
नियात्रा
पातोङ तटको सूर्यास्त
विष्णुप्रसाद शर्मा पराजुली
वि.सं. २०८० फागुन ८ गते बिहान चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल ड्राइभमा प्रयोग गर्ने जस्तै बेन्चसिट भएको मोटर क्लिफ रिसोर्टअगाडि उभियो । सोही मोटरले अन्य पर्यटकलाई हाम्रै राजधानीका मिनिबसमाझैँ कोचाकोच गर्यो । अनि, फोर आइल्याण्ड जानको लागि सानो नान आन पियर डुङ्गा स्टेसनमा पुर्यायो । हामीले त्यहाँ नाम लेखायौँ । चिया, कफी, बिस्कुट खायौँ । हामी नेपाली छ र चार जना मलेसियन परिवार लङ् टेल बोटमा चढ्यौँ ।
चार टापु अर्थात् फोर आइल्याण्ड क्राबीको समुद्री यात्राको मुख्य गन्तव्यमा पर्दोरहेछ । त्यो विशाल समुद्र अण्डामन हो । हामी थाइल्याण्डको दक्षिणमा समुद्र तटमा रहेको सहरबाट अण्डामन समुद्रमा मोटरजडित काठको डुङ्गामा चढ्यौँ । त्यस दिनको कार्यक्रम अण्डामन समुद्री तटमा रहेका आकर्षक समुद्री टापु हेर्ने, समुद्री तटमा पौडी खेल्ने, सफा बालुवामा सुत्ने, समुद्री छालको झोक्का अनुभव गर्नु थियो । त्यो तट सङ्लो निलो फटिकजस्तो पानी सहित समुद्रको बीचबाट पौडी खेलेर सास फेर्न उभिएका जस्ता देखिने सुन्दर हरिया टापुले सजाईएको थियो । ती टापुलाई आफ्नो समुद्री छालले चुम्बन गर्दै ओहोर–दोहोर गर्दा सुन्दर, शान्त, मनोरम नेपालमा नपाईने समुद्री तट (Beach) बनेका थिए । ती तटसँगै कलाकारले कुँदेको जस्तो देखिने चुनढुङ्गाबाट निर्मित टापुले विशाल समुद्रको छाललाई एकनासले हेरिरहेका थिए ।
टापुको अन्तरकुन्तर हेर्दा हलेसीको झल्को आईहाल्थ्यो । नेपालमा भएको भए ती आकृतिको न्वारान गरेर देवीदेवताको नाम राखेर पूजा अवश्य गरिन्थ्यो । सनातनी, शाक्त, शैव, वैष्णव, बौद्ध र तान्त्रिक देवीदेवताका नाममा फूलअक्षता चढाइन्थे । कल्पनामा डुबुल्की नमार्दै, त्यहाँ हात्तीको सुँड आकार देखापरेको ठाउँमा पूजा गरेको देखियो । जे होस्, समुद्री दृश्यले हिमालय पर्वतका बासिन्दालाई समुद्री संसारको फरक स्वाद लिन झक्झकाउँथे ।
दृश्यावलोकन कार्यतालिकामा परेका आकर्षक चार समुद्री टापु को पोडा, चिकन टापु, को टब र को मोर हुन् । ती चुनढुङ्गाका टापु समूहले अण्डामनको निलो पानीको बीचमा उभिएर मानवीय गतिविधि नियालेका थिए । प्रकृतिले त तिनलाई कोपरेर सानो बनाएको थियो नै त्यसमाथि मानिसले पनि कोतर्दै थिए । तिनको तटमा विराजमान सेतो सफा बालुवा, निलो, सङ्लो, बुल्बुलाउने पानी, उष्ण कटिबन्धीय र रङ्गीन माछा, समुद्री छाल र जीवजन्तु हेर्न मानिस लोभिएर चीन, अष्ट्रेलिया र नेपालदेखि पर्यटक त्यहाँ पुगेका थिए । लामो पुच्छर भएको डुङ्गा, मोटरबोट अधिक देखिन्थे भने फेरी एकाध मात्र थिए । त्यहाँको आकर्षण भनेको समुद्री किनारमा टापुकै रूपमा सुलुत्त भित्र छिरेको जमिनको धर्सो नै रहेछ । त्यस धर्सोवरपरको समुद्रमा रहेको हरियालीसहितका विभिन्न आकारका चित्ताकर्षक चुनढुङ्गे स–साना चट्टाने टापु, टापुको फेदमा रहेको टाढाबाट मानवलाई हौस्याउँदै आउने समुद्री छाल, समुद्री तट र बालुवा नै हो ।
