नियात्रा
आकाशको आस, क्यान्जिनको बास
रञ्जु दाहाल
२०७६ असार २६ गते ।
आजको दिन सफा बनोस् ! रोकियोस् दर्के झरी; हटोस् कुहिरो ! झुल्किऊन् न्याना तर उज्याला घामका किरणहरू अनि स्वागत गरून् हिमालहरूले उसका भक्तहरूलाई मुस्कान छाड्दै ।
यस्तै चाहेका थियौँ हामीले । हामी अर्थात् सहयात्रीहरू प्रतीक ढकाल, बखत बस्नेत, गीता रेग्मी, प्रभा बराल, सरस्वती अर्याल, सम्झना, छोरी वृष्टि र म । हाम्रो चाहनाअनुरूपकै बिहानीले प्रवेश गर्यो लाङटाङमा । दुःख बिर्सियौँ; थकाइ भुल्यौँ । तिब्बतीयन होटलको आँगनमा जम्मा भएर खिच्न थाल्यौँ फोटा ।
आजको गन्तव्य थियो क्यान्जिन; लाङटाङबाट मात्र पाँच किलोमिटर । त्यसैले हतारो छँदै थिएन । आजको खाना क्यान्जिनमै खाइनेछ । भुङ्ग्रोमा पोलेको मैदाको भुक्के रोटी पाइँदो रहेछ बिहानको खाजा— एउटा खाइसक्न पनि हम्मेहम्मे पर्ने । त्यही खाएर हिँड्ने निधो ग¥यौँ ।
पहिरोले लाङटाङ भ्याली पुरिएपछि बाँकी रहेको थोरै जमिनमा अहिले धमाधम घरहरू बन्दै रहेछन् । “सिमेन्टजस्तै महँगो पर्छ बालुवा,” भन्दै थिइन् होटलकी साहुनी डोल्मा । हुन पनि बालुवा स्याफ्रूबेँसीदेखि खच्चडमा बोकाएर ल्याइँदो रहेछ ।
सुविधासम्पन्न शहर–बजारकै जसरी कङ्क्रिटबाटै बनेका रहेछन् यहाँका घरहरू । यहीँका स्थानीय ढुङ्गा, माटो, काठ, मालिङ्गो आदिलाई कलात्मक रूपमा प्रयोग गरेर निर्माण गरे पनि त आकर्षक घरहरू बन्थे होलान् नि ! किन यति धेरै लगानी घरमा गरेर जीवनभर ऋणको थुप्रो टाउकोमा थोपर्ने जीवनशैली बनाउँछौँ हामी नेपाली ? नेपालका ठूला शहरमा बस्ने शहरिया पद्धति यी लाङटाङबासीले पनि सिकिसकेको देख्दा मन कुँडियो ।
बिहान आठ बजे बाटो लाग्यौँ हामी लाङटाङबाट क्यान्जिनका लागि । असाध्यै दुखिरहेको शरीर र दुखेका खुट्टाले लाङटाङ भ्यालीको उत्तरमा रहेको एउटा घुम्ती उकालो काट्न हम्मेहम्मे प¥यो हामीलाई । त्यसपछि त दुई–तीन जना अँगालो मारेर पनि हिँड्न मिल्ने तेर्सो मूलबाटै फेला परिहाल्यो नि !
बल्ल हिमाली परिवेशमा प्रवेश गरेको महसूस गरेँ मैले । बाटोबाटोमा ढुङ्गाहरू थुपारेर बनाइएका मानेहरू प्रशस्तै भेटिन थाले । दूधकुण्ड यात्रामा जाँदा मानेलाई दाहिने पारेर हिँड्नुपर्छ भन्ने थाहा पाएकी थिएँ । बनिहालेँ नि सबैकी गुरुआमा !
