पुराना पुस्तक
कृति: पराई विचार
विधा : लघुकथाहरु
कथाकार:सुमन सौरभ
लघुकथामा आफ्नो छुट्टै पहिचान बनाएका लेखक सुमन सौरभ । पराई विचारमा केही फरकपन दिन खोजेका कथाकारले मानिसका सम्बन्धका विभिन्न आयामहरु चर्चा गरेका छन् ।जसमा कलात्मकताको लेपनले सुन्दर बनेका लघुकथाहरु छन् । हामी र हाम्रो समाज,हाम्रा दैनिकीमा आएका मनोबैज्ञानिक समस्याहरु कथाहरुले उजागर गरेका छन् । मानव जीवनका वर्तमान अवयवहरुमा आएका विभिन्न सवाल सहित विकृति र विसङ्गति विरुद्ध लक्षित ३९ वटा विषयगत विविधताका लघुकथाहरु यस कृतिमा आएका छन् । कथामा मानवीय तिक्तता प्रचुरमात्रामा देखाइएका छन् । लेखकको आफ्नै शैली नै कथाका विशेषता लाग्छन् ।
पराई विचार तुलसीहरि कोइरालाको सम्पादनमा पहिलो पटक वि.सं.२०६५ सालमा प्रकाशित भएको हो ।
कृति: गौतमका केही प्रतिनिधि कथाहरु
विधा: कथासङ्ग्रह
कथाकार:ध्रुवचन्द्र गौतम
नविन शिल्पमा कथाहरु लेख्न रुचाउने कथाकार हुन् गौतम। समसामयिक सामाजिक पक्षहरुलाई नजिकबाट नियालेर कथा लेख्छन्। अनुभूति र संवेदनालाई पर्गेल्छन् र कथा लेख्छन्। उनका कथामा शिल्प कथ्य र कथनमा केही पृथकता पाउन सकिन्छ। वास्तविक कथ्यमा आधारित कथाहरु लेख्छन्। सामान्य कथानक टिपेर सुन्दर कथा सिर्जना गर्ने उनको कथाकारीताको विशेषता हो ।
यस कथाकृतिभित्र २१ थान विभिन्न शिर्षकका कथाहरु छन् । आयामको हिसावले मझ्यौला कथाहरु भेटिन्छन् । भाषाशैली सुन्दर,सुवोध्य छ ।
गौतमका केही प्रतिनिधि कथाहरुलाई राजेन्द्र सुवेदीले सम्पादन गरेका हुन् । यसलाई पहिलो पटक वि.सं.२०४४ मा साझा प्रकाशनले प्रकाशित गरेको हो ।
कृति :विकिरण
विधा :लघुकथा
कथाकार :डा.रविन्द्र समीर
आम मान्छेले भोगेका वर्तमान यथार्थलाई लघुकथामार्फत उजागर गर्न सफल छन् डा.समीर। सामाजिक,राजनीतिक,आर्थिक क्षेत्रमा देखापरेका विकृतिहरु विरुद्ध लक्षित भएर लेखिएका ८४ वटा लघुकथा समावेश छन् कृतिभित्र। यस्तै विकृति विरुद्ध कडा व्यँङ्ग्यचेतले भरिएका कथाहरु रहेका छन्। मानवीय पीडाका छनकहरु पनि कथामा छन् । नारीपीडा र तिनका मनोवृत्तिहरु,पराधिनताको पीडा,आर्थिक अभावको पीडा लगायतका विषयहरु पनि कथामा छन् ।
विकिरण लघुकथासङ्ग्रहलाई वि.सं.२०६३ सालमा शब्दघर प्रकाशनबाट पहिलो पटक प्रकाशित भएको हो ।