(मोहन दुवाल वि.सं. २०२७ सालदेखि साहित्यिक पत्रकारिता गर्दै आएका यिनी २०४५ माघदेखि जनमत नियमित रुपले प्रकाशन गर्दै आएका सक्रिय साहित्यिक पत्रकार हुन् । वि.सं. २०२३ सालमा नै आफ्नो मातृभाषाबाट कविता सङ्ग्रह प्रकाशित गराएर लेखन क्षेत्रमा सक्रिय रहँदै आएका यिनका ३० वटा साहित्यिक पुस्तकहरु प्रकाशित भएको देखिन्छ । जनमतका विविध नामबाट साहित्यकारहरुको सम्मान, स्वागत र प्रकाशन गर्दै आएका यिनकै सक्रियतामा बनेपामा ‘जनमत वाङ्मय पुस्तकालय’ को स्थापना पनि भएको देखिन्छ । उहाँको लेखन र क्रियाशिलता सहित नेपाली साहित्यका विभिन्न विषयमा इ खवर नेटका लागि प्रधान सम्पादक प्रदीप सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।)
१) आराम हुनुहुन्छ ?
गम्भीर रोग अहिलेसम्म नलागेकोले सञ्चै छु ।
२)दुवाल सर,हाल के मा व्यस्त हुनुहुन्छ ?
पद्य /गद्य दुवै विधामा निरन्तर लेखिराखेको छु । आवश्यकतावोध भएपछि जुनसुकै विधामा कलम चलाउँछु । हाल विशेष गरी प्रकाशनमा आउन बाँकी कृतिहरुको सम्पादन गर्दैैछु ।
३)तपाईको पहिलो सृजना के हो ? साहित्यमा लाग्ने प्रेरणा कसरी पाउनु भयो ? हालसम्म कतिवटा कृतिहरु आएका छन् ? जानकारी दिनुस न ।
वि.सं. २०२० सालमा मेरो कविता ‘मेरो सपना’ पत्रिकामा प्रकाशित भएको हो । २०२३ सालमा नेपालभाषाको कवितासङ्ग्रह ‘चुलिजाःगु स्वां’ प्रकाशित भएको र हालसम्म कविता, मुक्तक, निबन्ध/लेख, आलोचना/समालोचना, व्यक्तिवृत्त, नियात्रा, बालसाहित्य, सम्पादकीयका गरी ३० भन्दा बढी पुस्तकहरु प्रकाशित छन् । त्यसमध्ये नेपालभाषाका दुईटा कविता–कृतिहरु प्रकाशित भएका छन् ।
परिवारबाट नै प्रेरणा पाएर लेखन–कर्म सुरु गरेको हुँ । लेखन यात्रा सुरु गरेको पनि ६ दशक पूरा हुन लागेको छ । ३८ वर्ष अगाडि नै जनमत पत्रिकाकाको सम्पादन कार्यमा लागेकोले लेखन यात्रा र कर्म त स्वतः सक्रिय रहने भई नै हाल्यो । त्यसैले मेरो लेखन यात्राको पृष्ठभूमिमा म लेखिरहन्छु र लेख्न पाउँदा गौरव अनुभव पनि गर्छु ।
४)तपाई के लेख्न मन पराउनुहुन्छ ?
जीवन र जगत्का लागि अझै भनौं मानव समुदायका हीतका लागि साहित्य लेख्न मन पराउँछु । मेरो साहित्यको आदर्श भनेको नै ‘मान्छे र जगत्’ नै हो ।
५) दुवाल सर,साहित्य के का निम्ति लेख्ने ?किन लेख्ने ? यहाँको विचार जान्न चाहान्छु ।
साहित्य समाज, देश र जन–मनकै हीतखातिर लेखिनु पर्दछ । आफ्नो स्वार्थ र सुखका लागि साहित्य लेख्छु भन्नेहरु समाज र देशका लागि हुनै सक्दैनन् । समाज, देश र जनमनबाट सम्मान पाउन समाज, देश र जनमनकै हीतखातिर साहित्य लेखिनु पर्छ ।
६)आजकल राजनीतिक दलको निकट भएर साहित्य सृजना बढी भएको पाइन्छ । यहाँलाई के लाग्छ ? राजनीति र साहित्य जोडिएका कुरा हुन् कि फरक फरक ?
राजनीति र साहित्य भनेको फरक खालको विषयवोध गर्ने दृष्टि र विषयवस्तु हुन् । राजनीति दृष्टि साहित्यमा हुने गर्छ अर्थात् राजनीतिक बिम्ब साहित्यमा संप्रेषित हुन सक्छ । यसको अर्थ साहित्य राजनीतिबाट प्रभावित हुनै पर्छ भन्ने हुँदैन । नेताको भाषण साहित्य होइन तर त्यही भाषणबाट विषयवस्तु टिपेर कलात्मक शैली र भाषामा साहित्य लेखिन सक्छ तर राजनीतिलाई साहित्य बनाउने कल्पना गर्नु र साहित्यलाई राजनीति बनाउने धृष्टता बोक्नु र बोकाउने प्रयास गर्नु उचित हुँदैन । यसरी सोच्न थाल्यौं भने साहित्यको सौन्दर्य र गरिमा घट्ने हुन्छन् ।
७)सर लामो समयदेखि साहित्यको उन्नयन र विकासमा क्रियाशिल हुनुहुन्छ । जनमत दुवाल सरको एक खालको ब्राण्ड बनेको छ । जनमतको बारेमा केही बताइदिनुस न ?