नुनिलो पानी भएको समुद्री तटवरपर अर्ध–नग्नअवस्थामा समुद्रमा माछाझैँ तैरिने, डुबुल्की मार्ने, छालसँगै हुत्तिने, पौडिने अनि बालुवामा पल्टेर घाम ताप्ने, बालुवामा हिँड्ने जस्ता मनोरञ्जनात्मक क्रियाकलाप गर्न पर्यटक त्यहाँ पुग्दा रहेछन् । टापु चढ्न इच्छुक पर्यटकलाई डोरीको व्यवस्था गरिएको थियो । हामीलाई पनि ती द्विपहरू देखाउँदै को टब र को मोरनजिक उतारे । डुङ्गाबाट उत्रँदा घुँडाभन्दा माथि भिज्यौँ । चुनढुङगा टापुको बलौटे किनार हुँदै पाँच मिनेट हिँडेर समुद्र तटमा पुग्यौँ । त्यस टापुमा समुद्री छाल र वर्षाको पानीले खियाउँदा बनेका नेपालको मुस्ताङ र तिब्बतमा गुगेको माटोको जङ्गलमा देखिने जस्ता आकृति देखिएका थिए । त्यो सौन्दर्यको स्वाद नेपाल र तिब्बतकोभन्दा फरक थियो ।
महिलापुरुष पर्यटक पौडी खेलिरहेका थिए । आफूले लगेका चकटी, गुन्द्री बालुवामा ओछ्याएर घाममा आफुलाई सेकाएका थिए । हाम्रोमा बोटे बाहेक अरूले पौडी खेल्ने चलन त आजकल ठूला सहरमा न आएको हो । त्यसैले लाज लाग्छ । लाज ढाक्न हामी तीन परिवार तीनतिर बाडियौँ । पौडी खेल्न जानेको भए पो खेल्नु, समुद्रमा डुबुल्की मा¥यौँ । छचल्किँदै आएको समुद्रको छालले जब हुत्याउँछ त्यस बेला डरसहितको रमाइलो हुन्छ । त्रिशुली, सुनकोशी, काली गण्डकीमा र्याफटिङ गर्दा मन्द बहावमा रमाइलो हुँदैन तर जब छालले हुत्याउँछ त्यस बेला डर मिश्रित आनन्द आउँछ । समुद्रमा मडारिँदै आएको छालले धकेल्दै हुत्याउँदा त्यस्तै कुतकुत्याउने रमाइलो हुँदोरहेछ । नदी र समुद्री ती दुवै छाल कहिलेकाहीँ खतरा हुन्छन् । समुद्री तटमा पौडिएको त्यो मेरो दोस्रो अनुभव थियो । दक्षिण फ्रान्सको मेडिटेरियन समुद्री तटमा छोटो अनुभव गरेको थिएँ ।
तीस मिनेट सकिएको पत्तै भएन । फर्केर हरियाली र चट्टानसहितको टापु नजिक गयौँ । त्यसको फेद ठुलो तर घाँटीनजिक साँघुरिएर पुनः फराकिलो भएर टुङ्गिएको छ । हाम्रो डुङ्गा त्यहीँ रोकियो । पोखराबाट होइन, घान्द्रुक र मर्दी हिमालतिरबाट माछापुच्छ्रे हिमाल साँच्चिकै माछाको पुच्छर जस्तै देखिन्छ । हाम्रो हिमाललाई माछापुच्छ भने झैँ त्यो टापुको आकारको आधारमा चिकन आइल्याण्ड भनि न्वारन गरेका रहेछन् । त्यहाँ लक्ष्मण, कुशल र मलेसियन पर्यटकले स्नोरकेलिङ (चस्मा र मुखमा पाइप राखेर पौडिने) गरे । म भने त्यसमा अनुभव र पौडीन नजानेकोले डराएर गइनँ । त्यसरी पौडिदा तल्लो भागमा रहेका माछा र वनस्पति देख्न सकिन्छ ।
