काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धीत विषयमा उठेका विषयहरुको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक कुनै पूर्वाग्रह नरहेको व्यहोरा सदन समक्ष जानकारी गराउँदै भविष्यमा यसप्रकारका घटना नदोहोरिने तर्फ सबैलाई सजग र सचेत बनाएको बताएका हुन् ।
उनले सर्वोच्च अदालतमा कार्यरत एक जना अधिकृतले सामान्य समझ र विवेक बाहिर गई गरेको अनधिकृत पत्र व्यवहारका कारण नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ हुनु परेको घटनाप्रति दुःख व्यक्त समेत गरे ।
‘उक्त घटनाको सन्दर्भमा प्रहरी महानिरीक्षकले मलाई जानकारी गराए अनुसार सो दिन सर्वोच्च अदालतको चलानी संख्या १९२७७, मिति २०८२।१।१७ उल्लेख भएको पत्र लिएर शाखा अधिकृत महिमानसिंह विष्ट प्रहरी प्रधान कार्यालय पुगे । निजले आफ्नो परिचयपत्र सहित अदालतको आदेश कार्यान्वयन गर्न आएको बताए पश्चात प्रहरी महानिरीक्षकले सम्मानित अदालतको आदेश कार्यान्वयन गर्न प्रहरी परिसर काठमाडौंमा पठाए । सोको आधारमा प्रहरी परिसर काठमाण्डौको टोलीले उहाँलाई नियन्त्रणमा लिई कारागार कार्यालय डिल्लीबजार बुझाएको हो ।’ गृहमन्त्री लेखकले भने,‘घटनाको बारेमा प्रहरी महानिरीक्षकबाट जानकारी प्राप्त हुनासाथ मैले सर्वोच्च अदालतका रजिष्ट्रारलाई फोन गरी सोधपुछ गरेको छुँ । सुरूमा उहाँले अनभिज्ञता प्रकट गर्दै थप विषय बुझेर खबर गर्ने बताउनुभयो । पछि उहाँले उक्त पत्र अदालतको आधिकारीक नभएको र अदालतबाट थप छानविन भइरहेको जानकारी गराउनु भएको थियो ।’
उनले केही समय पश्चात सर्वोच्च अदालतबाट विज्ञप्तिमार्फत उक्त पत्र आधिकारिक नभएको व्यहोरा जानकारी गराइएको र कारागार कार्यालय कारागार डिल्लीबजारलाई समेत पत्र लेखी पठाइए अनुसार रेशम चौधरी तत्काल रिहा भएको जानकारी दिए ।
तीनकुने घटनाका सम्बन्धमा
गृहमन्त्री रमेश लेखकले तीनकुने क्षेत्रमा पुर्वराजाका सर्मथकले गरेको प्रर्दशनका क्रममा विध्वंशात्मक घटनालाई सरकारले अत्यन्तै गभ्मीरता पूर्वक लिएको बताए ।
उक्त घटनाका सम्बन्धमा अधिकार प्राप्त निकायबाट अनुसन्धान भैरहेको बताउँदै गृहमन्त्री लेखकले घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर विना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भईरहेको सदनमा जानकारी दिए ।
‘संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानूनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र संघीय लोकतान्तिक गणतन्त्रामक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरणको निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’ उनले भने ।संविधान विरोधी गतिविधी सह्य नहुने मन्त्री लेखकले बताए ।