ठाउँठाउँमा चौँरीका बथानहरू देखिन थाले । मुन्थुमका होटलहरू बन्द रहेछन् । होटलअगाडिको चौतारीमा झोला बिसायौँ हामीले ।
सिन्थुममा प्रतीक ढकालको ‘आनन्दभूमिको आँगन’ पुस्तकमा उल्लिखित पात्र पासाङ माङ्बोसँग भेट भयो । ज्यादै आत्मीयता देखाइन् तिनले । “फर्किनुस्, खाना यतै खाएर जानुस्” भनेर खूब ढिपी गर्दै थिइन् । कटिसकेको बाटो फर्किने साहस जुटाउन सकिएन । त्यसैले “फर्किंदा पस्नेछौँ” भन्ने वाचा गर्दै लाग्यौँ क्यान्जिनतिरै ।
पानी त परेको थिएन तर माथिको हिमालमा कुहिरोको दौडधूप खूब मच्चिरहेको थियो । कतिवेला एक हुल कुहिरो आउँथ्यो र ढ्याप्पै छोपिदिन्थ्यो हिमाललाई । कतिवेला हुर्र उडेर जान्थ्यो अनि हामी झोला बिसाउँथ्यौँ, मोबाइल निकाल्थ्यौँ र फोटा खिच्न थाल्थ्यौँ । हिमाल र हामीबीचको यो लुकिछिपी खेल पनि बडो आनन्दको लागिरहेको थियो ।
दूधकुण्ड यात्रामा जाँदा हातमा मोबाइल थिएन, यौटा रिल हाल्ने खालको क्यामरा थियो । एउटा रिल थियो, जम्माजम्मी ३०–३५ वटा फोटो आउँथ्यो त्यसबाट । त्यसैले फारु गरेर खिच्नुपथ्र्यो ।
त्यतिवेला आफ्नै नाङ्गा आँखाले मज्जाले प्रकृतिको रसास्वादन गरिएको थियो । अहिले भने रिल नसकिने, जति खिचे पनि हुने यो मोबाइलले आँखालाई डिस्टर्ब गरेको ग¥यै भयो । वेलावेला त ‘निकाल्दिनँ अब मोबाइल–सोबाइल !’ यस्तै झोक पनि चल्थ्यो । तर, हात त्यसैमा गइहाल्ने !
यता ठूला रूख–बुट्यानहरू रहेनछन् । जमिनमा झारहरू हौसिएर बढ्दै रहेछन् आकाशतिर ।
“यी झार हैनन्, जडिबुटीजन्य फूलका बिरुवा हुन् । तल गुम्बा गाउँदेखि क्यान्जिनसम्म भदौ र असोज महिनामा ढकमक्क हुनेगरी फूलहरू फुल्छन् । यो ठाउँ यस्ता फूलको लागि ज्यादै प्रसिद्ध छ । यिनै फूलसँग रमाउन, यिनको अध्ययन गर्न र आफ्नो देशमा यहाँका फूलका बेर्नाहरू लान आतुर देखिन्छन् विदेशीहरू । महिनौँ यतै आएर बस्छन्, त्यो समयमा ।” रोशनले सुनाए ।
ओहो ! सेतो चमकदार हिमालको आँगन त यसरी प्राकृतिक फूलहरूले पो सजिएको हुँदो रहेछ ! यही प्रकृतिले सिकाएको पो रहेछ हाम्रो झुपडीको सानो आँगनमा फूलका बोटहरू लगाउन हामीलाई !
अगाडि ढुङ्गाको छानु भएको सानो छाप्रो देख्दै थिएँ म । खोल्साबीचकै छाप्रो यदि ओखलढुङ्गातिर भएको भए पानीघट्टा हो भनेर अनुमान लगाइहालिन्थ्यो होला । तर, यहाँ त घट्टाजसरी घुम्दै गरेको त ठूलो माने पो रहेछ !
