
काठमाडौं।उपन्यासकार अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार राजधानीमा कलमका साथी साहित्यिक समूहको आयोजनामा उक्त अन्तरक्रिया भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले कोइरालाको उपन्यासमा नवीनता भेटिने बताउँदै यसमा म्याजिक रियालिज्म रहेको चर्चा गरे । प्रमुख अतिथि प्रा.डा.भट्टराईले कृतिमा समाजको जीवन चरित्र अभिव्यक्त भएको उल्लेख गरे ।
अन्तरक्रियामा समीक्षक सुधा शर्माले अनिताको उपन्यासमा स्वैरकल्पना र यथार्थको मिश्रण भेटिने बताइन् । उनले उपन्यासमा जीवनका यावत पक्ष भेटिने उल्लेख गरिन् । उपन्यासको स्वैरकल्पनाले पाठकलाई बेग्लै संसारमा विचरण गराउने उनको तर्क थियो ।
सोही उपन्यासमा शोधकार्य गर्दै गरेकी तारा आचार्यले कृतिले आफूलाई भित्रैसम्म छोएको बताइन् ।
उपन्यासको विविध पक्षहरूबारे प्रा.डा.कुमार कोइरालाले चर्चा गरे ।
उपन्यास लेखनी गर्भको बारेमा उपन्यासकार कोइरालाले बताइन्।
कार्यक्रममा गीता रेग्मी, शरद प्रधान, श्रीओम ‘रोदन’, भवानी खतिवडा, धीरेन्द्र प्रेमर्षि, भारती न्यौपाने, लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।