त्यसपछि को मोर तटमा गयौँ । त्यो तट अन्यभन्दा सुन्दर रहेछ । त्यहाँको पानी निलो थियो । कतै हरियो, कतै निलो, कतै सेतो हिराजस्तो देखिने । बालुवा पनि त्यस्तै सफा । पर्यटकको भिड उत्तिकै बाक्लो । त्यसले भने मोहनी लगायो । सुशीला र मैले पनि सेतो बालुवाको तट, सफा पानी र टाढाटाढा अझ धेरै टाढा सुदूर किनारसम्म फैलिएको अण्डामन समुद्रको छालको छल्कोको मसाजको आनन्द लियौँ पश्चिमाले झैँ । लक्ष्मण र कान्छी भाउजू एकातिर र छोराबुहारी अर्कोतिर थिए । हामी नेपाली र थाई पनि अलि लाज मान्ने जातिमा पर्छौँ । त्यो हाम्रो संस्कार र संस्कृति हो । त्यसको गहन महत्व हुन्छ ।
थाइल्याण्डमा धेरै नामहरू राम, इन्द्र, अरुण, गणेश, बुद्धसँग मिल्ने भएकोले पनि हामीलाई चुम्बकले झैँ तान्यो । त्यहाँबाट देखिने सूर्यास्तको मनमोहक दृश्यको कल्पनामात्र गरेँ । त्यहाँबाट पोडा टापुमा गयौँ । सानो चौरसहितको त्यो टापुवरपरको तटमा पनि पर्यटकको उत्तिकै भिड थियो । समुद्री यात्रा गरी सोही डुङ्गाबाट फक्यौँ । फर्कँदा हामीलाई लिन सानो बस नै आएको थियो । हामी ओ नाङको क्लिफ रिसोर्ट फक्र्यौँँ । कोठाभित्र छिर्ने बेला कोइलीको मधुर स्वरले स्वागत ग¥यो, सिस्ने हिमालजस्तो हिमहीन सानो पहाड मुसुक्क मुस्कायो । हामी बसेको ओ नाङ सहर ३८ मिटरको उचाइमा रहेको छ ।
ओ नाङ सानो सहर भएकाले होला छिटै नजिकिएछु । भोलिपल्ट बिहान ओ नाङ समुद्री तटमा पुगेँ । जुत्ता हातमा लिएर समुद्रको बलौटे किनारमा रहर पुग्नेगरी हिँडे । त्यो छोटो तट भएकाले एक किनारदेखि अर्को किनारसम्म पुग्न सकिन्थ्यो । पूर्वी छेउमा पुगेपछि द्वीपको किनारमा काठको सिँढी बनाएको सानो बाटो देखेँ । के रहेछ, कस्तो रहेछ भनेर चढ्दै गएँ । भ¥याङ राखेर सानो पहाड उक्लन सिँढी बनाएको रहेछ । करिब पन्ध्र मिनेट हिँडेपछि अर्को पाइ प्लोङ तटमा पुगिँदोरहेछ । पछि थाहा पाएँ करिब एक किलोमिटर लामो त्यो पदमार्ग प्रख्यात मङ्की ट्रेल रहेछ । नाम अनुसार बाँदर पनि देखिएका थिए ।
यात्राको चौथो दिन हामी क्राबीबाट सानो तर अत्यन्त आरामदायी बसमा यात्रा ग¥यौँ । थाइल्याण्डका ट्राभल अपरेटरले युरोपमा झैँ समयको ख्याल गर्दा रहेछन् । हामीलाई दिएको यात्रा कार्यक्रममा कतै पनि एक मिनेट फरक परेन । त्यसबाट नेपाली पर्यटन व्यवसायीले पनि सिक्नुपर्छ । बाटोमा नरिवल, सुपारी, खजुर, उष्ण प्रदेशीय वनको अवलोकन गर्दै तीन घण्टामा क्राबीबाट थाइल्याण्डको दक्षिण क्षेत्रमा रहेको सबैभन्दा ठुलो द्वीप फुकेटको पातोङ सहर पुग्यौँ । फुकेट रावाई, पातोङ, कारोन, कमलाजस्ता समुद्री तट, सफा, सुन्दर, आकर्षक द्वीप भएको तटीय पर्यटकीय क्षेत्र हो ।
चार सय भाट तिरेर एक साताका लागि अनलिमिटेट नेट र फोन चल्ने सिमकार्ड लिएका थियौँ । त्यसैले आफ्नो इच्छाअनुसारको ठाउँ, मन्दिर, समुद्री तट, बार, सेभेन इलेभन पसल, रेष्टुराँ, सटही काउन्टर, मन्दिर, भीमकाय पसल खोज्न सहज हुन्थ्यो । साथीहरू बजार खण्डतिर लाग्नुभयो । हामी बुढाबुढी समुद्री किनारतिर ।
