
काठमाडौं । नारी स्रष्टाहरूको संस्था गुञ्जनले आफ्नो २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली साहित्यमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति भूपाल राईले चर्चित साहित्यकार डा.राजेन्द्र विमललाई ‘गुञ्जन त्रिवेणी आख्यान पुरस्कार’ प्रदान गरे ।

‘गुञ्जन प्रतिभा पुरस्कार’ उमा सुवेदीलाई, ‘गुञ्जन जेष्ठ नागरिक सम्मान’ हिरण्यकुमारी पाठकलाई, ‘गुञ्जन मातृभाषा पुरस्कार’ अर्पणा प्रधानलाई, ‘गुञ्जन उन्नति महिला गीतकार पुरस्कार’ शिला पन्तलाई र ‘गुञ्जन बालसाहित्य पुरस्कार’ श्रीयंका बस्नेतलाई प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि राईका साथै जलेश्वरी श्रेष्ठ, सन्ध्या पहाडी, सिर्जना शर्मालगायतले बोलेका थिए । कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली अनुपस्थित भएकोले उनलाई पुरस्कार पछि प्रदान गर्ने आयोजकले बताए ।
चर्चित आख्यानकारहरू पद्मावती सिंह, माया ठकुरी र भागीरथी श्रेष्ठले” गुञ्जन त्रिवेणी आख्यान पुरस्कार”को स्थापना गरेका हुन् । संस्थाका महासचिव सुष्मिता नेपालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।




