चर्चामा पुस्तक
अलङ्कार इन्द्रेनी
गोविन्दराज विनोदी सुमुधुर कविता सृजना गर्छन् । उनको परिचय कविमा मात्र सिमित नभएर सम्पादक,समीक्षाको क्षेत्रमा पनि छ ।छन्दकवितामा अग्रणी उनी नाट्यसाहित्यमा प्रयोग हुने अलङ्कारकोे प्रयोग गरेर यो काव्य लेखेका छन् । कतै वातावरणको कुरा गर्छन् उनी कतै माया प्रेमका कुरा । अलङ्कारका विभिन्न प्रकार मार्फत सत्ताप्रतिको कटाक्ष पनि प्रस्तुत गर्छन् । सुन्दर भावमा काव्यरसले पाठकलाई मोहित बनाउँछन् । उनले प्रकृृतिवादी भएर काव्य सृजना पनि गरेका छन् भने कतै लाग्छ उनी स्वच्छन्दवादी भएर काव्य आकासमा वेगले उडान भर्छन् । काव्यमा अलङ्कारहरुको प्रयोग सुन्दर ढंगले गरिएको छ ।
काव्यका विषय प्रकृति र जीवनको सहसम्बन्ध,संस्कृति,मानवीय चाह,अनुभूतिहरु लगायतका विषयमा बिम्बात्मक रुपमा उनले कवितांशहरु प्रस्तुत गरेका छन् ।
अलङ्कार इन्द्रेनीलाई पेजटर्नरले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३००। रहेको छ ।
मेरो छोरा फर्किनै पर्छ
रमेश रेग्मीको कथासंग्रहभित्र २८ थान विषयगत विविधाका कथाहरु समावेश छन् । उनको यो तेस्रो कृति हो । मान्छेका सामाजिक,राजनीतिक,आर्थिक र मनोबैज्ञानिक पक्षहरु कथाहरुले उजागर गरेका छन् । मानिसका ह्रदयलाई मज्जले छामेका छन् कथाकारले । मानवीय संवेदनाले भरिपूर्ण छन् । महिला र पुरुषको सहसम्बन्धलाई चर्चा गरेका छन् । समाजका विकृतिहरुको मज्जैको चिराफार छ । कुनै कुनै कथाले तराईको कथानकता बोकेको छ । विभिन्न कालखण्डका कथाहरु यस कृतिमा छन् ।
सरल भाषाशैली,मीठासपूर्ण प्रस्तुतिहरुले कथाहरु राम्रा बनेका छन् । रोचक लाग्दा छन् ।
मेरो छोरा फर्किनै पर्छ लाई वासु शशी स्मृति परिषद्ले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३९९। रहेको छ ।
साहित्यमा मृत्यू -चिन्तन
मृत्यूको बारेमा सबैलाई थाहा छ । तर दार्शनिक चेतले मृत्यू के हो भन्ने बारेमा थाहा नहुन सक्छ । बद्रीप्रसाद ढकालको यो पुस्तकले मृत्यूको बारेको चिन्तनलाई फराकिलो ढंगले खोजी गरिएको छ । जन्म र मरण एकअर्काका परिपूरक भएकोले यस विषयमा पूर्विया र पश्चिमाको मतको बारेमा चासो राख्नेहरुलाई पनि यो पुस्तक जानकारीमूलक हुनसक्छ । मृत्यू चिन्तनको बारेमा जे उठाउन खोजिएको छ त्यो नै महत्वपूर्ण छ ।
नेपाली साहित्यमा मृत्यू चिन्तनका विषयमा उतिधेरै कृति र रचनाहरु पाउन सकिँदैन् । यसले उक्त अभावलाई केहीहदसम्म पुरा गरेकोे छ। मृत्यूबोध र चिन्तनको उपर्युक्त पुस्तक हो यो । सरल छ । खोजमूलक छ पुस्तक ।
साहित्यमा मृत्यू -चिन्तनलाई अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५००। रहेको छ ।