तुलसीपुर।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ।
बुधबार न्यायाधीश सागर विष्टको इजलासले सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो।
पछिल्लो मुद्दामा जिल्ला अदालत रूपन्देहीले आदेश गरेको मिसिल र आधार उल्लेख भएको प्रतिवेदन माग भएको हो।
भदौ ९ गते लामिछानेले आफूले बिगो रकम बुझाउँदासमेत रिहा गर्न जिल्ला अदालतले अस्वीकार गरेको भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए।
तर साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त निवेदनलाई नै बदर गरिदिएको थियो।
अदालतले बिगो नै यकिन भइनसकेको बताउँदै धरौटीमा छाड्न नमिल्ने बताएको थियो।

