगासँगै दशैं जीवनको यथार्थ– व्यस्तता र अस्तव्यस्तता ! यी दुवैलाई एकसाथ नाच्न सिकाउँछ ।