
काठमाडौँ । नेपाली आधुनिक मुक्तकका प्रवर्तक तथा आदर्श गुरु भीमदर्शन रोकाको स्मृतिमा आयोजित समारोहमा वरिष्ठ साहित्यिक पत्रकार एवम् साहित्यकार रोचक घिमिरेले कलाकार शशीविक्रम शाहलाई ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’ बाट सम्मानित गर्नुभयो ।
यसैगरी प्रमुख अतिथि घिमिरे काभ्रेपलाञ्चोकको पनौतीस्थित ‘सहारा ज्येष्ठ नागरिक समाज’लाई ‘भीमदर्शन रोका आदर्श समाजसेवा सम्मान’बाट सम्मानित गर्नुभयो ।
यी दुवै सम्मानमा जनही पचास हजार रुपैयाँ राशि रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि घिमिरेले शशी शाहको कलाकारिताको चर्चा गर्दै उहाँ नेपाली चित्रकलाका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने विशिष्ट कलासाधक भएको उल्लेख गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको सम्मानमा संस्था स्थापना गरेर समाजका अग्रज पुस्ताको सेवा र सम्मानमा महत्त्वपूर्ण योगदान गर्दै आएको सहारा ज्येष्ठ नागरिक समाजको पनि प्रशंसा गर्नुभयो ।
भीमदर्शन रोकाको साहित्यिक र शैक्षिक व्यक्तित्वबारे प्रकाश पार्दै रोकाका विद्यार्थीहरूले उहाँको नाउँमा संस्था स्थापना गरेर हरेक वर्ष आदर्श गुरुहरू र समाजमा योगदान गरेका सामाजिक संस्थाहरूको खोजी गरी सम्मानित गर्दै आउनु प्रशंसनीय भएको बताउनुभयो।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट २०४० सालमा एस.एल.सी.उत्तीर्ण गरेका विद्यार्थीहरूले आफ्ना गुरुको सम्मानमा संस्था स्थापना गरेको स्मरण गर्दै समारोहका सभापति एवम् इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले रोका विनयी, स्वाभिमानी, इमानदार, समयनिष्ठ, परिश्रमी तथा कर्तव्यनिष्ठ आदर्श गुरु भएको बताउनुभयो । प्राचार्य राजवंशीले गुरु र अभिभावकप्रति अनुत्तरदायी बन्दै गएको वर्तमान विद्यार्थी पुस्ताका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्युटका २०४० समूहका विद्यार्थीहरू अनुकरणीय छन् भन्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गर्नुभयो । उहाँले सम्मानित शशीविक्रम शाह र सहारा ज्येष्ठ नागरिक समाजले नेपाली समाजका लागि गरेको कार्यको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मानन्धरले सम्मानित शशीविक्रम शाहको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा भीमदर्शन मुक्तक पुरस्कारका संथापक मुक्तककार रामकाजी कोने, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठ, कोषका उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव दीपेन्द्रनाथ शर्मा, कोषाध्यक्ष अनिलमान महर्जनलगायतले भीमदर्शन रोकाको स्मरण गर्दै उहाँका योगदानको चर्चा गर्नुभयो।

सम्मानित शशीविक्रम शाह तथा सहारा ज्येष्ठ नागरिक समाजका प्रतिनिधि एवम् वरिष्ठ सदस्य विष्णु सिलवालले आदर्श गुरुको नाउँको सम्मानबाट सम्मानित भएकामा खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भीमदर्शन रोकाकी धर्मपत्नी मीना रोकाको पनि स्मरण गरिएको थियो ।
कोषका सचिव एवम् भीमदर्शन रोकाका शिष्य साहित्यकार यादव भट्टराईको उद्घोषणमा सञ्चालित कार्यक्रममा नेपाली साहित्य र कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।




