
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले भानु साहित्य उद्यानको सहकार्यमा ‘भानु जयन्ती विशेष समारोह’को आयोजना गर्दै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती मनाएको छ ।
आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले समारोहको उद्घाटन गर्दै आदिकवि भानुभक्त आचार्य राष्ट्रिय विभूति भएको उल्लेख गरे । राष्ट्रपतिले आदिकविले नेपाली भाषा साहित्यमा गरेको योगदानको चर्चा गरे । राष्ट्रपति पौडेलले भने, “आदिकवि भानुभक्तको ठूलो प्राप्ति उनको रामायणको रचना हो ।”
राष्ट्रपति पौडलले भानुभक्तले शास्त्रीय भाषामा नलेखेर लोकको भाषामा कविता लेख्न थालेकोले उनी जनजनमा पुगेको उल्लेख गर्दै उनी सारा नेपालीका साझा कवि भएको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली भाषा साहित्यलाई जनजिब्रोसम्म पुर्याउने काम आदिकवि भानुभक्त आचार्यबाट भएको उल्लेख गरे ।
समारोहमा कवि वैरागी काइँलाले आदिकविको काव्यकारिता अभूतपूर्व भएको बताए ।
भानु साहित्य उद्यानका महासचिव प्राडा.व्रतराज आचार्यले भानु साहित्य उद्यान संस्था नभएर एउटा अभियान भएको उल्लेख गरे । राष्ट्रपति पौडेल स्वयम्को परिकल्पनामा अगाडि बढेको यो अभियानका लागि आवश्यक काम अघि बढिसकेको उनले बताए ।
कार्यक्रममा कविहरू डा. नवराज लम्साल, डा. रामप्रसाद ज्ञवाली, डा. विप्लव ढकाल, बाबा बस्नेत, सविता गौतम दाहाल, धीरेन्द्र प्रेमर्षि र स्नेह सायमीले कविता वाचन गरे भने देवु लुइँटेल र सविता बरालले आदिकवि लिखित कविता र रामायणका श्लोक वाचन गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्रपतिको परिकल्पना र अवधारणाअनुसारको कामलाई पूर्णता दिन प्रतिष्ठान लागिपरेको बताए ।

