काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि गरिँदै आएको कथावाचन कार्यक्रमको एक्काइसौं श्रृङ्खला मिति २०८२ असार २७ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
यो प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गरिने गरिएको छ ।
कार्यक्रमको प्रारम्भमा यस अभियानका परिकल्पनाकारद्वय मध्येका चन्द्रप्रसाद भट्टराईले कार्यक्रमको अहिलेसम्मको सफलतामा खुशी व्यक्त गर्दै यस श्रृङ्खलादेखि वाचन गरिएका कथाहरुमाथि समीक्षात्मक टिप्पणी गरिने जानकारी गराए ।
उनले कथा विधाप्रति आम पाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धान जस्ता कार्यहरू होउन् र समग्रमा नेपाली कथा विधाको विकास होस् भन्ने बृहत उद्देश्य लिई यो पुनर्जागरण अभियान शुरु गरिएको कुरा स्पष्ट पारे ।
बिगतमा झैँ कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर आरम्भ गरिएको कार्यक्रममा दिवंगत स्रष्टा श्यामराजाको ‘सुस्केरा’ शीर्षकको कथा वाचन गरियो । कथाकार इन्दिरा प्रसाईले ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष २ अङ्क ९ (विसं १९९३ आश्विन)मा प्रकाशित यो कथा सोही पत्रिकाबाट वाचन गरेपछि अन्य ४ जना प्रतिष्ठित कथाकारहरूले २०४० देखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा वाचन गरे ।
कार्यक्रममा कथाकार मधुवन पौडेलले आफ्नो कथा ’भीड, भाषण र खुल्ला मंच’ वाचन गरे । सो कथा ’रुपरेखा’ साहित्यिक पत्रिकाको २०४८ असोज–कात्तिक अङ्कमा प्रकाशित भई पछि उनको आफ्नै कथासङ्ग्रह ‘चपाएको दन्त्यकथा’ (२०५३) मा सङ्गृहीत छ ।
अर्का कथाकार उषा शेरचनले गरिमा मासिकको २०६७ असार अङ्कमा प्रकाशित ’अर्को क्षितिज’ शीर्षकको कथा सोही पत्रिकाबाट वाचन गरिन् । पछि सो कथा उनको आफ्नो कथासङ्ग्रह ’तेस्रो रङ्ग’ (२०७०) मा पुनः प्रकाशित भएको छ ।
कार्यक्रममा २०७० को दशकमा प्रकाशित दुइटा कथा प्रस्तुत गरिए । कथाकार साबित्री श्रेष्ठले ’फेरि बिग्रेकी केटी’ शीर्षकको कथा अक्षलोक पत्रिका अङ्क ५९, कथा विशेषाङ्क (२०७५) बाट वाचन गर्नु भयो । त्यस्तै, अर्का कथाकार रासाले ’तेस्रौ दैनिकी’ शीर्षकको कथा मासिक शाल्मलिको वर्ष ८ पूर्णाङ्क ७८ (मङ्सिर २०७७) बाट वाचन गरे ।
कथाहरुको वाचन कार्य सकिएपछि प्रा डा भरतकुमार भट्टराईले कथाकारद्वय मधुवन पौडेल र उषा शेरचनले प्रस्तुत गरेका कथाहरुमाथि गहन टिप्पणी गर्नुभयो । त्यस्तै, अर्का समीक्षक मोहन चापागाईंले कथाकारद्वय सावित्री श्रेष्ठ र रासाका कथाहरुमाथि टिप्पणी गरे ।
कार्यक्रमको अन्त्यमा यस अभियानका अर्का परिकल्पनाकार पुष्कर लोहनीले कथासाहित्यको विकासक्रमबारे संक्षिप्त चर्चा गर्दै आज स्मरण गरिेएका दिवंगत कथाकार श्यामराजाका बारेमा कैयौं अनुद्घाटित प्रसङ्गमा प्रकाश पारे ।
उनले भने “श्यामराजा को हुन् भन्ने बारेमा आज धेरैलाई थाहा छैन । उनी त्यस्ता व्यक्ति हुन् जसले नेपाली साहित्यका लागि आफ्नो सम्पत्ति दिए, लेखकहरुका लागि एउटा वातावरण बनाइदिए, स्वयं लेखक बने । वागदरबारका ती श्यामराजाले ऋद्धिबहादुर मल्ललाई आफ्नो प्रेस नै दिए । सिद्धिचरण श्रेष्ठले त्यहीँ काम पाए, र पछि प्रख्यात कवि भए, त्यहीँ कारिन्दा बसेका भवानी भिक्षु पछि प्रख्यात कथाकार भए । ”
उनले भने “त्यसबारेमा म केही अध्ययन गरिरहेको छु । आज वाचन गरिएको कथाभन्दा अघिका पनि उनका कथा छन् ।” अन्त्यमा उनले सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गरे ।
उपन्यासकार शुकदेव उपाध्यायले कार्यक्रम संचालन गरेका थिए ।
यो मासिक कार्यक्रम शुरुभएदेखि नै साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गरेको छ । २०७९ चैत वा सोअघि प्रकाशित आफ्ना कथा वाचन गर्न इच्छुक सबैले अग्रिममा नाम दर्ता गराउनु पर्ने व्यवस्था छ ।