पोखरा । ‘हेमराज पहारी स्मृति पुरस्कार- २०८१’ कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ ।
हेमराज पहारी स्मृति प्रतिष्ठानद्धारा घाचोकमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्राज्ञ डा.जगमान गुरुङ,रीता न्यौपाने लगायतले उक्त पुरस्कार प्रदान गरे ।
एकलाख नगद सहित ताम्रापत्र प्रमुख अतिथि डा.गुरुङले सदनका अध्यक्ष शिवप्रसाद पोखरेललाई प्रदान गर्दै उनले आफ्नो ठाउँको पहिचान,संस्कार र संस्कृतिको संरक्षण र विकासमा सबैको ध्यान जानुपर्ने बताए । पछिल्लो समयमा मर्दै गएको मानवीयता प्रति चिन्ताभाव प्रकट गर्दै उनले नेपालको सनातनी धर्ममाथि विदेशी शक्तिले हस्तक्षेप र प्रहार गर्न खोजिरहेको प्रति सजग र सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महेश्वर अनुरागी,छविलाल आचार्य,पुष्कराज रेग्मी अथक,हरिदेव कोइराला लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
हेमराज पहारीको स्मृतिमा कवि छविलाल आचार्य र देवेश पहारीले कविता बाचन गरेका थिए ।
साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा परी निधन भएको थियो । उनकै स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई दुई बर्षमा पुरस्कार प्रदान गर्दै आएको छ ।