
ललितपूर । उद्यमी तथा साहित्यकार बसन्त चौधरीद्वारा लिखित दुई काव्यकृति सार्वजनिक गरिएको छ ।
शनिबार ललितपुरमा उर्दु एकेडेमी नेपालले आयोजना गरेको ‘साम–ए–बसन्त’मा चौधरीका उर्दु र हिन्दी गजलकृति ‘ठहरे हुए लम्हे’ र ‘वक्त रुकता नहीं’ लोकार्पण गरियो ।
उर्दु र हिन्दी गजलसंग्रह ‘ठहरे हुए लम्हे’ बसन्त सागरका नामबाट प्रकाशित छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा साहित्यकार धीरेन्द्र प्रेमर्षिले कवि बसन्तको सिर्जनशीलताको चर्चा गरे । उनले बसन्तको लेखनको अभिष्ट हृदयको गहिराइ भएको उल्लेख गरे ।साथै उनले बसन्तको गजल बाचन समेत गरे ।
गजलकार तथा कवि बसन्तले सार्वजनिक कृतिबाट केही गजलवाचन गरे ।उनले आफ्ना रचना गर्भको बारेमा पनि बोले ।
उर्दु एकेडेमीका अध्यक्ष इम्तियाज वफाले गजलकार चौधरीको सोच उनका कवितामा उनिएको पाएको बताए ।
कार्यक्रममा कवि प्रकाश सायमीले ‘ठहरे हुए लम्हे’माथि र डा. धनेश द्विवेदीले ‘वक्त रुकता नहीं’माथि संक्षिप्त समीक्षात्मक मन्तव्य राखे ।
गजलमय बनेको उक्त कार्यक्रममा डा.सनतकुमार वस्ती, सकिना खान, अन्जुम, डा. द्विवेदी, सायमी र डा. श्वेता दिप्तीले विमोचित कृतिबाट गजलहरू वाचन गरे ।
कार्यक्रमको सञ्चालन श्वेता दिप्ती तथा अध्यक्षता उर्दु एकेडेमीका अध्यक्ष इम्तियाज वफाले गरेको उक्त कार्यक्रम गजलमय बनेको थियो ।






