काठमाडौं । रमा-कृष्ण सृजना प्रतिष्ठानको हालै बसेको कार्यसमितिको बैठकले २०८० सालका लागि कवि भवानी घिमिरे स्मृति रमा-कृष्ण साहित्य सम्मान साहित्यकार एवं समालोचक प्रा.डा.चूडामणि बन्धु,वीर झागल गुरुङ स्मति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार संगीतकार बुलु मुकारुङ र डा.हर्क गुरुङ स्मृति रमा-कृष्ण विज्ञान प्रविधि पुरस्कार डा.मनीषराज पाण्डेलाई समर्पण गरिने निर्णय गरेको छ ।
यसैगरी प्रतिष्ठानले २०८१ सालका लागि कवि भवानी घिमिरे स्मृति रमा-कृष्ण साहित्य सम्मान प्रा.डा.अभि सुवेदी,वीर झागल गुरुङ स्मति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार संगीतकार राजकुमार श्रेष्ठ,डा.हर्क गुरुङ स्मृति रमा-कृष्ण विज्ञान प्रविधि पुरस्कार डा.इन्द्रप्रसाद सुवेदीलाई समर्पण गर्ने निर्णय गरेको छ ।
पुरस्कारहरु आगामी चैत २३ गते शनिबार काठमाडौंमा कार्यक्रम गरी समर्पण गरिने बताइएको छ ।
वि.सं.२०६६ सालमा स्थापित यस प्रतिष्ठानले विविध क्षेत्रमा क्रियाशील साधकहरुलाई सम्मानित गर्दै आएको छ। यसका साथै विभिन्न साहित्यिक गतिविधिहरु सहित कृति प्रकाशनहरु समेत गर्दै आएको प्रतिष्ठानका महासचिव यादव भट्टराईले इखबर नेटलाई जानकारी दिए ।