रुद्र अधिकारी
१.
बढप्पनकाे किराेले यसरी सक्याे मान्छेलाई ।
यसले मानसिक असर गरिसक्याे मान्छेलाई ।
टेक्दै आएको धरातल बिर्सिइ सके सबैले,
देखावटी गर्ने बानी नै परिसक्याे मान्छेलाई ।
२.
आफ्नो महासागर लाग्छ अरूकाे कुलाे लाग्छ ।
आफूलाई भुसुनाले टाेके पनि बारुलाे लाग्छ ।
अरूले सुनाउँदा त्याे त केही पनि हैन भन्छन्,
संसारमा सबैलाई आफ्नै समस्या ठुलाे लाग्छ ।
३.
यो नै उसको खानदानको पहिचान हो ।
आफ्नै मानमा जम्मा हुने पूँजीको उत्थान हो ।
कसैको नम्र स्वभाव उसको कमजाेरी हैन,
उसले पाएको संस्कारले गर्ने सम्मान हो ।
४.
स्थान बनाउन नसक्दा हटाउन खोज्छन् ।
हुँदै नभएको तुजुक देखाउन खोज्छन् ।
जसलाई पौडिन आफैले सिकाइयो,
तिनीहरूले नै पछि डुबाउन खोज्छन् ।
५ .
राखेको स्थानबाट कोही खस्केपछि बुझियाे ।
विगतले कसरी पोल्छ चस्केपछि बुझियो ।
निद्रा खुल्नु र आँखा खुल्नुमा फरक रहेछ,
सपनामा झैँ विपनामै झस्केपछि बुझियाे ।