
चण्डेनी मण्डन,काभ्रे । साहित्यकार महेन्द्र चालिसेको नियात्राकृति ‘लेकबेँसीका सुगन्धहरु’सुगन्ध सार्वजनिक भएको छ ।
पुस १३ गते शनिबार काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं.१० स्थित इन्द्रावतीको काखमा अवस्थित माझीगाउँमा कृति विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरे,विजय चालिसे लगायतले कृति सार्वजनिक गरे ।
विख्यात आख्यानशिल्पी रमेश विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’को सिर्जनास्थल माझी गाउँमा विकलकै कनिष्ठ पुत्र महेन्द्र चालिसेको कृति सार्वजनिक गरिएको हो ।
‘अर्जुन–राधा फाउण्डेशन’को आयोजनामा संस्थाका संरक्षक अर्जुन नेपालको सभापतित्व, वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो ।
राजधानीदेखि गएका साहित्यकार तथा स्थानीयवासीको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले विगत ३५ वर्ष अगाडि रमेश विकलसँग यस ठाउँमा आएको कुरा स्मरण गर्दै उनकै छोरा महेन्द्र चालिसेको कृति विमोचन गर्न प्रमुख अतिथि बनेर आउँन पाएकोमा खुशी ब्यक्त गरे ।

समारोहमा समालोचक ठाकुर शर्मा भण्डारीले विमोचित कृति नियात्रा जस्तो लाग्ने, तर त्यसले पूर्णता नपाएको, यात्रा संस्मरण मान्ने हो भने त्योभन्दा धेरै गहन भएको टिप्पणी गदै कृतिले आम पाठकहरूलाई भ्रमणप्रति रुची जगाउने विश्वास व्यक्त गरे ।
अर्का समीक्षक गोपी मैनालीले आफु गएका स्थानहरुको बारेमा जानकारी सहित अनुभूति कृतिमा आएको बताए । कृतिमा बरिष्ठ आख्यानकार रमेश विकलको लेखनीको प्रभाव रहेको देखिएको भन्दै पछि परेका धार्मिक स्थलहरु बारे जानकारी दिन कृति सफल भएको बताए ।
वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले आफ्नो भाइ महेन्द्रको साहित्यिक लेखन कथाबाट शुरु भए पनि पछिल्लो समय नियात्रातिर केन्द्रित भएको र नियात्रामा पनि धार्मिक क्षेत्रहरूमा केन्द्रित रहेकोमा खुशी व्यक्त गर्दै वेद पुराणको रचनाभूमि, ज्ञान प्रचारको क्षेत्र भए पनि नेपालका धार्मिक क्षेत्रहरू ओझेलमा परिरहेका बेला प्रस्तुत कृतिले यसको महत्व दर्शाउन अहम् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

समारोहमा सर्जक महेन्द्र चालिसेले प्रस्तुत कृतिका बारेमा प्रकाश पार्दै विमोचन समारोहमा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरे ।
आलोक चालिसेले सञ्चालन र ‘अर्जुन–राधा फाउण्डेशन’का अध्यक्ष सुमन नेपालको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रममा पुस्तक प्रकाशक संस्था सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले संस्थाले कृति प्रकाशन गर्नुको कारण र यसको महत्वमाथि प्रकाश पारेका थिए।



