
बगिरहेकै ले नै हो नदी पवित्र भएको । नदी पवित्र छन् तर नदीमाथि हुनेगरेका छन् काम अपवित्र । त्यसैले हुँदैन विवाद जमिरहने पानीमा । मानिदैँन पवित्र पनि । पानी एउटै भए पनि बनिरहन्छ सीमित आफैंमा । नपाएर बाटो अगाडि बढ्न नसकेजस्तो । बग्ने पानी भने बस्दैन अलमलिएर एकैछिन पनि । बलियो हुँदा र कमजोर हुँदा पनि । नमानेर थकाइ गरिरहन्छ निरन्तर यात्रा । नरोकिए पनि एकैछिन हुन्छ यसैमा धेरै शक्ति र सामथ्र्य पनि ।
हेरिरहन मन लाग्छ मलाई बगिरहेको नदी । आकाशको बादलजस्तै लाग्छ चलायमान पानी । नरोकिने भए पनि नदीको पानीमा देख्छु विभिन्न आकृति । पानीको चित्रकारिताजस्तो । पानीको सौन्दर्यजस्तो । पानीको क्रियाशीलताजस्तो । पानीको शक्तिजस्तो र पानीको शालीनताजस्तो । त्यसैले म सधैँ उत्प्रेरित हुने गर्छु पानीको उर्जा देखेर । त्यसैले बस्न मन लाग्दैन बाँधेर हात बस्न कहिल्यै । गाडेर गोडा पनि एकै ठाउँमा कहिल्यै ।
महाकाली नदी र नदीको पानी । पश्चिम सीमाको सीमान्त भएर बग्ने नदी । सधैँ चर्चामा आइरहने नदी हो नेपालको । भनिन्छ भूगोलले ठगिएको ठाउँ । भनिएको त्यसैले सुदूर पनि पश्चिम पनि । बनिरहन्छन् समाचार बेलाबेला अखवारहरुमा । रेडियो र अनलाइनहरुमा । देखाइरहन्छन् टेलिभिजनहरु त्यहाँको विकटता । त्यहाँका अभावहरु । त्यहाँकोे गरिबी । त्यहाँका असुविधा । कहिले तुइनको वाध्यता । कहिले चामल किन्न लागेको लाइन । सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्नुपरेकाहरुका अनुहार । बच्चा जन्माउन नसकेर जीवन उत्सर्ग गर्ने आमाहरुका अनुहार । समाचारहरुकै कारण एउटा दुःखी चित्र बनेको थियो मेरो मनमा दार्चुलाको ।
फरक भइसकेछ अहिले पहिलेभन्दा । जोडिसकेपछि सडक शहरहरुसँग । अलिअलि टाढिएजस्तो भएछन् अभाव र समस्या । ओसारिरहेका रहेछन् अलिअलि उज्यालो । अलिअलि खुशी पनि । पुगिसकेको छ इन्टरनेट । जोडिसकेको रहेछ देशसँगै विदेशलाई पनि । सक्नेले बोकिसकेका छन् हातहातमा महङ्गा मोबाइल । नसक्नेका हातमा पनि छन् साना र सस्ता मोबाइल।
दार्चुला जिल्लासँगै आइहाल्ने नाम हो महाकाली नदी । महाकाली भन्नासाथ जोडिहाल्छ कालापानी, लिपुलेक र लिम्पियाधुरा । नभए पनि प्रयोग छ, देशले बनाइएको चुच्चेनक्सा । भारतले आफ्नोमा राखिदियो कालापानी, लिपुलेक र लिम्पियाधुरालाई । तीनसय बहत्तर बर्गकिलोमिटर पूरै । धेरै अघि पनि होइन उन्नाइसको नोभेम्बर दुईमा । विरोध गर्यो देशले तर वास्ता गरेन केही पनि । केही पनि प्रतिक्रिया नजनाएपछि हाम्रो पनि बन्यो चुच्चेनक्सा बीसको मे बीसमा नै । पायो हुनसम्मको वाहावाही । व्यवहारमा भने हुनसकेन केही पनि । छ जस्ताको तस्तै । पहिले जे थियो त्यस्तै ।