नेपाली भाषा–साहित्यलगायत नेपालमा बोलिने र लेखिने अन्य भाषा–भाषीको पनि सम्वद्र्धन, विकास, संरक्षण र प्रचार–प्रसारमा जनमत वाङ्मय प्रतिष्ठान नेपालको सक्रिय सहयोग रहँदै आएको र रहने विषयमा विश्वस्त गराउन चाहन्छु । जीवनमा धेरै गरियो । जिल्लाको राजनीतिमा कम्युनिष्ट भएर धेरै खालका सङ्घर्षहरुमा भाग लिएको विगत इतिहास ऐतिहासिक रहेको मात्र होइन उल्लेखनीय छ । समाजसेवामा पनि ‘काभ्रे बहुमुखी क्याम्पस’ को स्थापना, निर्माण, संरक्षण र विस्तारमा आफूसक्दो लागियो मात्र होइन हालसालसम्म नेतृत्वकारी भूमिकामा रहेर सेवा पु¥याइरहेको छु । थुप्रै खालका सङ्घ–संस्थामा हालसम्म पनि सेवारत छु । यसैगरी शिक्षक आन्दोलनमा काभ्रेकै नेतृत्वमा सङ्लग्न रही राष्ट्रिय शिक्षक आन्दोलनमा पनि सक्रिय योगदान र सङ्घर्षमा डटेको विगत इतिहास बिर्सन नहुने इतिहास हुन गएको छ । यस्तै खालका विविध आयामहरुमा आफू सङ्लग्न रहेर सेवा गर्दा–गर्दै पछि साहित्यमा रस बस्यो । यसकै परिणतिमा जनमत वाङ्मय प्रतिष्ठान नेपालको जन्म भयो । निःस्वार्थ भावना, निरन्तर लगाव, अविचलित मनबाट नै भएको सिर्जना हो – ‘जनमत वाङ्मय प्रतिष्ठान नेपाल’ । के मात्र हुन सक्दैन निरन्तर र अविचलित मन बोकेर यात्रामा कुदेपछि !
८) साहित्य सिर्जना किन गर्नुहुन्छ सर?
आफूले बुझेअनुसारका स्पर्शहरु मनमा साँचेर निरन्तर लेखनमा लाग्ने थुप्रै साहित्यकारहरु छन् । मान्छेको भावनामा सत् रोप्न, खराब र कुरीति मास्न र अप्ठ्यारा सबै कुराहरु फाल्न÷निमिट्यान्न पार्न साहित्य लेखिनु पर्छ । मान्छेलाई मान्छे बनाउने मान्छे बन्न सक्ने भावना–उत्सर्ग भर्न साहित्य सिर्जना हुनुपर्छ ।
९) के लेखिरहनु भएको छ आजकल ? यहाँलाई मन पर्ने विधा ?
समसामयिक विषयमा कविता लेखिरहन्छु । मेरा हजारौं कविताहरु पत्र–पत्रिकामा प्रकाशित छन् । बा¥हवटा काव्य कृतिहरु प्रकाशित छन् – त्यसैले कविता विधा मेरा लागि मनपर्ने विधा भएको छ । यसैसँग गाँसिएर मलाई मन परेको विषय सम्झिएर निबन्ध–प्रवन्ध पनि लेखिरहन्छु ।
१०)काभ्रेलाई नै कर्मथलो बनाएर बस्नु भएका तपाईलाई काभ्रेको साहित्यिक गतिविधिको बारेमा पनि सोध्न चाँहे ?
काभ्रे जिल्ला साहित्य लेखन, साहित्यिक प्रकाशन, साहित्यिक अभियानका लागि प्रख्यात मानिन्छ । जनमतका साहित्यिक आयामहरु, शब्दयात्राका निरन्तर भइराखेका साहित्यिक प्रयासहरु अक्षरमार्गका उत्साहीत साहित्यिक प्रयत्नहरु, सयपत्रीका स्रष्टा दम्पति राष्ट्रिय सम्मानहरु, जूनकीरी, पनौती साहित्य समाज लगायत अन्य साहित्यिक संस्थाहरुका ऊर्जाशील कदमहरु सबै राष्ट्रमा देखाउन मिल्ने साहित्यिक ऊर्जाशील स्पर्शहरु हुन् ।
११) राजनीति जस्तै साहित्यिक क्षेत्रमा पनि गुटवन्दी धेरै मौलाएको छ भनिन्छ नि ?
साहित्यमा गुटबन्दी गर्ने, जबरजस्ती राजनीतिका गोटी बनाउने प्रयत्नहरु निरुत्साहीत तुल्याई दिनुपर्छ । राजनीतिक पार्टीको स्वार्थमा लेखकहरु प्रयोग हुनु हुँदैन ।
१२) दुवाल सर,सम्बादको निम्ति धन्यवाद । अन्त्यमा मैले सोध्न छुटाएको कुरा र सरलाई भन्न मन लागेको कुरा केहि छ कि ?
कुराकानीको निम्ति तपाई तथा इ खबर नेट परिवारलाई धन्यवाद । जतिसम्म सकिन्छ साहित्यको सिर्जना, उन्नयन र विकासमा लागिरहने हो भन्ने लाग्दछ ।