
युरोपको नाट्यशालामा नाटक
छविरमण सिलवाल
मानवीय संवेदना संसारका कुनैपनि मुलुकहरुमा एउटै हुँदो रहेछन । मान्छेका पीर व्यथा पनि एउटै हुँदा रहेछन् । मान्छेका हाँसो र रोदनको भाषा पनि एउटै हँुदोरहेछ । संवेदनहिन मान्छे यस धर्तीमा हुनु र नहुनुको कुनै अर्थ राख्दैन, विवेकहिन पशु जस्तै । हामी युरोपलाई विकसित मुलुकको रुपमा लिन्छौ । हुनपनि त्यस्तै छ, विकासका नमुनाहरु झ्वाट्ट हेर्दा लाग्छ यहाँ अब के विकास गर्नुपर्ला र ? हुनपनि विकशित मुलुकहरुमा विकास वजेट नै हँुदैन अरे । तर त्यहाँको समाज हाम्रो भन्दा फरक छ । हाम्रो सोच भन्दा निकै उच्च छ । तापनि समाजका हरेक विकृतिहरु भने ज्यूँका त्यूँ नै रहेछन् ।
बाहिर हिँउ परिरहेको छ । हामी मारिबोर शहरबाट गाडीमा हुइकिरहेका छौं, चेलीयातर्फ । सातबजे त पुगिसक्नुपर्छ । आज तपाईलाई कल्चर हाउसमा नाटक देखाउँनु छ, विरमानजीले स्टेरिंग घुमाउँदै भन्नुभयो । त्यही कल्चरल हाउसमा उनको योगा गर्ने कोठा छ । त्यहाँ तीनचार पटक नै पुगेपनि मलाई त्यहाँ नाटक देखाइन्छ भन्ने थाह थिएन, विरमानजीले पनि भनेका थिएनन । समयको पक्का मान्छेहरु त्यहाँ छन् । सातबजे सबैजना जम्मा भैसके । नाटकको रियल्सन चलिरहेको छ। त्यसभन्दा पहिला सबैजना गम्भिर छलफलमा जुटेका छन् । सबै आ-आफ्नो कमि कमजोरी र आगामी कार्यक्रमको बारेमा छलफल गर्दैछन् ।
करिव वीस मिनेटको छलफल पछि स्टेजमा आ-आफ्नो रोल गर्दै छन् । हामी हेरिरहेका छौं । लाइटम्यानदेखि नाटक खेल्ने हेर्ने सबै चुस्त टीम । व्यवस्थापन कस्तो तन्दुरुस्त । निर्देशक भिन्चेयस सेन्टोच्निक ७२ वर्षका युवा उनी आफैपनि नाटक खेलिरहेका । अर्को अचम्मको कुरा यहाँ कोही बेरोजगार छैनन्, राज्यले हामीलाई हेरेन भनेर गुनासो गर्दैनन, सम्मान पुरस्कारको लागि कसैले कसैलाई सोर्स लगाउँदैनन् । कति सहज छन् यहाँका मान्छेहरु । मैले रातोरात साहित्यकार बनेर राष्ट्रिय पुरस्कार पड्काएका हाम्रा महान साहित्यकारहरुलाई सम्झेँ स्लोभेनियामा । एक दुई वटा नाटकमा अभिनय गरेपछि वरिष्ठको पगरी गुथेका हाम्रा सर्जकहरुलाई सम्झें पार्टीको झोला बोकेर प्राज्ञ बनेका विद्धानहरुलाई सम्झें, तर जति सम्झेपनि हाम्रो वेथितिलाई सुधार्ने कोही निस्केका छैनन् । सोचेर, कल्पनामा डुबेरमात्र के गर्नु ।
कोही प्रहरीमा जागीरे, कोही इन्जिनियर रहेछन्, कोही नगरपालिकामा काम गर्ने, कोही व्यापार गर्ने, कोही मोटर मिस्त्री रहेछन् । नाटकका पात्र जस्तै जीवनका अनेक रुपमा मन्चन भैरहका छन्, उनीहरु । नाटकका निर्देशक भिन्चेयस सेन्टोच्निक आफै पनि फायरमेन रहेछन्, अझ चेलिया शहरको फायरमेन प्रमुख पनि रहेछन् । ७२ वर्षको उमेरमा पनि कहिल्यै फुर्सद छैन उनलाई, थकानको अनुभूति छैन उनलाई । जव फुर्सद मिल्छ आफ्नो वर्कसप भित्र पसेर कम्युटरमा अल्मलिइरहेका हुन्छन् । त्यतिकै अल्मलिएका होइनन् उनी त्यही नाटक लेख्ने, उल्था गर्ने र निर्देशन गर्ने तरीकाहरु सिकिरहेका हुन्छन् । उनी