पुराना पुस्तक
नमरी संसार देखिन्न
विधा :निबन्धसंग्रह
निबन्धकार : श्रीधर खनाल
ब्यँगनिबन्धकार हुन् श्रीधर खनाल । नेपाली दैनिक जनजीवनसँग सम्बन्धित विविध विषयमा कटाक्ष गरेर साहित्य सृजना गर्ने प्रचुर खुवी छ खनालमा । यस कृतिभित्र विभिन्न समसामयिक विषयवस्तुहरुमा आधारित भएर तिनका विकृति र विसंगतिमाथि तीब्रतर रुपमा हाँस्यरस घोलेर प्रहार गरिएको छ । निबन्ध आफैंमा पाठकलाई रुखो लाग्नसक्ला तर आत्मपरकताको सुस्वादु मिसाइले ती रुखा कुराहरु पनि स्वाद पार्नसक्ने शक्ति हुन्छ भन्ने कुरालाई यस कृतिभित्रका ११ वटा विविध शिर्षकका निबन्धहरु प्रष्ट पार्छन् । बोलीचालीमा प्रयुक्त हुने सरल र सहज भाषाशैलीले निबन्धमा पाठक तानिन्छन् ।
नमरी संसार देखिन्न पहिलो पटक वि.सं.२०२० सालमा गोपिनाथ उपाध्याय खतिवडाले प्रकाशित गरेका हुन् भने त्यस यता पनि साझा प्रकाशनबाट चौथो पटक प्रकाशित भैसकेको छ ।
नेपाल : टिस्टादेखि सतलजसम्म
विधा :इतिहास
इतिहासकार : फणीन्द्र नेपाल
नेपालको इतिहासका महत्वपूर्ण कुराहरुको यथेष्ठ जानकारी दिने यो पुस्तकले नेपालको एउटा महत्पपूर्ण कालखण्डको बारेमा जानकारी दिन सफल देखिन्छ । यसले सुगौली सन्धीको बेधता सकिएको कुरालाई जोड दिएको छ भने यसपछि पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म नेपालको सीमाना हुनुपर्नेमा सबैलाई झस्काएको छ । राष्ट्रवादी धारको नेतृत्व गर्दै यो पुस्तक लेखिएको छ । विभिन्न ठोस आधार र प्रमाणहरु सहित लेखक प्रस्तुत भएका छन् । आफ्नो माटो खोज्न राष्ट्रवादी भनिएकाहरुलाई कृतिले घच्घचाएको छ ।
हरेक नेपालीले एक पटक विस्तृत जानकारीको निम्ति यो पुस्तक पढ्नै पर्दछ । सबैले बुझ्ने सरल भाषामा पुस्तक आएको छ ।
नेपाल :टिस्टादेखि सतलजसम्मलाई पहिलो पटक वि.सं.२०५५ सालमा प्रकाशराज देवकोटा र सुदर्शनराज पाण्डेले प्रकाशनमा ल्याएका हुन् ।
आलोकित आयाम
विधा :कवितासंग्रह
कवि : दामोदर पुडासैनी किशोर
परदेश यात्रामा निस्कँदा आएका विभिन्न सन्दर्भ,पात्र,परिवेशलाई कवितामा विषय बनाउन खप्पिस देखिएका छन् पुडासैनी । यसैले काव्यको वैविध्यपूर्ण रुप यहाँ देखिन्छ । उनले यात्रा गरेका चाहे स्मारक,पार्कहरु हुन् या भेटिएका कोइ पात्र किन नहुन तिनीहरु गतिमय बनेर कवितामा छाएका छन् । धेरैजसो पश्चिमा भूगोल,त्यहींको संस्कार,संस्कृति र विभिन्न आयामहरुलाई कवितामा कैद गर्ने उनको काव्यिक चेत देखिन्छ । सुन्दर बिम्ब,उतातिरका पात्र,परिवेश र स्थानको समुचित जानकारी,सरल भाषाशैलीले कविताहरु सुस्वादु लाग्छन् । यस कृतिभित्र विषयगत विविधताका ४१ वटा कविताहरु समावेश गरिएका छन् । रचनाकालको कुरा गर्ने हो भने विंसं.२०६२ फागुन १९ देखि चैत्र १७ अर्थात एक महिनाको अबधिमा रचिएका कविताहरु परेका छन् ।
आलोकित आयामलाई वनिता प्रकाशनले पहिलो पटक वि.सं.२०६३ सालमा प्रकाशनमा ल्याएको हो ।