
काठमाडौं ।दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा एक विशेष समारोहका बिच युवा साहित्यकार डा. रमेश शुभेच्छुलाई नागार्जुन बाङ्मय जदौ पुरस्कार २०७२ प्रमुख अतिथि प्राज्ञ डा. तुलसी भट्टराईले समर्पण गरे ।
पुरस्कारको राशी नगद पन्ध्र हजार पन्ध्र रुपैयाँ रहेको छ ।
नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता भएको कार्यक्रममा साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउन खेलेको भूमिका उल्लेख्य रहेकोले उनलाई पुरस्कृत प्रतिभाका रुपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताए ।
भट्टराईले प्रमुख अतिथिका रुपमा समारोहलाई सम्बोधन गर्दै शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको कामको कदर भएको बताए ।
कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालका कविताबारे र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गरे ।
डा. मञ्जनले दाहालका केही निबन्ध निबन्ध कलाका दृष्टिले कमजोर भए पनि विचारका दृष्टिले अग्रगामी भएको बताए । डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा. रमेश शुभेच्छुको परिचय दिए ।
कार्यक्रममा प्राज्ञ अगिव वनेपाली, पत्रकार यशोदा अधिकारी, पुरस्कार अक्षयकोश संस्थापक सुधा दाहाल, साहित्यकार महेश प्रसाईं, साहित्यिक पत्रकार रामप्रसाद पन्तलगायतले दाहालका जीवनी व्यक्तित्व र कृतित्वको परिचय दिए ।
सम्मानित प्रतिभा डा. रमेश शुभेच्छुले भने-‘म आज दाहाललाई बाल्यकालमा रेडियोमा सुनेदेखि, काठमाडौँमा भेटेदेखि, नागार्जुन प्रतिष्ठानको सहकार्यदेखि, कीर्तिपुरको विद्यार्थी छँदा गणतन्त्र पक्षधर कविता आन्दोलनमा उहाँलाई खगेन्द्र संग्रौलालाई वैरागी काइँलालाई, हरिगोविन्द लुइटेललाई अतिथि बनाएर विचारहरु सुनेदेखि, उहाँकै घर दाहालको दैलोमा स्रष्टाहरुको लोकतान्त्रिक मोर्चा गठन र यसको विस्तारका दिन पनि सम्झन्छु । उहाँ एक विशिष्ट सञ्चारकर्मी, शिक्षासेवी, साहित्यकार र समाज परिवर्तनका संवाहक अभियन्ता हुनुहुन्थ्यो । उहाँको मूल कृतित्व सिर्जनामा तीन वटा कृतिमा आए पनि उहाँको समाज र साहित्य विश्लेष्ण र उहाँको दृष्टिकोण रेडियो नेपाल, एच बी.सी एफ एम र रेडियो अन्नपूर्णमा प्रसारित कार्यक्रका आवाजमा छ । उहाँका नाममा आरम्भ भएको पुरस्कार पहिलो पटक थाप्ता मलाई खुसी लागेको छ।’
समारोहमा देवु लुइटेलले दाहालका छ वटा कविता प्रस्तुत गरे । कवि रत्ननिधि रेग्मी शुक्राचार्य, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गरे ।
कार्यक्रममा समीक्षकद्धय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सम्मान गरिएको थियो ।




