काठमाडौं । कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै ६ वर्ष कैद र एक करोड २२ लाख जरिवानाको फैसला गरेको छ ।
पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा उनले भ्रष्टाचार गरेको सर्वोच्चको ठहर छ । पराजुली तत्कालीन काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी रहँदा बालुवाखानी सञ्चालन गर्न इजाजत दिएका थिए ।
सर्वोच्चले उनलाई ६ वर्ष कैद सजाय र ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । अदालतले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ ।
सो प्रकरणमा नेकपा एमालेका नेता निर्मल कुइँकेलसहित ९ जनालाई सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले बुधबार दोषी ठहर गरेको छ । विशेष अदालतबाट उनीहरूले सफाइ पाएका थिए । त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको थियो । सर्वोच्चले विशेषको फैसला उल्ट्याउँदै आरोपी सबैलाई दोषी ठहर गरेको हो ।