
काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४६१ औं शृङ्खला सम्पन्न भएको छ । ‘
जीवन शैली र मानसिक सवास्थ्य’ विषयमा परिचर्चा र कविगोष्ठी गरी उक्त कार्यक्रम सम्पन्न भयो ।
‘जीवनशैली र मानसिक स्वास्थ्य’ विषयमा विशद चर्चा गर्नुहुँदै डा.जनक वस्नेतले चिकित्सा पेसामा रहेको आफुले विद्वान साहित्यकारहरूका अगाडि उभिएर स्वास्थ्यका बारेमा चर्चा गर्ने आज अवसर प्राप्त भएको बताए । उनले हाम्रा दैनिकी र खानपानलाई कसरी ख्याल गर्ने भन्ने बारेमा विशेष चर्चा गरे ।
समारोहमा महेशराज खरेल, गायत्रीकुमार चापागाईँ, खेमराज निरौला, मिसन अधिकारी, कुमार नेपाल, बेनीबहादुर थापा, बैरागी जेठा, डा.मनोज जोशी, बलराम विष्ट, डा.गोविन्दप्रसाद आचार्य, सर्मिला राई, दिल पौडेल, चिन्तामणि सिवाकोटी, प्रमोद भण्डारी, मुकुन्दप्रसाद ढकाल, डम्बर पहाडी, लक्ष्मण तिमिल्सिना, कविता राउत, कृष्णप्रसाद पौडेल, गोविन्द घिमिरे ‘वेदमणि’, चेतन वस्नेत ठुलाघरे र पूर्णविरामले कविता, गीत, गजल वाचन गरे ।
वाचित रचनामाथि वरिष्ठ स्रष्टा डा.राजेन्द्रप्रसाद अधिकारीले समीक्षा गरे ।
सभाध्यक्ष राम विनयले भने -‘साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । बगिरहेको पानी एकै स्थानमा जमिरह्यो र गतिशील हुनपाएन भने अर्थात् चलायमान भएन भने दूषित हुन्छ, त्यही कुरा मानिसको जीवन र सोचाइमा पनि लागू हुन्छ । यसलाई नियमितरूपमा धोईपखाली गरिरहनुपर्ने हुन्छ । जीवन नदी हो, कहिले बाढीले धमिलो हुन्छ, कहिले यो निर्मल हुन्छ । निरन्तर बगिरहेको जीवननदीलाई स्वच्छ पार्न यस प्रकारको वैचारिक विमर्श चाहिन्छ । त्यसैले साहित्य सन्ध्याले नियमितरूपमा परिचर्चा कार्यक्रम चलाइरहेको हो।’ उनले स्रष्टाले सत्य र सही कुरालाई ठिक भन्ने र गलत कुरालाई गलतै भनेर प्रतिवाद गर्नु आवश्यक भएको बताए ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्राकृतिक चिकित्सा विज्ञानका क्षेत्रमा कार्यरत डा.जनक वस्नेत , अतिथिहरूमा साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, डा.राजेन्द्रप्रसाद अधिकारी, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’, वरिष्ठ स्रष्टा पूर्णविराम, डा.गोविन्दप्रसाद आचार्य, चिन्तामणि सिवाकोटी, डम्बर पहाडी, महेशराज खरेल, खेमराज निरौला, प्रगतिशील लेखक सङ्घ प्रदेश समितिका बैरागी जेठा, प्रलेस ललितपुर जिल्ला सचिव मिसन अधिकारी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा (८७ वर्ष)लगायतको उपस्थिति रहेको थियो ।