छरिएर बगेको खोल्साको पानी बीचबीचमा फुलेका पहेँला फूलका गुच्छाहरूले लोभ्याए हामीलाई । झोला बिसायौँ ढुङ्गामा र थाल्यौँ फोटा खिच्न । मनभरि सजाएर पनि नपुगेपछि मोबाइलमा सधैँका लागि जोगाइराख्ने प्रलोभन जाग्यो यी रोप्नु न गोड्नुसित फुलिरहेका फूलहरूलाई ।
साथीहरू बिघ्नै रमाए फूलहरूसँग । झल्याकझुलुक देखिने हिमाल नियाल्न थालेँ म, ठूलो ढुङ्गामा बसेर । प्रतीक ढकाल भन्दै हुनुहुन्थ्यो, “लु ! अहिले देखिएको लाङटाङ लिरुङ हो । अनि, ऊ च्याखुरी पनि देखियो है अलिकति ! च्याखुरीमाथि छ गाङ्छेम्पो, अहिले छेलिएको छ । माथिबाट युङा हिमाल पनि देख्न सकिन्छ । यी प्रत्येक हिमचुचुराको नाम फरक–फरक छन् । यहीँको स्थानीय भाषाअनुरूपका ।”
३६ सय मिटर उचाइमा थियौँ हामी । लेक लाग्ने समस्या हुन सक्ने खतरा थियो । त्यसैले दश पाइला हिँड्ने अनि एक मिनेट सुस्ताउने, फेरि हिँड्ने ढकाल सरको निर्देशन स्विकारेका थियौँ । नियम तोड्न सक्ने अवस्थामा पनि थिएनौँ, त्यसर्थ आज्ञाकारी बनेका थियौँ सबै ।
सानासाना खोल्साखोल्सी, माथि हिमाल, तलको ढुङ्ग्याने पहराबाट छहरा भएर हाम फालेका लाङटाङ खोलाका मुहानहरू प्रशस्तै देखिए ।
यस्तो विकट ठाउँमा पनि अति सुन्दर मानेहरू रहेछन् प्रशस्तै । यी धार्मिक आस्थाका मानेहरू देख्दा अस्तिदेखि नै गुनगुनाइरहेको मधुरो आवाज अझ बढ्दै गएझैँ लाग्यो— ‘ॐ माने पेमे हुँऽऽ !’
एउटा सानो रूख, बुट्यानविनाको ढुङ्ग्याने थुम्कोसँग जम्काभेट भयो । बाटो पनि थुम्कोतिरै उचालियो । यो बाटोले थुम्कोसम्म पु¥याउने रहेछ । उकालियौँ पञ्चमीमा पाइला गनेजसरी नै । थुम्कोमा पुग्नासाथ कल्पनै नगरेको दृश्य देखियो— यति विकट ठाउँमा यति सुन्दर शहर ?
क्यान्जिन त हिमाली काखमा रहेको सुन्दर भ्याली पो रहेछ ! यति आकर्षक घरहरू यस्तो विकट ठाउँमा ? अचम्मभन्दा पनि माथिको परेँ म त !
मन र आँखाभरि त्यो सुन्दर भ्याली सजाउन बस्यौँ थुम्कोमा । अब हामीलाई कुनै उकालो काट्नु वा चट्टानिलो बाटो छिचोल्नु थिएन । ३९ सय मिटर उचाइको क्यान्जिन अर्थात् हाम्रो गन्तव्य पुगिसकेका थियौँ हामी; दिनको ठीक १२ः०० बजे ।
थुम्कोमाथिको मन यसरी दौडिन थाल्यो— यति टाढा ! यस्तो विकट ठाउँमा सबैभन्दा पहिले को हिँड्यो होला ? कसले बसायो होला यस्तो बस्ती ? कसले बनाए होलान् यी बाटाघाटाहरू ?