महाकाली त नदीको नाम मात्र होइन । महाकाली नै भइहाल्यो । यही नदीको विषयमा भएको थियो सम्झौता छिमेकी देशसँग । बाँड्दा हुनुपर्ने थियो आधाआधा पानी तर गरियो चौध हजार क्युसेक छिमेकीलाई र मात्र चारसय साठी हामीलाई । कत्रो असमान र अपमान सन्धि । नदीको छातीमा भाला रोपेर रक्ताम्य बनाएर बगाएजस्तो । त्यो पनि दुई तिहाइले पारित गरेका थिए जन भनिएका प्रतिनिधिहरुले । कलङ्कित बनाएको दिन थियो त्रिपन्नको असोज चार गते । त्यही सम्झौताले ल्याएको थियो ठूलो भूकम्प नेपाली राजनीतिमा । मजाले तताएको थियो राजधानीका सडक र संंसद पनि ।
ठीक भएरै गरिएको भन्ने एउटा पक्ष । राष्ट्रघाती भयो भन्ने अर्को पक्ष । देशलाई फाइदा भयो भन्नेहरु पनि त्यत्तिकै । कौडीको दाममा बेचियो भन्ने पनि त्यत्तिकै । दुवै पक्ष भएको एउटा पार्टी त फुटेर दुई टुक्रा नै भयो ।
कत्रो शक्ति महाकालीको ? कत्रो सामथ्र्य महाकालीको ? अर्थ पनि कति गम्भीर र गहिरो । यस्तो नाम कमाएको नदीलाई हेर्ने इच्छा थियो पहिलेदेखि नै । आफ्नै अञ्जुलीमा भरेर त्यसको स्वाद लिने इच्छा थियो । आफ्नै अनुहारमा छुवाएर त्यसको अनुभूति गर्ने इच्छा थियो । विना कामले जानलाई नजुर्ने ठाउँ यो । पुग्न सकिरहेको थिइँन धेरै समयदेखि । तर पुग्दो रहेछ चिताएपछि हृदयदेखि । जुरायो पनि भाषा साहित्यकै माध्यमले । साइत बनेको थियो उनासीको दोस्रो हप्तामा । माध्यम बनेका थिए साहित्यकार किशनसिंह धामी । किशन–तारा फाउण्डेशनले आयोजना गरेको दार्चुला बृहत् साहित्य कला महोत्सवमा ।
बाक्लो नहुँदैको बिहानको घाम थियो दार्चुलामा । हामी केही पुगेका थियौँ महाकाली नदीनिर । हामीलाई बताइरहेका थिए पद्म बडाल सर । महाकालीको इतिहास । महाकालीको दुःख । महाकालीले गरेको विनाश । हामीले टेकेको बालुवामा नै थियो रे तीस पैँतिसजति पक्कीघर । सत्तरीको बाढीले बगाइदिएछ नामनिशानै नरहने गरी ।
कति विध्वंँशकारी काम गरेछ महाकालीले । दुख्ने गरी निचोरियो मन । घटना पहिलेको भए पनि हेर्छु गहिरिएर महाकालीलाई । बगिरहेको छ कुनै वास्ता नगरेर । पक्कै होइन पानी त्यतिबेलाको । बगिरहेको छ नयाँ पानी क्षणक्षण । कल्पना गर्छु त्योबेला बगेको पानीको रौद्र रुप । कति बलियो थियो होला शक्ति ? कस्तो थियो होला आवाज पानीको ? अहिले त विचरा पानी ज्ञानी भएर बगिरहेको छ ।
