
धरान / कवि विमल गुरुङ पुस्तकालय र अनलाइन अभिलेख प्रालि काठमाडौको आयोजनामा डा. पुरण राईका पाँच कृतिको परिचर्चा तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।
अनलाइन अभिलेख प्रालिका संस्थापक समेत रहेका डा राईले आमा मौलशोभा राइको नाममा सम्मान घोषणा समेत गरे । उक्त सम्मान भाषा,साहित्य,कला,संस्कृति,आर्थिक तथा राजनीतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनेलाई सम्मान प्रदान गरिने बताइएको छ । नगद ५० हजार र ताम्रापत्र सहित एकजना आमालाई प्रत्येक बर्ष उक्त सम्मान गरिने डा. राईले बताए ।

कार्यक्रममा डा. राईका हालै सार्वजनिक भएका वसन्त ऋतु उपन्यास,लाशमाथिको मानव नाटक,अस्तु कथासंङ्ग्रह,कोभिड डायरी डरका बिम्बहरु र सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानको चर्चा गरिएको थियो । डा.अस्मिता विष्ट,डा.महानन्द तिम्सिना,राजेश विद्रोही,प्राडा. टंक न्यौपाने लगायतले ति कृतिहरुको चर्चा गरेका थिए ।
सोही कार्यक्रममा नेपालका भाषाविद् प्राडा.टंक न्यौपाने,बरिष्ठ कवि जसराज किराँती,वम देवान,शरणकुमार राई,कुन्ता शर्मा र विमल गुरुङ पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङलाई सम्मानपत्र र दोसल्ला सहित प्रमुख अतिथि धरानका प्रमुख हर्क साम्पाङले सम्मान गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कुनैपनि समाजलाई साहित्य र शिक्षाले निर्देशित गर्ने धारणा ब्यक्त गरे ।








