संस्मरण
उद्धव सापकोटा
बाको त्यो हराएको औठी
कुरा यस्तै छैसठ्ठी, सतसठ्ठी सालतिरको हुनुपर्छ । मिति ठ्याक्कै मेरो सम्झनामा आएन । कति कुराहरु मनभित्र नबिर्सने गरि सजिएर बसेका हुन्छन भने तिथिमिति सम्झन चाहि गाह्रो हुदो रहेछ । हरेक मानिसभित्र एउटा मन हुन्छ । त्यो मनभित्र बिभिन्न किसिमका ईच्छा, चाहानाहरुले जरो गाडेर बसेका हुन्छन । यी बाहेक मानिसको मनभित्र इष्र्या, लोभ, पाप, रिस, डाहा, हांसो, खुशी, रोदन, सुख, दुस्ख लुकेको हुन्छ । मानिसमा हुने यी गुणहरु जुनसुकै उमेरमा पनि हुन्छन । केटाकेटी उमेरमा त्यस्तै प्रकारका हुन्छन भने वयस्क भएपछि अलिक फरक प्रकृतिका हुन्छन । अझै पाको उमेर भएपछि त झनै फरक किसिमका हुने रहेछन् । आफूसंग भए लगाउने खाने त हो । नहुदां के लगाउने। के खाने ? आफ्ना ईच्छा र चाहानालाई पैतालामूनी राखेर बांच्ने दिन पनि आउंदा रहेछन् ।
त्यो समयसम्म पनि हाम्रो परिवारमा पैसाको कमी नै थियो । हुन त जति धेरै पैसा हुनेहरुले पनि मलाई पैसाले पुग्यो, अब चाहिदैन भनेको आजसम्म सुनेको छैन । भन्छन् पैैसा जीवन चलाउने साधन हो,साध्य होईन । तर यसो भनेर मात्र के हुन्थ्यो, पैसाको ठूलो महत्व रहेछ यो संसारमा ।मैले बुझेको यति नै हो ।
०००
मेरो सेनाको जागिर । तलबलाई महिनावारी तनखा भन्छन । यस्तै महिनाको सत्र, अठार हजार जति हातमा पथ्र्यो त्यतिबेला । यति पैसाले एक महिना कटाउन धौ, धौं नै थियो । गाउंमा खेतवारीको अन्नपात,गाई भैसीको दुध बेचेर केहि रकम हात पार्थिन श्रीमतिले पनि । जेनतेन प्रकारले घरव्यवहार चलेकै थियो । भूपु पाण्डेको गीत जस्तै ‘चट्ट हेर्दा हजुर जीन्दगी दामी छ, सबै ठिक छ हजुर पैसा क्रै कमि छ, फूल फूलेर के गर्नु भिरै भिरमा छ, जीन्दगी चल्न त चल्या छ पिरैपिरमा छ।’
जागिर खाएको छ बर्ष नपुग्दै शान्ति मिसन लेवनान २०५३ सालमा नै परियो । अव त पैसाको ठुलै मुख देखिने भैयो भन्ने लाग्यो मनमा लागेको थियो । मिसनबाट फर्कदा सुन पांच औंस र बांकी डलरको चुरोट ल्याए । यति ल्याउंदा त संसारै जितेजस्तै भयो । बा,दाइभाइहरु लगायत भान्जाभान्जी स्वागतको लागि एयरपोर्टमा आए । उपहार दिनलाई केहि थान घडी पनि ल्याएको थिए । पांचवटा सुनका बिस्कुट ल्याएर श्रीमतिलाई राख्न दिए । उनले जतन गरेर दराजमा राखिन । चुरोट दाईकै डेरामा राखे । चुरोट र सुन सबै बेच्दा जम्मा दुई लाख हातमा पर्यो ।
