काठमाडौं । लेखक ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ भर्खर सार्वजनिक भएको छ ।
निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नुभएका उहाँले लेखेका कलापरक सचित्र जीवनी कृति र कलानिबन्धका पुस्तकहरू पनि प्रकाशित छन् ।
प्रस्तुत ‘अर्धकदको अवसान’ नामक निबन्धसङ्ग्रह निबन्धकार विवशको पन्ध्रौँ कृति हो । यसमा तीन दर्जन विभिन्न शिर्षकका निबन्धहरू छन् ।
निबन्धको प्रकाशकीयमा उल्लेख भएअनुसार प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ । निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगन्ती सुवासहरू पाइन्छन् । यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन् । हाम्रै पाखापखेराका सुसाइहरू छन् । हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन् । हाम्रै जीवन, समाज र समयका तस्बिरहरू छन् । वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो ।
अर्धकदको अवसानले समेटेका विचार–भावनाहरू निकै गम्भीर छन् । ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन–विवरणहरू नेपाली समाजका दस्तावेज हुन् । देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन् । यिनमा तथ्यपूर्ण शब्द–तथ्याड्ढहरू छन् ।
वरिष्ठ संस्कृतिविद तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले मन्तव्यमा भन्नुभएको छ– ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैँले पनि यस्तो महसुस गरेको छु ।’
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पुस्तकमा उल्लेख गर्नुभएको छ– ‘निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ । जुनैै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धकहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धकहरूले जागृत गराउने प्रयास गरेका छन् ।
‘पीडाका अनुभूतिहरू’ (२०५८), ‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं. २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य :जीवन र कला’ (वि.सं. २०७८) प्रकाशनमा आइसकेका छन् ।