
ललितपूर । निबन्धकार ध्रुव जोशीको “आफैंलाई खोज्दै” निबन्धकृतिको लोकार्पण भएको छ ।
ललितपूरमा नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा शनिबार भएको एक कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेल,प्रा.डा.भरतकुमार भट्टराई,प्रकाश सायमी,श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.रामकुमार पाँडे,पवन आलोक,ध्रुव जोशी लगायतले उक्त कृतिको लोकार्पण गरे ।
प्रमुख अतिथि प्रा.डा. पोखरेलले जोशीका निबन्धहरु कवित्व भाव मिसिएका,कथानकताले भरिएका आफुले पाएको बताए । उनले ८१ बर्षको उमेरमा पनि लेख्ने हुटहुटी हुनु निक्कै प्रशंसनिय भएको बताए ।
कृतिबारे प्रा.डा. भरत कुमार भट्टराईले चर्चा गर्दै समाजको यथार्थलाई निबन्धले प्रकट गरेका छन् ।उनले भने समाजका अध्याँरा पक्षहरु केलाईको निबन्धहरुले समाजमा उज्यालो कसरी ल्याउने भन्ने चिन्ता गरेका छन् । चित्रमय भाव,कथा जस्ता लाग्ने निबन्ध पठनीय भएको बताए ।
यसैगरी स्रष्टा ध्रुव जोशीले निबन्धको रचना गर्भको बारेमा जानकारी दिए । विंसं.२०२४ मा पहिलो पटक निबन्ध लेखेको बताउँदै उनले सुनगाभा साहित्यिक पत्रिकामा वि.सं.२०२७ तिर आफ्नो रचना छापिएको स्मरण गरे । कृषि बैज्ञानिकको रुपमा आफ्नो करियर बनाउँन खोज्दा तत्कालिन राजनीतिक परिस्थिति लगायतले पनि लेखनी र प्रकाशनमा आफु नलागेको बताए । पछि विभिन्न साहित्यिक व्यक्तिहरुको संगतले छाप्नै पर्छ भन्ने उत्प्रेरणा पाएकोले यो कृति निस्किएको उनको धारणा थियो ।
कार्यक्रमका सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका केन्द्र्रीय अध्यक्ष बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेख्नु ठूलो कुरा नभएको बताउँदै- “लेखेर पाठकको मन जित्नु र त्यो क्षेत्रमा परिचित हुनु ठूलो कुरा हो । कविताको लय र सौन्दर्य नभएको आत्मपरक निबन्ध हुन नसक्ने” भन्दै उनले भने -“आफूले लेखेको अनुभूतिले अरुको अनूभूति छुन सक्नु पर्छ तव मात्र लेखक सफल हुन्छ ।” उनले ध्रुव जोशीका आत्मपरक निबन्धले पाठकको मन खिच्ने देखिएको बताए ।

उक्त कार्यक्रममा ललितपूर साहित्य समाजका अध्यक्ष प्रा.डा.रामकुमार पाँडे, प्रकाश सायमी, पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
समाजका केन्द्रीय सदस्य मधु पाठकको सञ्चालन सञ्चालनमा भएको उक्त कार्यक्रममा रञ्जना निरौलाले स्वागत मन्तब्य व्यक्त गरिन् ।
‘आफैंलाई खोज्दै’ कृतिलाई सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।






