
काठमाडौं । २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको सोह्रौं श्रृङ्खला मिति २०८१ माघ २५ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
कार्यक्रममा सर्वप्रथम यस अभियानका परिकल्पनाकार कथाकार/नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका मुख्य उद्देश्यहरूबारे प्रकाश पारे । यसै क्रममा उनले बिभिन्न पुस्ताका कथाकारहरूलाई एउटै मञ्चमा निम्त्याई फरकफरक दशकमा प्रकाशित कथा स्रष्टाकै स्वरमा वाचन गराउने गरिएकाले कुन कालखण्डमा केकस्ता विषयमा, केकस्ता भाषाशैलीमा कथाहरू लेखिए, केकस्ता प्रयोग गरिए जस्ता सूचना कथामा रुचि हुने आम लेखक र पाठकले थाहा पाउने तथा पुस्तापुस्ताका कथाकारहरूबीच परिचय र सुसम्बन्धको विकास हुने आयोजकहरूको विश्वास रहेको कुरा बताए।
प्रत्येक महिना कुनै दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक दिवंगत स्रष्टा हरिप्रसाद प्रधान (विसं १९५१—२०२०)को ‘पुरानो स्मृति’ शीर्षकको कथा वाचन गरेर उहाँप्रति सम्मान प्रकट गरिएको थियो ।
उक्त कथा दशकदशकका कथा अभियानका अर्का परिकल्पनाकार तथा साहित्यकार पुष्कर लोहनीको निजी पुस्तकालयमा रहृको ऐतिहासिक साहित्यिक पत्रिका शारदाको वर्ष ७ अंक ५ (विसं १९९८ भाद्र महिना)बाट कथाकार पबित्रा अधिकारीले गरिन् । सन् १९२४ मा दार्जिलिङमा स्थापित नेपाली साहित्य सम्मेलनका संस्थापक अध्यक्ष स्व. प्रधान नेपालमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनबाट विसं २००८ सालमा नेपालका पहिला प्रधान न्यायाधीश नियुक्त भएका थिए ।
कार्यक्रममा अन्य छ जना कथाकारहरूले २०३० को दशकदेखि २०७० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा क्रमैसँग वाचन गरे ।
आजको कार्यक्रममा २०३० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार रवि प्रान्जलले रूपरेखा मासिक पत्रिकाको पूर्णाङ्क २४४ (२०३८ साल भदौ)बाट ‘टुक्रिएका सपनाहरू’ शीर्षकको आफ्नो कथा वाचन गरे ।
२०४० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार इस्मालीले गरिमा मासिकको २०४० माघको अङ्कमा प्रकाशित कथा ‘गाउँको माया’ आफ्नै कथासङ्ग्रह ’माछो माछो भ्यागुतो’ (२०५२) बाट वाचन गरे । यसैगरी २०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार रत्नमणि नेपालले ‘चिठी’ शीर्षकको कथा आफ्नो कथासङ्ग्रह ‘कथा इन्द्रेणी’ (२०५६) बाट वाचन गरे ।
२०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार भागीरथी श्रेष्ठले ‘पर्दा’ शीर्षकको कथा आफ्नो कथासङ्ग्रह ‘भूमिगत’ (२०६२, २०६० को दशककै ‘अनि सबै सिद्धियो’ शीर्षकको अर्को कथा कथाकार इल्या भट्टराईले आफ्नो कथासङ्ग्रह ‘अनि’ (२०६२) बाट वाचन गरे ।
२०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार हरिमाया भेटवालले ‘छिल्ली’ शीर्षकको आफ्नो कथा १२खरी उत्कृष्ट कथा (२०७६) बाट वाचन गरिन् ।