हिजो थाङ्स्यापका फिन्जो तामाङसँग यो जिज्ञासा राखेकी थिएँ ।
“तिब्बतीयन भाषामा ‘लाङ’को अर्थ ‘गोरु’ हुन्छ, ‘टाङ’को अर्थ हुन्छ ‘अघाएको’ ।” उनले जबाफ दिएका थिए ।
भगवान् गोरुको रूप लिएर लाङटाङ भ्यालीमा लुकेर बसेका हुनाले त्यस ठाउँको नाम ‘लाङटाङ’ हुन गएको र भगवान् बसेको भ्याली भएको हुँदा लाङटाङ एउटा तीर्थस्थल मानिएको कुरा उनले बताएका थिए ।
क्यान्जिनले पनि त्यस्तै पौराणिक इतिहास बोकेको हुनुपर्छ । त्यहीँ थुम्कोबाट गुम्बा देखाउनुभयो ढकाल सरले ।
सात सय वर्ष पुरानो क्यान्जिन गुम्बा, जसबाट यो ठाउँको नामकरण भएको रहेछ । जुन गुम्बाकै कारण यहाँ बस्ती बसेको रहेछ । त्यो गुम्बा भने ऐतिहासिक, धार्मिक र भौगोलिक रूपमा अनि उच्चतम स्थानमा रहेको भए तापनि आर्थिक अभावका कारण भनेजस्तो बन्न पाएको भने रहेनछ ।
क्यान्जिनको मनोहर दृश्यमा मन डुल्यो सरर केही क्षण । गन्तव्यसम्म पुग्न सकेको खुशी त खपिनसक्नु छँदै थियो ।
“यो गोलाद्र्धका दुई फरक प्रकृतिका भौगोलिक स्थान हिमाल र समुद्रमा मान्छे एक पटक पुग्नै पर्छ !” बुबा भन्नुहुन्थ्यो । हो, आज ममात्र नभएर उहाँकी नातिनीसमेत पृथ्वीको यो विचित्र भूगोलमा पुगेकी छिन् । सम्झिएँ यो उच्च हिमाली परिवेशबाट मैले मेरो आस्थाका धरोहर ९२ वर्षीय बुबालाई ।
सिन्धुममा भेटिएका एक यात्रुले शेर्पा होटलमा बस्न सिफारिस गरेका थिए । शेर्पा होटलकी ग्याल्मो बाटोमै प्रतीक्षा गरिरहेकी रहिछिन् । आखिर बस्नै छ कहीँ न कहीँ ! बाटोमै स्वागत गर्न आएका स्वागतार्थीकहाँ किन नबस्ने ? हामीले आजको बाँकी दिन र रात शेर्पा होटलमै बिताउने निधो ग¥यौँ ।
त्यहाँ बूढी सासूसहित रहिछिन् ग्याल्मो । काम गर्ने एक्लै रहिछन् तिनी । खाना ढिलो हुने देखेपछि हामीले तरकारी केलाउन र काट्न सहयोग ग¥यौँ ।
दूधकुण्ड यात्रा पनि मैले मध्यवर्षात्कै समय साउन महिनामा गरेकी थिएँ । क्यान्जिन यात्रा असार अन्त्यतिर गर्दै थिएँ । घर छाडेर हिँडेदेखि दूधकुण्ड यात्रामा भने स्याउ, आरू, आलुजस्ता स्थानीय उत्पादन एवम् फलफूलहरू सस्तो मूल्यमा खान पाएका थियौँ । तर, यो यात्रामा भने त्यो अनुभव गर्न पाइएन । ढुङ्गा फोरेर फलाएका स्वादिला आलु भेटिएलान् भन्ठानेको; त्यसको सट्टा यहाँ त काठमाडौँको कालीमाटीबाटै ओसारिएका आलु पो हुँदा रहेछन् !
“खाद्यान्न वा तरकारी स्याप्रूmबाटै ल्याउने हो” ग्याल्मोको यो कुराले यिनीहरू कति सङ्घर्षशील जीवन बाँचेका होलान् भन्ने लाग्यो ।
ढुङ्गैढुङ्गाका थुप्राहरू रहेछन् जताततै । अनि, कहाँ उब्जिऊन् माटो फुटाएर उम्रिनुपर्ने तरकारीहरू !
हामीले खाना खाइसक्दा क्यान्जिनलाई पूरै कुहिरोले ढाकिसकेको थियो ।
गोलाकार भएर बस्यौँ हामी चिम्नीको वरिपरि अनि ग्याल्मो दिदीका मीठा गफमा लट्ठियौँ । काव्यगोष्ठी चल्यो । सबैले आआफ्ना रचना सुनायौँ । ग्याल्मो दिदीले कवितामा उस्तो चासो नदिएझैँ मानेँ मैले र उत्तिखेरै शब्द बनाएर गाइदिएँ लोकगीत—
“क्यान्जिनमा बिसायौँ भारी
माया लाउने ग्याल्मो छिन् अगाडि ।
कस्को होला कतातिर कस्को कहाँ घर
आत्मीयता जति प्यारो अरू के नै छ र !
