काठमाडौं । शङ्कर लामिछाने प्रतिष्ठानले वरिष्ठ पत्रकार एवं लेखक विजय चालिसेलाई नगद रु. ५० हजार राशिसहितको शङ्कर लामिछाने निबन्ध पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी प्रतिष्ठानले निबन्धकार पवन आलोकलाई नगद रु.२५ हजार राशिसहितको शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ ।
उक्त पुरस्कारहरु प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९८ औं जन्मजयन्ती आगामी २०८१ चैत ५ गतेको दिन उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले इखवर नेटलाई बताए ।
वरिष्ठ साहित्यकार चालिसेका डोटेली लोकसंस्कृति (लोकसाहित्य)र अप्रिलको बेलायत (नियात्रा)-२०४५, मनका तूलिकामा स्मृतिका बिम्बहरू(नियात्रा)-२०६३, ओह नेपारु(नियात्रा) -२०७३, मरुभूमिको फूल (निबन्ध)-२०७७, सर्पदंशित मेरो वर्तमान(संस्मरण) -२०७७, परिशीलन (निबन्ध)-२०७७, जीवनका वक्ररेखा (आत्मसंस्मरण) -२०७८ लगायतका कृति प्रकाशित छन् ।
यसैगरी नियात्राकार आलोकका युरोपको झझल्को(नियात्रा)-२०६७,अरुण एक्स्प्रेस (यात्राउपन्यास)-२०७३, केही सम्झना केही सिर्जना (निबन्धसङ्ग्रह) -२०७३, पहाड र लमतन्न समुन्द्र (संस्मरणात्मक नियात्रा)लगायत विभिन्न कृतिहरु प्रकाशित छन्।
प्रतिष्ठानले यसअघि शङ्कर लामिछाने निबन्ध पुरस्कारबाट वरिष्ठ निबन्धकारहरू कृष्णचन्द्रसिंह प्रधान,प्रा.डा.दुर्गाप्रसाद भण्डारी,डा.तारानाथ शर्मा श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, नश्याम राजकर्णिकार, गणेश रसिक, प्रा.डा.माधवप्रसाद पोखरेललाई प्रदान गरिसकेको छ ।
यसैगरी शङ्कर लामिछाने युवा निबन्ध पुरस्कारबाट निबन्धकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, झमककुमारी घिमिरे, भीष्म उप्रेती, डा.दामोदर पुडासैनी किशोर, मोमिला जोशी, प्रतीक ढकाल, ज्ञानेन्द्र विवशलाई प्रदान गरिसकेको छ ।
यसैगरी शङ्कर लामिछाने सम्मानबाट वरिष्ठ सर्जकहरू मदनमणि दीक्षित-२०७३,लोकेन्द्रबहादुर चन्द-२०७५, भैरव रिसाल-२०७७, भैरवबहादुर थापा-२०७८ र तेजेश्वरबाबु ग्वंग -२०७९ अभिनन्दित भइसकेका छन् ।