फेरि खोज्छु त्यही पानीमा चवन्न सालको पानीलाई । पार्टी फुटाउने पानीलाई । आन्दोलन गराउने पानीलाई । असमानताको अलिकति दुःख पनि देखिँदैन । सन्धिको सुख पनि देखिँदैन पानीमा ।
आँखा फैलाएर फेरि हेर्छु टाढाटाढासम्म । दुई देशको सिमाना बनेको नदीलाई हेछु । नकराइकन बगिरहेको छ नदी । पारि भारतीय क्षेत्रमा तटवन्ध बनाउँदै रहेछ । ट्रकहरु ओहोरदोहर गरिरहेका छन् । स्काभेटरहरु बालुवा खोतल्दै छन् । वर्खामा बढेको पानीको खतराजति सबै हाम्रोतिर बनाँदै रहेछन् । अहिले नदी नबढेको बेलामा भने थोरै पानी हामीतिर । धेरै पानी उनीहरुतिर । त्यही भएर हाम्रोतिर घरछेउ भएर बग्छ महाकाली । उतातिर टाढाको बगर भएर बग्छ पानी ।
आखिर पानी पनि हाम्रै । पानीको स्रोत पनि हाम्रै । लिम्पियाधुरा हाम्रै । त्यहीँबाट बगेको काली नदी नै वास्तविक हो महाकाली । तर उनीहरु भ्रम छरिरहेका छन् । कालापानीमा कालीको मन्दिर बनाएका छन् । त्यही बग्ने खोल्सोलाई कालीनदी भनिरहेका छन् । नक्कली नदी बनाएका छन् । यो त चीन र भारत युद्धताका बनाएका बङ्करबाट निस्केको पानी हो । त्यही बङ्करबाट निस्किएको पानीको मूललाई जोडेर बनाएको सानो पोखरीलाई काली नदीको स्रोत भन्छन् उनीहरु । त्यही मुहानबाट बगेको खोल्सोलाई महाकाली भन्छन् उनीहरु ।
इतिहास जस्ताको तस्तै साक्षी छ । लिम्पियाधुराबाट बग्छ महाकाली । लिपुलेकभन्दा दस किलोमिटर तल छ कालापानी । यही क्षेत्रलाई नै भनिन्छ व्यास उपत्यका । व्यास ऋषिले तपस्या गरेको ठाउँ । सुगौली सन्धिमा पनि त्यही भनेको छ । काली नदी पश्चिमका जमिनमा नेपालको हक लाग्ने छैन । अर्थात् पूर्वतिर लाग्नेछ । यसबाट पूर्वका गुन्जी, नावी र कुटी गाउँ हाम्रै हुन् भन्ने पुष्टि गर्छ ।
झन् अहिले महाकालीमा नै बनाउन थालेपछि तटबन्ध, कुरा सिद्धिहाल्यो नि । घर बगाउने पनि हाम्रै । पार्टी फुटाउने पनि हाम्रै । क्षति व्यहोर्नु पर्ने पनि हाम्रैतिर । नमिल्ने कुरा हो यो अन्तर्राष्ट्रिय कानुनले पनि । छिमेकी हार्दिकताले पनि । तर भइरहेको छ सजिलै ।
महाकालीमाथिको पुललाई हेर्छु । चुपचाप सबैकुरा मात्र हेरिरहेको छ । हिजो पनि हेरिमात्र रहेको थियो । आज पनि त्यस्तै छ । मिच्न पनि कति सकेका होलान् पानी र माटो । हेप्न पनि कति सकेका होलान् । जुरुक्कै उठ्छ रिस । तर उनीहरुसँग भन्दा बढी रिस हाम्रै बेइमान नेताहरुसँग लाग्छ ।
हेर्छु फेरि माथितिर नै । हल्लिरहेको छ झोलुङ्गे पुल । वारि देश । पारि विदेश बनाएर । हामी दार्चुला । उनीहरु धार्चुला बनेर । दुवैतिर छन् अग्लाअग्ला चट्टानका पहाडहरु । हेरिहेका छन् दुवैले दुवैलाई । शताब्दीयौँदेखिका सेनाजस्ता दुई देशका । भेट कहिले नभएका तर सधैँ साउती गरिरहेकाजस्ता ।
