अर्धाङ्गिनीको अनुरोध
रमा कादम्बरी
मेरो मनको प्रिय मान्छे !
कुँदेर छातीमा आशाका अशेष बिम्ब
बनेका छौं राष्ट्रसेवक
देशको अनन्य माली हौ तिमी
नरुचाउनू लालसाको गन्ध
स्वार्थी सपनाको पहाडले
थिच्नु हुँदैन् इमानको शिखर
नखोज्नु एक्लै रमाउन
तीन करोड मान्छेसँगै हाँस्नू
भोकै ननिदाउन् सुदूरका सुन्दर मनहरु
पसिनाको रंगले प्रदिप्त पार्नु धर्ती
माटो खेलेर माटोमा नै हुर्केका हामी
माटो नै फुलाउँला
माटोमा नै रमाउँला
कथित सुखको मोहले नगर्नु भ्रष्टाचार
भ्रष्टाचारले जलाउँछ देश
देश उजाडिएपछि बाँच्न लायक रहँदैन् बस्ती
बुद्धका सन्तान तिमी
बन्नू दधीचि
नबन्नू शकुनी
नडुब्नू सुनहरिणको मृगतृष्णामा
मेटिन नदिनू मनको क्यानभासमा पोतिएको
राष्ट्रियताको इन्द्रेणी रंग
भो१ चाहिँदैन् सिसमहलको भुलभुलैया
जतिसक्दो हिड्न्र सदाचारको बाटो
बटुल्नू खुशी जन जनको
देश सजाए पुग्छ मलाई
पर्दैन् दिनु सुनको खुर्पे चन्द्रमा
तिमी भए उसै उदाउँछ मेरो जून
रचेर सुशासनको धून
गाउनू सम्बृद्धिको गीत
जगाउँदै भातृत्वको दीपशिखा
सिञ्चनू समन्यायको आभा भूगोलको नशामा
प्यारा !
तिम्रो खोकिलोमा उनिएर
मातृभूमिले उन्नयनको घुम्टो ओढेको हेर्ने बिछट्ट रहर छ ।
(सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा मिति २०८२ बैशाख ५ मा आयोजित ठमेल काव्योत्सवमा वाचन गरिएको कविता)