मोरङ । लेखक तथा स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को दोस्रो कृति ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकार्पण भएको छ ।
हामी र हाम्रो कृति समाजको आयोजनमा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा उक्त कृतिको लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा.टङ्कप्रसाद न्यौपानेले कृतिको लोकार्पण गरे ।
कृतिको लोकार्पण गर्दै उनले कविताको उपविधाका रूपमा रहेको यो विधा निक्कै फस्टाएको पनि बताए ।मुक्तकको आफ्नै मूल्य र मान्यता भएको बताउँदै चार लाइनमा लेखेका सबै रचना मुक्तक बन्न नसक्ने बताउँदै मुक्तककार शिलाजितले मुक्तकको धर्मलाई निर्वाह गरेको बताए ।
कार्यक्रममा लोकार्पित कृतिमाथि नेपाल रोहिणी रसिक, केशु विरही र बाबुराम पोखरेलले समीक्षा प्रस्तुत गरेका थिए ।
कवि रोहिणी रसिकले स्रष्टा नवराज पोखरेलको सङ्क्षिप्त जीवनी प्रस्तुत गरेका थिए ।
समीक्षक बाबुराम पोखरेलले कृतिको चिरफार गर्दै विभिन्न भाव बोकेका ‘शिलाजित’ भित्रका मुक्तकहरू निकै गहकिला भएको बताए ।
मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्षसमेत रहेका पोखरेलले नवराज आफू मात्र रचना नगरेर धेरै नवसर्जकका लागि प्रेरणाका स्रोत बन्न पुगेको बताए ।
अर्का समीक्षक केशु विरहीले ‘शिलाजित’ भित्रका रचनामा नवराज पोखरेल ‘नवशिला’ को व्यक्तित्वसँगको अन्तर्सम्बन्धसँग आधारित रहेर समीक्षा प्रस्तुत गरे । पत्रकार तथा अनुसन्धातासमेत रहेका विरहीले नवशिलालाई एउटा अभियान भएको बताए ।
कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, राजनीतिक तथा सामाजिक व्यक्तित्व, वरिष्ठ साहित्यकार उपद्रष्टा हर्कमान तामाङ, बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइराला, झोराहाट नाट्य समाजका अध्यक्ष एवम् वरिष्ठ कवि भरत गुरागाईं बर्बरिक, वरिष्ठ साहित्यकार छवि वैरागी घिमिरे, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, हामी र हाम्रो कृति समाजका सचिव बद्री उप्रेती लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखे।

झापा, मोरङ, सुनसरी लगायतका स्थानबाट लेखक तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा श्रेष्ठ परिक्रमा, रमेन्द्र कोइराला, मञ्जुश्री गिरी, एकराज भट्टराई, मदन भण्डारी, प्रिन्स प्रमोद ढकाल, निकीशारानी पोखरेल, राधा भट्टराईलगायतले रचनावाचन गरेका थिए ।
कार्यक्रममा लेखककी ८४ वर्षीय मावलकी हजुरआमा मधुमाया भट्ट, बुवा लक्ष्मीप्रसाद पोखरेल, आमा दुर्गादेवी पोखरेल, सासुआमा कमला भण्डारी र ससुराबुवा झलकबहादुर भण्डारीलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो ।
हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्जल प्रशान्त लेखकको रहेको थियो ।
मुक्तकलाई प्राथमिकतामा राखेका पोखरेल कविता, गजल, कथा, लघुकथा, बालसाहित्य विधामा समेत कलम चलाउँदै आएका छन् । पोखरेलका यसअघि नै व्यङ्ग्य कन्तुर ९संयुक्त टुक्का कवितासङ्ग्रह० –२०८०,हामी र हाम्रो कृति (संयुक्त मुक्तकसङ्ग्रह) – २०८१, हामी र हाम्रो मुक्तकसङ्ग्रह (संयुक्त मुक्तकसङ्ग्रह) – २०८१ र नवशिला (मुक्तकसङ्ग्रह) प्रकाशित भइसकेका छन् ।