त्यो सुनबाट गहना बनाएर लगाउन पाईन्छ भन्ने कति ईच्छा थियो होला उनको मन भित्र ? त्यो मनको ईच्छा र चाहानामाथि कुठाराघात गरे मैले । त्यो चुरोट र सुन बेचेर आएको रकम सबै माटोमा हाले । माटो बढेन, सुन भने दैनिक आकासियो । गाउमा माओवादीको दबदबा थियो त्यतिबेला । गाउको जग्गाको मुल्य नबढ्नुको कारण यही थियो । बुढीको सुन लगाउने चाहानामाथि किला ठोके । त्यति बेला म अल्लारे नै थिए । के गर्नुपर्छ ? के गर्नु हुदैन ? ममा त्यो ज्ञान आएन । त्यतिबेला उनको ईच्छा बुझ्न सकिन। त्यो बेलामा त गुनासो गरिनन् उनले पनि । त्यो सुनबाट गहना बनाएर लगाउने जिद्धि पनि गरिनन् त्यतिबेला । यदि त्यसो गरेको भए म केहि सोच्थे कि ? अहिले आएर यस्ता प्रश्नले मनमा डेरा जमाएर के गर्नु ? पश्चाताप पनि लाग्छ ।
०००
हिउंद बर्षा, जाडो गर्मी हुदै समय बित्दै गयो । समयसंगै उमेर पनि पाको हुदैं गयो । आफ्नो मनमा भने पैसा कसरी कमाउने ? छोराहरुलाई कसरी स्कुल पढाउने ? घरखर्च कसरी चलाउने भन्ने कुरामा पीर,चिन्ता त पर्ने नै भयो । सायद यस्तो जिम्मेवारीको बोझ बोक्ने सबैलाई महसुस हुने नै कुरा हो यो ।
जुनसुकै महिलाहरुलाई गरगहना लगाउन पाए खुशी हुन्छन् । अझै सहरीया महिलाहरुलाई त देखाउनकै लागि भएपनि गहना चाहिन्छ । अनि घरमा बाका पनि केही इच्छा पक्कै थिए । केही ईच्छाभए पनि बा मलाई हत्पति भन्दैनथे ।
महिलालाई मात्र कहां हो र पुरुषहरुलाई पनि हातका औलामा औंठी र गलामा सिक्री लगाउने मन हुन्छ नै । शान्ति मिसनबाट फर्कदा हामीहरु सबैलाई गणले तीनग्रामको सिक्री उपहार दिएको थियो । त्यो धेरै सानो थियो । घर बिदामा बनपाखा जांदा धेरै पटक हरायो त्यो । तर पनि तर भेट्टाए । अनि पछि त्यसलाई मैले बेचिदिए ।
जसरी तसरी केही रकम जम्मा गरेर बालाई पनि एउटा सुनको औंठी बनाई दिए । त्यो औंठी बनाइदिंदा बा धेरै खुशी भएका थिए । पुगनपुग एक तोलाको औंठी बाको औंलामा पर्र्याे । बाको त्यो हात पूर्णिमाको जून जस्तै भयो । गाउघरमा पनि बाको त्यो औठीले प्रशंसा पायो ।
शरद, बर्षा, बंसन्त, ग्रीष्म ऋतुको चक्र चलिरहेकै थियो । चैत्रको उजाड महिना थियो। बनका रुखले पनि आफ्ना पुराना पातलाई बिस्थापित गर्दै नयांंलार्ई स्वागत गर्ने तरखरमा थिए । प्रकृतिको नियम न हो । पुराना पात झरेर बाटोघाटो यताउता सबैतिर आफ्नो उपस्थितीको जनाउ दिन्थ्यो । बनपाखा उजाड जस्तै देखिन्थे । मन पनि एक किसिमले निरस नै हुन्छ त्यतिबेला ।
०००
त्यहिबेला एकदिन बा जडिनखेतमा पानी लगाउन गए । निउरेखोलामा कुलाको मुहान थुन्न थाले । खेतमा पानी लगाए । किसानको दिनचर्या त यसैगरी बितेको हुन्छ । बा घरमा पुगे । त्यो बेला बाको हातको औलामा हेर्दा औठी छैन । बा झसंङ भए । औंठी हरायो । कहिलेकांही त बा त्यो औंठीलाई जनैमा गाठो पारेर राखेको पनि देख्ते म । खोज्नको लागि पनि कहां हरायो केही भेउ पाईएन । बाको अनुहार मलिनो भयो । औठी हराएकोमा बा चिन्तामा डुब्न थाले । यत्रतत्र सर्वत्र खोजे औठी भेटिदैन ।
