
काठमाडौं ।चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।
यस्तै ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विष्णु सुबेदीलाई प्रदान गरिने भएको छ ।
आयोजक संस्था परिवर्तन नेपालले जानकारी दिए अनुसार ‘हरितारा चलचित्र पुरस्कार’ का संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार पहारी र २०८१ सालको पुरस्कार उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको रकम जनही २५ हजार नगद राशिको थैली रहेको पनि आयोजकले बताए ।
बैठकले यस वर्ष देखि ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’को स्थापना गरेको हो ।उक्त पुरस्कार चलचित्र पत्रकार विष्णु सुवेदीलाई नगद १० हजार राशि सहित प्रदान गरिने जनाइएको छ ।
परिवर्तन नेपालका अध्यक्ष तथा ‘हरितारा चलचित्र पुरस्कार’का सदस्य सचिव मोहन निरौलाका अनुसार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा ९तारानानी०ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखी यो पुरस्कारको स्थापना गरेका हुन्।
पुरस्कृत अभिनेता पहारी ४ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रमा क्रियाशील छन् भने अभिनेत्री उप्रेती २ दशक भन्दा बढी समय देखि अभिनय सक्रिय छिन । पत्रकार सुबेदी पत्रकारितामा निरन्तर क्रियाशील छन् ।
यस्तै परिवर्तन नेपालको वैशाख ५ गते बसेको बैठकले ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता करण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
ती सबै पुरस्कारहरु राजधानीमा जेठको पहिलो साता कार्यक्रम गरि प्रदान गरिनेछ ।