भन्छन नाटकको अभिनय यस्तो होस कि त्यो समाजमा घटेको भैरहेको तितो यथार्थता झल्कियोस । यदी यस्तो हुन सकेन भने त्यो अभिनय नै होइन भन्ने म ठान्दछु । अर्को कुरा हाम्रो अभिनय दर्शकले किन हेर्ने त भन्ने कुरा पनि हुन्छ त्यसैले दर्शकलाई निराश बनाउनु भनेको हामीले आफ्नै खुट्टामा बन्चरो हान्नु हो । हामी कलाकार भन्दा पनि समाजका विकृतिका सुधारक बन्न सक्नु पर्छ । अनि स्वस्थ मनोरन्जन सहित प्रस्तुत हुनु पर्दछ, यति भएमा हामी सफल भएको ठान्दछौं ।
हुनतः उनी दुईपटक नेपाल आइसकेका छन् दुबै पटक मैले भेटेको थिए । त्यति लामो कुराकानी भएको थिएन । र उनी नाटक खेल्छन् र निर्देशन गर्छन भन्ने जानकारी पनि भएन । म स्लोभेनिया पुगेको केहीदिन पछिमात्र थाहा पाएँ र मलाई त्यहाँको नाटकको विषयमा जान्न मन लाग्यो । नभन्दै बूढाले त पर्सीको दिन नै नाटक देखाउँने कुरा गरे गाँठे !
युरोप पुरै सेताम्मे छ कसैले पाउडर छरिदिए जस्तो । विरमानजी पनि अनौठा कुरा गरिरहेका छन् । सर आज हिँउ धेरै परेको छ स्वीमिङ जाऔं । म अक्क न बक्क पर्छु । नाटकका निर्देशक भिन्चेयस सेन्टोच्निक पनि स्वीमिङ जान हौसाई रहेका छन् । स्वीमिङ कस्टम खोज्नको लागि चाइनिज स्टोरमा पुग्यौं । बल्लबल्ल भेटियो स्वीमिङ कस्टम । विरमानजीको छोरा पनि स्वीमिङ जान तम्सियो । बाहिर हिँउ परिरहेको छ भित्र हामी स्वीमिङ गरिरहेका छौ। तातोपानीमा बढो रमाईलो नै हुने रहेछ । मलाई जीवननै एउटा नाट्यशाला जस्तो लागिरहेछ । नाटक निर्देशकसंग जो हाम्रो संगत छ । म विरमानजीसंग हल्का मजाक गर्छु ।
नाटककै सन्दर्भमा मैले हेरेको नाटकको शिर्षक पिरिवारे हो । यो रसियन नाटकलाई उल्था गरेर स्लोभेनियामा धेरै पटक देखाई सकिएको रहेछ । रसियन लेखकले त्यहाँका हरेक परिवारभित्र घट्ने घटनालाई नाटकका प्रस्तुत गरेका रहेछन्, करिब आधा शताब्दी पहिले तर आज पनि उक्त नाटकले त्यस समाजको प्रतिनित्वि गरिरहेको छ । परिवारमा भित्रीएकी बुहारीले कसरी सासु, ससुरा, देवर नन्दहरुलाई सताउँन सक्छे र श्रीमानलाई बेबकुफ बनाउँन सक्छे भन्ने कुराहरु त्यहाँ जीवन्त रुपमा देखाईएको थियो । घरघरकी कहानी हिन्दी सिनेमा जस्तै लाग्यो त्यो नाटक । मैले सोचे यस्तो विकसित मुलुकमा पनि यस्तो होला र ? भन्ने सोच्न वाध्य बनायो मलाई पनि तर त्यसबेलाको समाजले व्यहोरेको यस्तो अवस्था आज पनि होला कहीँ कतै । इतिहासका कुराले वर्तमानमा सजग हुन्छ भन्ने र स्वच्छ मनोरन्जन लिन सकिन्छ भन्ने धारणा नाटकको मूल सन्देश रहेको मैले पाएँ । दिनभरीको कामको थकान कति पनि छैन उनीहरुमा । सरकारसंग पनि कुनै गुनासो छैन उनीहरुमा । मैले यति गरे भन्ने कुनै घमण्ड पनि देखिन मैले । सरकारले त उल्टै उनीहरुलाई के सहयोग चाहिन्छ भनेर सोध्ने रहेछ । त्यहाँ सरकार जनताप्रति उत्तरदायी बनेको देख्दा हाम्रोमा पनि कहिले यस्तो होला भन्ने सोच्न बाध्य हुन्छु म । तर म विपनामै रहेपनि सपना जस्तो भैरहेको हुन्छ ।








