काठमाडौं । कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको जन्मदिन (जङ्कु)को अवसर पारेर उनको अभिनन्दन गर्दै अभिनन्दन ग्रन्थ ‘नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख’ सार्वजनिक गरिएको छ ।
साहित्यिक पत्रकार संघले उक्त ग्रन्थको एक समारोहबीच सार्वजनिक गरेको हो ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमा,बरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले श्रेष्ठको अभिनन्दन गर्दै कृति लोकार्पण गरे ।
कवि तथा कलाकार श्रेष्ठलाई साहित्यिक पत्रकार संघसहित विभिन्न ३८ वटा संघ संस्थाले अभिनन्दन गरे।
प्रमुख अतिथि माथेमाले यस्ता अभिनन्दनले कलाकार होस वा कवि सबैलाई उर्जा मिल्ने धारणा राखे ।
उद्यमी कुशकुमार जोशी, कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मी प्रसाईं लगायतले वधाई तथा शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा कलाकार एवं कवि श्रेष्ठले आफूले रुखको जरामा कलात्मक स्वरूप दिन सुरु गरेको दिन स्मरण गरे ।
लोकार्पित ग्रन्थका प्रधान सम्पादक प्रमोद प्रधानले श्रेष्ठको व्यक्तित्वमाथि चर्चा गर्दै ७८ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय भएर साहित्य,कला र धार्मिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वको रुपमा उनले श्रेष्ठलाई पाएको बताए । उनले भने -“मिल्काइएका जराहरुमा कला खोज्ने काम सजिलो छैन् । यहि अप्ठ्यारो काममा श्रेष्ठ सफल देखिए ।”

कार्यक्रममा कलाकार श्रेष्ठको कलाकारितामाथि सर्वनाम परिवारले तयार पारेको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
कवि एवं सञ्चारकर्मी ठाकुर बेलवासेले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले आफ्नो धारणा राखेका थिए ।