हाम्रोतिर भर्खरभर्खर बन्नथालेकाजस्ता भवनहरु । बढ्दै गइरहेकोजस्तो विकास । उतातिर पहिलेकै अग्लाअग्ला भवनहरु । उताका घर बजारले यताकालाई जिस्काइरहेजस्ता । नजिस्काओस् पनि कसरी ? उताकाहरु हेपिरहने र पेलिरहने । हाम्राहरु सहने र स्वीकार्नेलाई नै उपलब्धि ठान्ने । दुर्भाग्य देशको भन्दा हामी देशवासीको बनेको छ । छुट्टिने गरेर देखिन्छ विकास र अविकास । उनीहरुका देखिने काम । हाम्रोतिर नदेखिने बेइमानी ।
आवाज आउन थाल्छ आकाशमा । हेर्छु फर्केर आकाशतिर । दुईवटा हेलिकप्टर वरिपरि घुमिरहेका छन् एकनासले । सीमा सुरक्षाका लागि गस्ती गरिरहेका रे । अर्काको माटो मिच्न अप्ठेरो नमान्ने । पानी तान्न लाज नमान्ने । आफ्नो माटोमा भने कति चासो लिइरहेका हुन् ?नजिकैै पर्दोरहेछ सिमाना चीनको । लगाइरहँदा रहेछन् चक्कर यसरी नै हेलिकप्टरले बेलाबेलामा ।
महाकाली नदीमा बगिरहने पानी फरकफरक हुन् । देखिएको पानी एकैछिनमा कहाँ पुग्छ पुग्छ । कुर्दैन कसैलाई केही गरे पनि । भए पनि महाकाली नै बनेको छ साक्षी हिजोको र आजको पनि । घटनाको पनि र दुर्घटनाको पनि । हाम्रो निरीहता देखिरहने पनि महाकाली नै हो तर पनि बोल्दैन केही । मात्र बगिरहन्छ चुपचाप । विचरा ढुङ्गाजस्तो । विचरा देवताजस्तो पनि । हृदय नहुने रोबोटजस्तो पनि । मात्र हेरिहन्छ, तुइनमा झुण्डेर पार गरिरहेका बालबालिका । डराउँदै गरेका बुढाबूढीहरु । तार काटिदिने निर्मोही प्रहरी । खसेर आफैंमा हराएका जीवनहरु । अन्याय गरेर बाँडिएका भागवण्डा ।
महाकालीको तिरैमा छ खलङ्गाको खुलामञ्च । बिचमा ठूलो चउर छ । वरिपरि रङ्गशालाकाजस्तै बस्ने ठाउँ छन् । अगाडिपट्टि बनाइएको ठूलो मञ्च छ । त्यसको केही अगाडितिर पाल टाँगेर बस्ने कुर्सीहरु राखिएका छन् । वरिपरि सुन्न सकिने गरी चारैतिर माइक राखिएका छन् । खुलामञ्च र वरपर ध्वजापताकाले सिङ्गारिएका छन् । मञ्चमा बोलिएको आवाज टाढाटाढासम्म सुनिएको छ ।
कार्यक्रम सुरु भएपछि बोल्नेहरुले गरे औपचारिक भाषण । भाषा साहित्यका कुरा गरे । राष्ट्र्यिताका कुरा गरे । भाषासाहित्य र कलाको पहिलोपटक यति भव्य महोत्सव भएको भने । तारा–किशन फाउण्डेशनको गर्नु तारिफ गरे । मियो बनेका साहित्यकार किशनसिँह धामीको खुलेर प्रशंसा गरे । नहोस् पनि कसरी ? बस्नुहुन्छ अमेरिकामा । सत्र अठार घण्टा समुद्र नै पार गर्नुपर्छ हवाइजहाजबाट । भएर पनि जोडेका छन् राजधानी र दार्चुलालाई । सम्झेर सम्मान गरेका छन् आफ्नो जन्मभूमिलाई । ल्याएका छन् दुई दर्जन साहित्यकार काठमाडौँबाट नै ।