कति चिसो, कति मीठो हिमालको छायाँ
प्राणभन्दा बढी लाग्छ आफ्नै देशका माया ।
क्यान्जिनमा…. …. … !”
ग्याल्मो दिदी र उनकी ७४ वर्षीया सासूलाई नचायो लोकगीतले । नाच्यौँ हामी पनि सँगसँगै ।
ब्याम्बोदेखि नै होटलवालाहरूसँग सोधेकी थिएँ मैले, “तपाईंहरूका बालबच्चा कहाँ छन् ?” सबैको प्रायः यौटै जबाफ हुन्थ्यो, “विदेशीहरूको सहयोगमा काठमाडौँमा बसेर पढ्दै छन् ।”
ग्याल्मोका पनि दुई छोरा र एक छोरी काठमाडौँतिरै रहेछन् । क्यान्जिन घुम्न आएका जर्मन पर्यटक यही होटलमा बसेका रहेछन् । तिनीहरूले नै पढाइदिँदै रहेछन् ग्याल्मोका बच्चाहरूलाई । छोरी नर्सिङ पढ्दै रहिछिन् । “पछि उतै जर्मनी नै लैजाउँला भनेका छन्” भनी सुनाइन् ग्याल्मो ।
यता घुम्न आउने पर्यटकले यहाँका होटल व्यवसायीलाई मात्रै होइन, तिनका बालबच्चाको पठनपाठनमा समेत सहयोग गर्ने गरेका रहेछन् ।
देशका कुना–कन्दरामा हुर्किंदै गरेका देशका प्रतिनिधिहरूले अक्षर चिन्न पनि विदेशीले सहयोग गर्नुपरेको रहेछ । देशभक्ति व्यवहारले सिकाउँछ कि सिद्धान्तले ? प्रशस्तै प्रश्न गर्न मन लाग्यो मलाई— काठमाडौँमा सुविधा–सम्पन्न बङ्लोमा बसेर देश चलाउने सारथीहरूसँग ।
ग्याल्मोले स्पेन र स्वीट्जरल्यान्ड घुम्दाका मीठा अनुभव सुनाइन् । स्वदेश त खै कति जानेका, बुझेका र घुमेका छन् कुन्नि यिनीहरूले; तर विदेश बुझेका रहेछन्, घुमेका रहेछन् । देशमा दुई अक्षर पढ्न नपाए पनि ग्याल्मो अङ्ग्रेजी बोल्न सक्दिरहिछन् ।
साँझ पाँच बजेसम्म पनि पानी नथामिएपछि क्यान्जिन भ्याली छाता ओढेरै घुम्ने निधो ग¥यौँ हामीले । क्यान्जिन गुम्बा पुग्यौँ र मृत आत्माको नाममा दियो बाल्यौँ । यस्तै चलन रहेछ यहाँ । चिज फ्याक्ट्री पुग्यौँ र क्यान्जिनको कोसेली किन्यौँ ।
क्यान्जिन भ्याली छिर्दै गर्दा दक्षिणी थुम्कोबाट क्यान्जिन नियालेका थियौँ । समयानुकुल भएको भए उत्तरी थुम्को पुग्ने थियौँ र नियाल्ने थियौँ सम्पूर्ण क्यान्जिनलाई । च्याखुरी हिमालको काखमा लुटपुटिन्थ्यौँ केही क्षण । तर, कुहिरोको प्राकृतिक घुम्टो शिरको घुम्टो पन्छाएझैँ नपन्छिँदो रहेछ ।
अन्धकारको घुम्टोले पनि क्यान्जिनलाई छोप्न थालेपछि भने फर्कियौँ गुँडमा । ग्याल्मो दिदीको आतिथ्यमा लुटपुटिन पुग्यौँ र प्रतीक्षा गर्न थाल्यौँ— अर्को सुनौलो बिहानीको ।
०००