
काठमाडौं। ‘मौलाशोभा राई आमा सम्मान’ धरानका प्रमुख हर्क सामपाङकी माता जसमाया राईलाई प्रदान गरिने भएको छ ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान आयोजक समितिका संयोजक डा.सुकराज राईले उक्त सम्मानको घोषणा गरे ।
केपिलास गढी-२ खोटाङ,हाल धरान बस्ने राईलाई रु.५००००। नगदराशी सहित उक्त सम्मान एक समारोहबीच प्रदान गरिने उनले बताए । नेपाली राजनीति र समाजसेवा,श्रमअभियान,विकास र सुशासन अभियानमा हर्क साम्पाङले गरेको योगदान स्वरुप उनकी आमालाई सम्मानित गर्न लागिएको पनि उनले बताए ।
गत वर्षदेखि प्रदान गरिदै आएको उक्त सम्मान अनलाइन अभिलेख प्रा.लि.का संस्थापक मौलाशोभा राईका सुपुत्र साहित्यकार डा.पुरण राईले उक्त सम्मानको स्थापना गरेका हुन् ।

डा.पुरण राईको जन्म दिनको अवसर पारेर सम्मान घोषणा गरिएको हो ।
साहित्यकार टंक भट्टराईको सञ्चालनमा भएको उक्त कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले शुभकामना मन्तव्य व्यक्त गर्दै भने- ‘समयले समाजलाई विकृत गराउँदै लगेको यो बेला म धेरै कुराको साक्षी छु छोराले बुढीआमालाई औषधी र खाना खान नदिएको देखेको छु । तर मरेपछि ढवाँङ रचेर दान गर्ने प्रचलन छ । यो राम्रो होइन डा.पुरणले नदीको तल बग्ने ठूलो बेगको पानीको धार जस्तो प्रचार गर्न नचाहाने साँच्चै आमाप्रति सम्मान गरेका छन् ।मरेपछि होइन जीउँदै आफ्ना बुबा आमाको सम्मान गर्नुपर्छ भन्ने सकारात्मक भावनाको सदा प्रशंसा गर्दछु ।’
अर्का बक्ता प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले डा पुरण राईले साँच्चै अनुकरणीय कार्य गरेको बताए ।
यसैगरी डा. विष्णु राईले जिवित हुँदै सम्मान गर्ने परिपाटी थालनी गर्ने डा. राईलाई बधाई दिए ।
सम्पदा लिम्बुले कुनैपनि व्यक्तित्वमाथि उठ्न आमाको अहं भूमिका रहने बताउँदै आमाको ओझेलमा परेको योगदानको सम्मान जिवित हुँदै गर्ने कार्यको उच्च प्रशंसा गरिन् ।
डा.पुरण राईले सम्मान स्थापनाको बारेमा बोल्दै उपस्थित सबैलाई धन्यवाद दिए ।
सम्मान चयन समितिमा डा.सुकराज राईको संयोजकत्वमा टंक भट्टराई , सम्पदा सुब्बा,योगेन्द्र राई,डिल्लिरमण सुवेदी सदस्य रहेका छन् ।
गत वर्ष यो सम्मानबाट नेपाली साहित्यमा दीपा राई पुनले पुर्याएको योगदानस्वरूप उनकी आमा विमला साङपाङ राईलाई यो सम्मान अर्पण गरिएको थियो ।