केहि दिन काम नै छोडेर जताततै खोजियो । नभेटिए पछि मैले बालार्ई सान्त्वना दिदै भने पीर नर्गनसु बा अर्को बनाई दिउंला । तर बुढाको मनले के मान्थ्यो । ६०(७० हजारमा त आठदस हल गोरुले जोत्ने बारी नै किन्थे बुढाहरुले उतिबेला । त्यत्रो पैसा पर्ने किमती चीज हराउंदा कहां मान्थ्यो र बाको मन ! अझै बा भन्दैछन, यत्रो उमेर भयो मैले एकदाम पैसा हराएको थिएन । कहिले कहि त बा बिलौना गर्थे । उनलाई औठी हराएर ठूलो गल्ति गरेको महसुस भयो ।
यस्तै औंठी खोजीमा केहि दिनहरु बिते । हराएको माल पाउने आशा पनि मर्दै गयो ।हरायो,गयो, गयो के गर्ने । रोएर पनि भएन । कराएर पनि भएन । बुढाको मन अझै आशाबादी नै देख्छु म । बाको औठी हराएको कुरा गाउंको बजार भरी चर्चा भईसक्यो । पसल पसलमा औंठी कै कुरा चल्छ । कसैलाई भेटे पनि सोधिहाल्छन् । बाको औंठी भेटियो त ? जवाफमा छैन भन्नै पर्यो ।
०००
यसै मेसोमा एकदिन बौद्धजोरपाटीबाट गोपीनी दिदी ईमाडोल माईत आईन् । बाले औंठी हराएको कुरा छोरीलाई सुनाई हाले । दिदीलाई पनि पीर थपियो । दिदीले त्यो औंठी भेटिन्छ कि भनेर फेरि आशा जगाउन थालिन् । अनि त्यो औठी खोज्न भनि गाउंमा जाने निधो गरे आमाजु बुहारीले । अनि जेठो छोरालाई पनि साथमा लिएर गाउं लागे तीनै जना ।
त्यो जडिनखेतमा कुलाकोे सानो बांध लगाउने ठाउं निउरेखोला, पर्खालचौरको बजार नजिकै थियो । दिदीहरु त्यहां पुगे । पसलमा त्यहि औंठी हराएको कुराकानी चल्यो । कसै कसैले सत्यको धन रहेछ भने त भेटिन्छ भन्ने तर्क पनि गरे । जसले जे जे तर्क, गरे पनि गाउंलेहरुको कामै गाउंने हुन्छ नि । आफ्नो नासहुने भै हाल्यो । अरुसंग बादबिवाद गरेर पनि के गर्नु ?
आमाजु र बुहारी बाले पानी थुनेको बांधतिर लागे । उनीहरु कुरा गर्दा त्यो औठी भेटियो भने मलाई दुई हजार दिनु पर्छ भन्दै थिईन रे दिदीले । नभन्दै औठी भेटियो । त्यो बांधमा दिदीले पानीभित्र हातमात्र के हालेकी थिईन औंठी त हातमा नै आयो रे । आश्चर्य भयो । तेत्रो झारबुट्यान भएको पानीभित्र यति लामोसमयसम्म पनि त्यो चीज भेटिनु कम आश्चर्य थिएन । यो भेटेपछि दिदी पनि रमाउन थालिन, अनि बुढीपनि । पर्खालाचौर बजारमा एकछिन त हंगामा नै भएछ । यो औठी भेटे पछाडि बुढीलाई त गौरव नै लागेछ । उनले भनिछिन्– गोली थापेर कमाएको धन हो त्यसै कहां हराउंछ । सत्य सत्य नै रहेछ । औठी भेटिएको कुराले वरपरका सबै जना दङग भए ।
त्यसपछि त्यो औठी लिएर उनीहरु ईमाडोल घर आए । घरमा आएर औठी भेटियो बा भन्दा पत्याएन । तिमीहरु मलाई जिस्क्याउछौ पो भने बाले । दिदीले थैलीबाट औठी निकालिन र बालाई दिइन् । त्यतिबेला मेर बा को खुशी शब्दमा लेख्न नसक्ने थियो ।