बाटोमा जाँदै गर्दा काठमाडौँको कालीमाटी जस्तै तर तरकारीको नभई खानाको विशाल बजार देखियो । स–साना स्टलमा विभिन्न प्रकारका खाना पाकेका थिए, फलपूmल र तरकारी, माछा, बियर, नरीवलआदिका पसल थिए । मानिस खचाखच थिए । त्यस बेला अपराह्न चार बजेको थियो । हामी रगमगियौँ । गर्मी चौपट्टै थियो । पर्यटक न भयौँ नरिवल किन्यौँ र खाँदै हिड्यौँ । हामीले नरिवलको पानी पिएर फ्वात्त फाल्छौँ नेपालमा तर त्यहाँ नरिवलसँगै भित्रको सेतो भाग खानको लागि सानो चम्चा नै दिँदा रहेछन् । त्यो कलिलो सेतो भाग बिस्तारै निकाल्दै खाँदा झन् शीतल, मिठो र तागतिलो हुँदो रहेछ । प्यास पनि मेटिने र पेट पनि भरिने । पसल, होटल, रिसोर्ट, मोटरको आवतजावत, पर्यटकको ओहोरदोहोर हेर्दाहेर्दै अण्डामन समुद्रको पातोङ तटमा पुग्यौँ ।
त्यस तटमा सी सर्फिङ, सेलिङ, सि ग्लाइडिङ्, सि बाइकिङ, मोटर बोट, लङ्टेल बोट, पौडी, बालुवामा सुत्ने, योग गर्ने, बालुमामा हिँड्ने, अण्डामन समुद्रको विशाल भाग र उर्लँदो छाल हेर्दै वियर, नरिवल पानी पिउने; माछा, थाइ खाना खाने, बस्ने, बालुवामा लडीबुडी गर्ने, एकअर्कोलाई चुम्बन गर्ने पर्यटकको भिड खचाखच थियो । कोही सानो जाँगे र छातीको सानो भाग ढाकेर सुतेका थिए । उनीहरूको छाला डढेर कालो भएको थियो । समुद्रमा डुब्दै, सनक्रिम दल्दै, बालुवामा पल्टँदै, खाँदै, पिउँदै रमाउनेको सङ्ख्या अधिक थियो । ती पश्चिमा थिए । युरोपमा अत्यधिक चिसो हुने हुँदा चर्को घामको स्वाद लिन ती नाङ्गै बालुवामा लम्पसार पर्छन् । तिनले दुःख र मोज गर्न जानेका छन् । यहाँको रात्रीकालीन जीवन विश्वविख्यात रहेछ । समुद्रको अग्र भागमा ठुला, साना, सस्ता र महँगा रिसोर्ट, रेस्टुराँ, बार, क्लब र सपिङ मल रहेका छन् । रात्रीकालीन रङ्गीन बत्तीले सहर झन बैँसालु र कामुक हुँदोरहेछ । हाम्रो दुई दिनको कार्यक्रम पातोङवरपर र समुद्री टापु अवलोकनमा केन्द्रित थियो ।
पातोङवरपर शिवालिक आकारका पहाड छन् । ती समुद्र सतहबाट उठेर सय मिटर जति अग्लिएका छन् । त्यहाँ आरामदायी रिसोर्ट छन् । तटमा पर्यटक हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए । शरीरमा मष्टो देवताको पूजामा चढाउने जत्रा एक अङ्गुलका धजाले मुख्य अङ्ग ढाकेर जिस्किँदै, हौसिँदै, पौडिँदै, लडीबुडी खेल्दै तस्वीर लिइरहेका थिए । नेपाली पर्यटकलाई त्यति विधि हौसिन सायद पारिवारिक संस्कार र संस्कृति तगारो बन्छ क्यार ? सम्भवत्, आजकल विदेशमा बस्ने युवायुवतीले त्यस प्रकारको संस्कृति पनि आफुमा भित्र्याएका होलान् ।
