काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँको हालै बसेको कार्यसमितिको बैठकले दुई पुरस्कारहरूको निर्णय गरेको छ ।
प्रतिष्ठानले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्खिमलाई भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्ज निवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको छ ।
नन्द हाङ्खिमको सन् १९७२ मै प्रेमालाप शीर्षकको मुक्तकसङ्ग्रहका साथै विभिन्न विधाका डेढ दर्जन कृति प्रकाशित छन् । भारतमा रहेर पनि नेपाली भाषासाहित्यको उन्नयनमा नन्द हाङ्खिमले विशिष्ट योगदान गर्नुभएको छ ।
खगेन्द्र गिरी कोपिलाका ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरू’-(२०५९),’डुबे पनि डुब्दैन घाम’-(२०६२),’आफ्नै छाल आफ्नै किनारा’-(२०६५),’कालध्वनी’-(२०८०) मुक्तककृतिलगायत डेढ दर्जनकृति प्रकाशित छन् । दुवै स्रष्टाहरूले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
नेपाली आधुनिक मुक्तकका प्रथम प्रयोक्ता भीमदर्शन रोका एवम् नेपाली मुक्तकका विशिष्ट साधकत्रय कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीका नाउँमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोनेद्वारा स्थापित यी दुवै पुरस्कारहरू प्रतिष्ठानको बाह्रौँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आगामी माघ १८ गते शुक्रबार एक समारोहको आयोजना गरी समर्पण गरिने छन् ।

यसका साथै सोही कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशन रहेको नेपाली साहित्यमा कलम चलाउने अन्य विधाका स्रष्टासमेतका मुक्तकहरूको सञ्चयन कृति मुक्तक मुहिम को लोकार्पण गरिने पनि बताइएको छ ।