नुवाकोट । कथाकार उषा शेरचनको कथासंग्रह ‘बेग्लै म” को परिचर्चा सम्पन्न भएको छ ।
उक्त परिचर्चा कार्यक्रम साहित्य संगम नुवाकोट तथा महिला साहित्यकारहरुको समूह काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यक्रम विदुरमा भएको हो ।
साहित्यकार रञ्जना निरौलाले कथाकारको व्यक्तित्व र कथाकारीता चर्चा गर्दै नारी संवेदनाका उच्छवासहरु कथासंग्रहमा आएका बताइन् । उनले नेपाली समाजका महिलाका पीडा,व्यथाहरुलाई कथाहरुले उजागर गरेका छन् भन्दै कथाकार शेरचनले आफ्ना वरपरका सामाजिक परिवेशहरुमा देखे,भोगे र घटेका घट्नाहरु कथा मार्फत सार्वजनिक गर्न सफल भएको बताइन् ।यसैगरी अर्का साहित्यकार कुमारी लामाले कथाकार शेरचनको कथाकारिताका विविध आयामहरुको बारेमा प्रकाश पारिन् ।

साहित्यकारहरु सुमित्रा सुमी,रुपा थापा र रिता खत्रीले समेत उक्त कार्यक्रममा बोलेका थिए ।
उक्त कार्यक्रममा साहित्य संगम,नुवाकोटले कथाकार शेरचनलाई सम्मान गरेको थियो ।
कार्यक्रममा कविता बाचन समेत गरिएको थियो ।