
काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज भएको कार्यक्रममा कथाकार डा. अमर कार्कीको ‘क्षितिजपारी’ कथासंग्रहको आइतबार लोकार्पण सप्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा. दयाराम श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, लेखककी आमा बुद्धकुमारी कार्की, वरिष्ठ आख्यानकारहरु प्राज्ञ माया ठकुरी र भागीरथी श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रा. डा.गोविन्दमान सिंह कार्की, भुँडी पुराणका केशव पराजुली, साहित्यकार सन्ध्या पहाडी लगायतले सो कृतिको लोकार्पण गर्नुभएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा.श्रेष्ठले कथाकार डा.कार्कीको ‘क्षितिजपारी’कथासंग्रहले नयाँ सन्देश दिएको र कथाहरुमा नयाँपन रहेको बताउनु भयो ।यसैगरी कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले कथाकार कार्कीलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गर्नुभयो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्दै साहित्यिक पत्रकार संघकोबारे जानकारी गराउँदै कथाकार कार्कीको सिर्जनशील जीवनको कामना गर्नु भयो ।
लोकार्पित कृतिका सर्जक कथाकार कार्कीले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि बताउँदै कथा सिर्जनाबारे बताउँदै आफ्नो जीवनमा आमाको महत्त्वको चर्चा गर्दै ‘आमा’ र ‘नयाँ वर्ष’ कविता पनि वाचन गर्नु भयो ।
समालोचक प्रा.डा.गोविन्दमान सिंह कार्कीले कथाकार डा. कार्कीको ‘क्षितिजपारी’ कथासंग्रहमा संग्रहित बाह्र कथाको समीक्षा गर्दै कथाहरुले दिएको सन्देशबारे बोल्नु भएको थियो ।
साहित्यकार मन्जिला अनिलले सहजीकरण गर्नु भएको सो कार्यक्रममा कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुलीले पुस्तक प्रकाशनबारे बताउनु भएको थियो ।
कथाकार कार्कीलाई सम्मान समेत गरिएको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र प्रमुख वक्ता सहित साहित्यकारहरु विक्रमभक्त जोशी, उषा के.सी. राजन नेउपाने र गायिका रितु कँडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।