अरूले गरेको रमाइलो हेर्दाहेर्दै घाम पहेँलिन थालेछ । तटमा बसेर अण्डामन समुद्रमा भएको सूर्यास्तको मनोरम दृश्य हेर्ने मेरो धोकोचाहिँ मज्जैले पूरा गरेँ । पातोङ तटदेखि पश्चिममा पचास मिटरको उचाइमा सानो टापु छ । थाकेको भरियाले पीपलको चौपारीमा भारी बिसाए झैँ गरी दिनभरको यात्राले थकित भई पहेँलिएको सूर्य त्यहीँ टापुको शिरमा थपक्क बस्यो । पहेँलिएको किरणले समुद्री छाल सुनौलो बनेर बयली खेल्दै मेरो घुँडासम्म आई चुम्बनको वर्षा गरेर फेरि उतै फर्के । मैले बग्दै छालतिर फर्कँदै गरेको बालुवाको छाल, तीसँगै बालुवामा छट्पटाएका जेली नामका माछा हेर्दै जीवनको परिभाषा बुझ्न खोजेँ । छालसँगै किनारमा उभिएका हामी, डुङ्गा र आकाशसँगै सुनौलो किरणले स्नान ग¥यौँ ।
छालसँगै तैरिरहेको ठुलो लामपुच्छ«े डुङ्गा पहेँलो किरणसँगै ढलपलाइरहेको थियो, रुस र युक्रेनको युद्धमा लडिरहेका दाजुभाइको जीवन ढलपलाए झैँ । टापुमा विश्राम गरेको सूर्य बिदा भए । सूर्यको पहेँलोपन सूर्यास्तको बेला गाढा रातो भयो । त्यस्तो बेला हाम्रा हिमाल रातो आगोको डल्लोमा परिणत भए जस्ता देखिन्छ । सूर्यको किरण क्षणभरमा नै मधुरो हुँदै विलीन भयो अण्डामनको पातोङ तटमा । गोधूलि साँझलाई सहरका बत्तीले प्रतिस्थापित गरे । हामी समयका दास न हौँ । समयले भनेको मान्नैपर्छ । गोधूलि साँझको उज्यालोमा डुङ्गाको लामो पुच्छरले मलाई एक टकले हेरिरह्यो । छालसँगै ‘फेरि भेटौँला’ भन्ने मधुरो आवाज मेरो कानमा आएर ठोकियो ।
बैङ्ककमा झैँ पातोङमा पनि नेपालीको समूह ठुलै रहेछ । ती नेपाली बर्माबाट थाइल्याण्ड छिरेका नेपाली भाषी बर्मेली नागरिक रहेछन् । असाध्यै मिठो लवजमा नेपाली बोल्ने । त्यस्तै झर्रो शब्दलाई लोकमा स्थापित गर्न तारानाथ शर्माको समूहले झर्रो नेपाली भाषाको अभियान छेडेका थिए । उनीहरूका मूल पुर्खा त नेपालबाट नै गएका थिए । धेरै जसो दोस्रो विश्वयुद्धको बेला त्यहाँ पुगेर त्यतै बसेका रहेछन् । जुन पेसा अवलम्बन गरे तापनि नेपालीसँग नै सकेसम्म आफ्नो जात, गोत्र मिलाएर बिहेबारी गरी पारिवारिक जीवन चलाएका रहेछन् । परम्परागत चाडपर्व सबै नेपाली मिलेर मनाउँदा रहेछन् । नेपाली समुदायको फुटेकमा सङ्घ र सनातनी मन्दिर पनि रहेछ शिव, काली, गणेशसहितको । म्यानमारमा भएको सैनिक हस्तक्षेपको कारण बर्मेली नेपालीहरू थाइल्याण्ड छिरेका रहेछन् । उनीहरूसँग बर्माको राहदानी भएकोले एक वर्षको भिसा पाउँदा रहेछन् । त्यहाँ भएका अधिकांश नेपाली भाषी बर्मेली व्यापारमा संलग्न छन् ।
थाइ बासिन्दा शान्त, मिलनसार, पारिवारिक कुराकानी गर्न मन पराउने, नेपालीले जस्तो सञ्चो–विसञ्चो, घरपरिवार, जागिर र कमाइबारे कुराकानी गर्ने, खानपिन मस्तसँग गर्नुपर्ने भएकोले थाइसँग मिल्न नेपालीलाई सजिलो रहेछ । किनमेल गर्दा भेटिएका सबैको आँखामा नेपाल र नेपालीपन देखिन्थ्यो । सबै रमाइला, हँसिला र फुर्तिला थिए । आफ्नो पुर्खाको थलो बर्मा छोड्नुपर्दाको विरहको बाक्लो पत्र भए तापनि त्यहाँ भएका बर्मेली नेपालीको अनुहार आधार शिविरबाट देखिने सुदूरपश्चिमको अपि हिमालको जस्तै हँसिलो र चहकिलो थियो ।