सुविधाकै ठाउँमा पनि कार्यक्रम गर्न सजिलो हुदैन् । विदेशमा बसेर स्वदेशको यति टाढाको ठाउँमा कार्यक्रम गर्नु सानो चुनौति होइन । उद्धेश्य त पूरा गरेका छन् । तर कति होलान् समस्याका अनुभव । समन्वयका अनुभव । कति होलान् स्रोत जुटाउन परेको समस्या । दुःखका पनि होलान् कति कथा । होलान् कति कति गुनासाहरु पनि । तर पटक्कै देखाएका छैनन् अलिकति पनि । सधैँ हाँसेर गरिरहेका छन् काम नगरिकन एकैछिन पनि आराम । साकार पारिरहेका छन् आफ्नो सपना ।
कमाएका पनि छन् श्रीपेचजस्तै कमाइ जिन्दगीको । खर्च नहुने कमाइ हो यो उनको । जीवनभरि मात्र होइन नभएपछि पनि यो धर्तीमा । बाँचिरहने काम भएको छ यो । खलङ्गा र दार्चुलाका लागि त हुनसम्मकै भएको छ । बनेको छ एउटा इतिहास नै । साक्षी बनेका छन् दर्जनौँ स्रष्टाहरु । स्थानीय पदाधिकारीहरु र हजारौँका उपस्थिति । सबैभन्दा ठूलो साक्षी त महाकाली नै बनेको छ । नबिर्सोस् कहिले पनि । बगेर जहाँ पुगे पनि महाकालीको पानी ।
गर्मी चर्कै थियो जेठ महिनाको । मञ्चमा वाचन भए ठूलो आवाजमा कविताहरु । सबैभन्दा बढी स्वर राष्ट्रियताकै थियो । आक्रोश थियो माटो मिच्नेहरुसँग । पानी लैजानेहरुसँग । बज्थ्यो जोडदारको ताली बेलाबेलामा । शीतल हुन्थ्यो एकैछिन भए पनि मन । एकनासले ताली बजिरहँदा म बजाउनेहरुको हातको जोश हेर्थेँ । अनुहारको भाव हेर्थेँ । कार्यक्रमका लागि आएका अपार भीडलाई हेर्थेँ । विद्यार्थी, युवा, बूढाबूढीहरु त छँदैछन् । भारी बोकिरहनेहरु पनि छन् । बच्चा बोकिरहनेहरु पनि छन् । चाउरिएका गालामा पसिना पुस्दै ताली बजाइहनेहरु पनि छन् ।
भनिएको त्यत्तिकै होइन सुदूरपश्चिमलाई सुन्दर पश्चिम । राजधानीबाट टाढा भएकोले भनिएको होला सुदूर । बाटो बनिसकेपछि अब टाढा छैन दार्चुला । मन हुनेका लागि, काम हुनेका लागि पनि होइन सुदूर ।गाउँगाउँबाट आएका छन् सांस्कृतिक टोलीहरु । त्यो पनि पचास साठीजनासम्मको । एकनासका छन् बेशभूषा । एकनासले बजाइरहेका छन् बाजागाजा । गाइरहेका छन् एउटै लयमा गीत । एउटै लयमा नाच्दै गइरहेका छन् मञ्च अगाडिबाट । कोही हलिया नृत्यमा, कोही गौरा नृत्यमा । कोही देउडा नृत्यमा । कोही सरुउँ नृत्यमा ।
हुनसम्मको रमाइलो पनि । हुनसम्मको राम्रो पनि । हुनसम्मको सुन्दर भूगोल । गौरव लाग्ने हाम्रा संस्कृति । क्याबात छ दार्चुला । क्याबात छ खलङ्गा । क्याबात छ किशनजी । क्याबात छ तारा–किशन फाउण्डेशन ।






